पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाजलाई चाहिने इन्धन भण्डारण बल्ल बनाउन थालिएको छ।
विमानस्थल संचालनमा आएको ६ महिनापछि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले भण्डारणको शिलान्यास गरेका हुन्। विमानस्थल जनवरी १ देखि संचालनमा छ।
विमानस्थल संचालनमा आउनुअघि नै इन्धन भण्डारण गर्न विमानस्थल आयोजनाले पटक-पटक नेपाल आयल निगमलाई पत्राचार गरेको थियो। निगमले विविध कारण देखाएर डिपो निर्माणमा ढिलाइ गरेको हो।
अहिले विमानलाई आवश्यक इन्धन पुरानो विमानस्थलको डिपोबाट गाडीमा ओसार्ने गरिएको छ। अर्को विमानस्थलबाट गाडीमा ओसारेर जहाजमा इन्धन भर्नु सबैभन्दा खराब विकल्प भएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।
‘अर्को एयरपोर्टबाट गाडीमा भरेर यो एयरपोर्टमा तेल ल्याउनुपर्ने अवस्था सबैभन्दा खराब विकल्प हो,’ उनले भने, ‘यसैका कारण विमानस्थल संचालनमा भने अहिलेसम्म समस्या आएको छैन।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाले विमानस्थल निर्माणाधीन हुँदा नै छिटो डिपो बनाउन आयल निगमलाई पटक-पटक पत्राचार गरेको थियो। विमानस्थल प्रशासन कार्यालयको भवनबाट पूर्वतर्फ जमिन छुट्याएर विमानस्थलले पत्राचार गरे पनि निगमले डिपो बनाउन ढिलो गर्दै आएको थियो।
विमानस्थलले डिपो बनाउन करिब ३ वर्ष अघि टेण्डर आह्वानसमेत गरेको थियो। निगमका उपनिर्देशक भरत रेग्मीका अनुसार त्यतिबेला टेण्डर हालेका कम्पनीको मुल्यांकनमा विवाद भएपछि ठेक्का लगाउन सकेको थिएन।
‘सार्वजनिक खरिद पुनरावलोकन समितिमा मुल्यांकनका क्रममा डेढ वर्ष रोकियो,’ उनले भने, ‘अब विवाद छैन, सम्झौताको समय सीमाभन्दा अगावै डिपो तयार गर्छौं।’
डिपो बनाउन आयल निगमले विमानस्थलसँग १८ रोपनी जग्गा वार्षिक ५५ लाख २९ हजार रुपैयाँमा भाडामा लिएको छ। उक्त जग्गामा इन्धन भण्डारणसँगै अग्नि सुरक्षा, प्रशासकीय भवन र जहाजमा तेल हाल्ने संयन्त्र रहनेछन्। उक्त डिपोमा करिब ३६ लाख लिटर हवाई इन्धन भण्डारण गर्न सकिने रेग्मीले बताए।
उनका अनुसार डिपो बनाउन समानान्तर, रेगिलेट र बिएनएस कम्पनीले ६७ करोड रुपैयाँमा संयुक्त ठेक्का लिएका छन्।
आयल निगम र ठेकदार कम्पनीबीच २०७९ कात्तिक ९ गते डिपो बनाउने सम्झौता भएको थियो। ठेक्काको म्याद ४ महिना छ। सम्झौता भएको ८ महिनापछि शिलान्यास भएकाले समयमै डिपो निर्माण हुनेमा विमानस्थलका कर्मचारी सशंकित छ।
विमानस्थल परिसरमा डिपोले तीनवटा पोखरी बनाएर इन्धन भण्डारण गर्ने योजना बनाएको छ। तीनवटै भण्डारणमा १ हजार २०० किलोलिटर (१२ लाख लिटर) हवाई इन्धन भण्डाराण हुनेछ। नेपाल आयल निगम पोखरा विमानस्थलका अनुसार पोखरामा मात्रै दैनिक औसतमा १० किलोलिटर (१० लाख लिटर) इन्धन खपत हुन्छ। अन्तर्राष्ट्रिय उडान भर्न सके इन्धन खपत कम्तिमा ५ प्रतिशत बढ्ने आयल निगमको प्रक्षेपण छ।
डिपो बनाउन बनाइएको सानो पोखरीमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले इट्टा राखेर शिलान्यास गरेका थिए। दिउँसोदेखि परेको झरीमा भिज्दै उनले शिलान्यास गरे पनि झरीकै कारण औपचारिक कार्यक्रम भएन।
मन्त्री रिजाल र नेपाल आयल निगमका अध्यक्षसमेत रहेका सचिव मधुकुमार मरासिनीले विमानस्थल संचालनमा आइसक्दासमेत डिपो बनाउन भएका ढिलाइबारे केही बोलेनन्।
गगनगौडामा १ करोड लिटरको डिजेल भण्डारण
पोखराको झरीमा भिज्दै विमानस्थलको आयल डिपो शिलान्यास गरेका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रिजालले दुलेगौंडा डिपोको उद्घाटन गरे।
नेपालकै तेस्रो ठुलो उक्त डिपोमा १ करोड लिटर डिजेल भण्डारण गर्न सकिन्छ। नेपाल आयल निगमको प्रादेशिक कार्यालय पोखराले हेर्ने गरी उक्त डिपो निर्माण गरिएको परियोजना प्रमुख मनोज ठाकुरले बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयल डिपो बनाउन ठेक्का लिएको कम्पनी समानान्तर, रेगिलेट र बिएनएस कम्पनीले संयुक्त रूपमा उक्त परियोजनाको ठेक्का लिएको थियो। कम्पनीले ८९ करोडमा उक्त भण्डारण २४ महिनामा सक्ने भन्दै २०७७ असार ३१ मा सम्झौता गरेको थियो। सम्झौता अवधिमा नसकिएपछि ६ महिना म्याद थप्नुपरेको आयोजना प्रमुख ठाकुरले सेतोपाटीलाई जानकारी दिए।
गण्डकी प्रदेशमा मात्र डिजेल र पेट्रोल पम्प ५८ वटा छन्। यी डिजेल पम्पबाट गण्डकीमा एक महिनामै १ करोड लिटर डिजेल खपत भइरहेको ठाकुरले बताए।
‘अब गण्डकीका सबै डिजेल पम्पमा यहींबाट डिजेल खपत हुन्छ,’ ठाकुरले भने, ‘यो डिपोबाट गण्डकीलाई १ महिना पुग्ने इन्धन भण्डार गर्न सकिन्छ।’
भण्डारणमा १० किलोलिटर क्षमताका दुइटा ट्यांक राखिएको छ। नेपालमा इन्धन भण्डारण सबैभन्दा ठुलो अमलेखगञ्ज, दोस्रो ठुलो थानकोट रहेको भन्दै ठाकुरले गगनगौंडामा बनेको डिपो देशको तेस्रो ठुलो भएको बताए।
दुलेगौंडा इन्धन डिपो उद्घाटन गरेपछि मन्त्री रिजालले गण्डकीमा बनेको यस डिपोले ‘इनर्जी सेक्युरिटी’मा ठुलो टेवा पुर्याउने बताए।
‘गगनगौंडामा बनेको यो डिपोले इनर्जी सेक्युरिटीमा ठुलो टेवा पुर्याएको छ,’ मन्त्री रिजालले भने, ‘अब गण्डकी प्रदेशलाई एक महिना पुग्ने इन्धन यहीं भण्डारण भइरहेनेछ।’