खुल्ला संग्रहालयको रूपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ हरेक गल्लीमा भगवानको मूर्ति र हरेक चोकमा मन्दिर देख्न सकिन्छ, त्यति मात्र नभएर पुराना र परम्परागत घरहरू र घरको वास्तुकला पनि आन्तरिक र बाह्य पर्यटक आकर्षणको केन्द्र बन्ने गरेको छ।
धार्मिक र साँस्कृतिक दृष्टिकोणले धनी छ काठमाडौं।
यहाँ विश्व सम्पदामा सूचीकृत ७ सम्पदाहरू केबल एकदिनमै घुम्न सकिने विश्वका कम देशहरूमध्ये एक पनि हो।
पशुपतिनाथ मन्दिर, बौद्ध स्तुप, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य एकैदिन घुमेर भ्याइन्छ।
पशुपतिनाथ मन्दिर
उपत्यकाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो पशुपतिनाथ मन्दिर। सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।
काठमाडौं उपत्यकाकै प्राचीन धार्मिकस्थलको रूपमा पशुपतिनाथ मन्दिर रहेकोले यस मन्दिर पर्यटकहरूको भ्रमण लिष्टको पहिलो नम्बरमा पर्ने गर्छ।
नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिरको छानामा सुन र तामाको प्रयोग गरिएको छ भने यस मन्दिरका चार मुख्य ढोकाहरू चाँदीका छन्।
बौद्ध स्तुप
पशुपतिनाथ मन्दिरबाट करिब १० मिनेटको समयमा पुग्न सकिने अर्को विश्व सम्पदा क्षेत्र हो बौद्ध स्तुप। विश्वभरका अधिकांश बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुप पर्यटकहरूको आकर्षणको केन्द्र पनि हो। यस स्तुपलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो।
चाँगुनारायण मन्दिर
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा भएको हो। यो मन्दिर भक्तपुरको चाँगुनारायण नगरपालिकामा छ।
भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा र राजधानी काठमाडौंदेखि २० किलोमिटर टाढा रहेको चाँगुनारायण मन्दिर बौद्ध स्तुपबाट जोरपाटी, मूलपानी हुँदै २० मिनेटमा पुग्न सकिन्छ।
ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रका रूपमा पनि महत्वपूर्ण रहेको यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो।
भक्तपुर दरबार स्क्वायर
चाँगुनारायण मन्दिरबाट जम्मा ६.५ कि.मीमा अवस्थित नेपालको ऐतिहासिक धरोहरका रूपमा विश्वसामु परिचित भक्तपुर दरबार धार्मिक र साँस्कतिक हिसाबले पनि निकै महत्वपूर्ण सम्पदाको रूपमा रहेको छ।
मल्लकालीन सत्ता सञ्चालनको प्रमुख केन्द्र रहेको भक्तपुर दरबार अहिले भने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र नै बनेको छ, दरबारको वास्तुकला, शिल्पकलाले त्यसको इतिहास बताउँछ।
यहाँको पचपन्न झ्याले दरबार, भगवती मन्दिर, तलेजू भवानी मन्दिर, भूपतिन्द्र मल्लको शालिक, सुनको ढोका सम्पूर्ण आकर्षण केन्द्र हो। भक्तपुर दरबार स्क्वायरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदाको सूचीमा सूचीकृत गरिएको हो।
पाटन दरबार स्क्वायर
काठमाडौं उपत्यकाका प्रसिद्ध तीन सहरहरूमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ।
प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो।
पाटन सहर बरदेवले स्थापना गराएका हुन्। प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौं शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ।
यो दरबार क्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो। पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन् केशव नारायणचोक, मूलचोक र सुन्दरीचोक। यीमध्ये केशव नारायणचोक सबैभन्दा पुरानो चोक हो।
भक्तपुर दरबार स्क्वायरबाट ११.५ कि.मी र हनुमान ढोका दरबारबाट जम्मा ५.३ कि.मी टाढा रहेको पाटन दरबार स्क्वायर सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो।
हनुमानढोका दरबार
हनुमान ढोका वा बसन्तपुर दरबार काठमाडौं उपत्यकाको ऐतिहासिक दरबारहरूमध्येको एक हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्।
त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण मन्दिर तथा सम्पदाहरू पनि रहेका छन् जसमा तलेजू मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, बसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप। यस दरबारलाई सन् १९७९ मै विश्व सम्पदाको सूचीमा सूचीकृत गरिएको हो।
स्वयम्भू महाचैत्य
काठमाडौं उपत्यकामा रहेको एक प्रसिद्ध बौद्ध चैत्यको रूपमा रहेको सो स्वयम्भू महाचैत्य उपत्यकामा पानी भरिएको बेलामा यहाँ विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए ’त्यसपछि वैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्की ’ मन्त्र गरी दहमा रोपेका थिए।
अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मीसहित स्वयम्भू महाचैत्यको उत्पति भएको मानिन्छ।
संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौं उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। भगवान मन्जुश्रीले पनि काठमाडौंको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाइन्छ।
स्वयम्भूलाई हिजोआज मंकी टेम्पलको रूपमा पनि चिनिन्छ। विदेशी र स्वदेशी दुवै पर्यटकहरूको रोजाइमा पर्ने स्वयम्भू महाचैत्य पनि सन् १९७९ मै विश्व सम्पदामा सूचीकृत भएको हो।
एकैदिनमा ७ विश्व सम्पदा घुम्न सार्वजनिक सवारी साधनबाट भने सम्भव हुँदैन। मोटरसाइकल अथवा ट्याक्सी प्रयोग गरेर भने एकैदिनमा काठमाडौंमा रहेका विश्वसम्पदामा सूचीकृत सात सम्पदा घुम्न सकिन्छ। (नेपाल फोटो लाइब्रेरीबाट)