बुधबार बिहान काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइनसको जहाज दुर्घटनामा परेर विराटनगरका तीन जनाले ज्यान गुमाएका छन्।
ज्यान गुमाउनेहरूमध्ये जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र चिफ अफ सेफ्टी सागरराज आचार्य विराटनगरका बासिन्दा हुन्।
जहाजका को-पाइलट कटुवाल विराटनगरस्थित आयल निगम क्षेत्रका बासिन्दा भएको सौर्य एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रकाश पौडेलले जानकारी दिए।
त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा हुन्। सौर्य एयरलाइन्समा कार्यरत उनी जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैका बासिन्दा हुन्।
सौर्य एयरका सुरक्षा प्रमुख सागर आचार्य विराटनगरको मधुमाराका बासिन्दा भएको प्रमुख पौडेलले जानकारी दिए।
सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने क्याप्टेन एक जना मात्रै बाँचेका छन्।
मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ।
बुधबार बिहान ११ः१५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो।
३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले केएमसी अस्पताल पुर्याएको छ। उनको अनुहारमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारीहरू रहेका थिए।