सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम बुधबारदेखि सुरू गरिने भएको छ।
दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।
सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरातर्फ उडेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो। जहाजमा चालक दलका सदस्यसहित १९ जना थिए। क्याप्टेन मनीष शाक्यबाहेक अरूको मृत्यु भएको छ।
जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ। केहीबेरमा पोस्टमर्टम सुरू गरिने त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले सेतोपाटीलाई जानकारी दिए।
उनकाअनुसार एउटा शव पोस्टमर्टम गर्नका लागि न्यूनतम ४ घन्टा लाग्छ। काठमाडौंसँगै ललितपुर, भक्तपुर र धुलिखेल अस्पतालका पोस्टमर्टम डाक्टरलाई महाराजगन्जमा बोलाइएको छ।
'२५ जनाको टोलीले पोस्टमर्टम गर्ने तयारी गरेको छ। पोस्टमर्टम गरेको ७२ घन्टापछि मात्र मृतकको परिवारले शव बुझ्न पाउँछन्,' उनले भने।