नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरूले प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरूले प्राधिकरणको नेतृत्वमाथि प्रश्न उठाएका हुन्।
सांसदहरूले प्राधिकरणको नेतृत्व आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन्।
उनीहरूले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दा समेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै नेतृत्वको आलोचना समेत गरेका छन्।
सांसदहरूले इयुको कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको उल्लेख गरे।
सांसदहरूले प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै राजीनामा दिन सक्नुपर्ने बताए।
उनीहरूले नैतिकताको आधारमा नेतृत्वले राजीनामा गर्नुपर्ने उल्लेख गरे।
प्राधिकरणको नेतृत्व जिम्मेवारी लिनुपर्ने भए पनि सधैं अरूलाई दोष दिने गरेको बताए।
सांसदहरूले समितिमा बोल्दै नियमन र सर्भिस दिने निकाय फरक–फरक बनाउन आवश्यक रहेको बताए।
उनीहरूले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन आवश्यक ऐन कानून तत्काल बनाउन आवश्यक रहेको समेत बताए।
समितिमा बोल्दै नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाए।
उनले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने बताए।
उनले नेपाली आकाशमा आन्तरिक मात्र नभएर विदेशी जहाजहरू समेत दुर्घटनामा परेको बताए।
समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछि मात्रै ७ वटा जहाज विमान दुर्घटना भएको बताए। उनले ७ वटा जहाज दुर्घटनामा ११८ जनाको ज्यान गएको बताए।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मृत्यु भएका ९६९ को जिम्मेवारी लिने बताए।
उनले सबै दुर्घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको बताए। उनले अहिले राज्यले गठन गरेको आयोग नै आधिकारिक भएको बताए। उनले आयोगले छानबिन गरेर जसको गल्ती देखायो त्यसकै गल्ती हुने बताए।