पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक विदेशबाट आएको जहाज अवतरण गरेपछि विमनस्थल प्रमुख विक्रम गौतम चालक दलका सदस्य भेट्न गए।
चीनको पर्यटकीय शहर छेन्दुबाट उडेको जहाज पोखरामा सफल अवतरण गराएका पाइलटलाई गौतमले सोधे– विमानस्थललाई केही सुझाव दिनुछ?
छेन्दुबाट १३० जना यात्रु बोकेर पोखरा ओर्लिएका सिचुआन एयरका पाइलटले गौतमको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिए– वेल, स्याटिस्फाइड!
पाइलटसहित चालक दलका सदस्यले विमानस्थलको सेवा राम्रो पाएकाले कुनै गुनासो नरहेको प्रतिक्रिया दिए। पोखराबाट नियमित चल्ने जहाज जस्तै उक्त एयरबस सजिलै अवतरण गरेको थियो। पोखरामा यात्रु ओरालेर सजिलै काठमाडौं प्रस्थान गरेको थियो।
चीनबाट आएका यात्रुको स्वागत गर्न पोखरेली व्यवसायीदेखि सरकारका प्रमुखसम्म लाइन लागेर विमानस्थल पुगेका थिए। यात्रुमध्ये चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित केही नेपाली पनि थिए। बाँकी, पोखरामा असोज ७ र ८ गते चीन सरकारले आयोजना गरेको ‘बोट रेस फेष्टिभल’मा भाग लिन आएका चिनियाँ थिए। उनीहरूलाई ल्याउन जहाज चार्टर पनि चीन सरकारले नै गरिदिएको थियो।
चीनबाट पहिलो उडानमार्फत पोखरा ओर्लिन पाउँदा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना गदगद देखिए। चीनबाट संखुवासभा नाका हुँदै नेपाल छिरेपछि देखिएको हिमश्रृङ्खलाले चिनियाँहरू उत्साही बनेको उनले बताए।
‘नेपाल आएपछि सगरमाथा हिमाल प्रष्ट देखियो, माउण्टेन फ्लाइटमा जसरी हिमाल हेर्दै पोखरा आइपुगियो,’ उनले भने, ‘सगरमाथा देखेर चिनियाँहरू ‘वाउ चोमोलुङ्गमा’ भनेर हिमालतिर हेरिरहेका थिए, नेपाल छिरेपछि जहाजभित्र छुट्टै उत्साह देखियो।’
सगरमाथा क्षेत्रका हिमाल खुलेपनि बुधबार पोखराका हिमाल खुलेका थिएनन्। छेन्दुबाट पोखरा उडान नियमित हुने हो भने सगरमाथादेखि अन्नपूर्णसम्म हिमाल हेर्दै आउजाउ गर्ने रूट बन्ने अध्यक्ष तिमिल्सिनाले बताए। यसका लागि आफुले चिनियाँ अधिकारीलाई आग्रह गरेको उनले भनाई छ।
‘पोखरा विमानस्थल बनाउन तपाइहरूको महत्वपूर्ण सहयोग छ, अब चलाउन पनि सहयोग गरिदिनुस् भनेको छु,’ उनले सेतोपाटीलाई भने, ‘चीनबाट नियमित पोखरा उडान गर्न चीन सकारात्मक छ।’
पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले विमान कम्पनीहरू फाइदा हेरेर उडान भर्ने बताए। पोखराको व्यवसाय, अन्तर्राष्ट्रिय उडान भर्न शहरले गर्नुपर्ने तयारी र सरकारको कुटनीति लगायतमा भर पर्ने उनको भनाई छ।
‘विमान कम्पनीहरूले घाटा खाएर पोखरा उडान भर्दैनन्, एक दुई फ्लाइट आउने छुट्टै कुरा,’ उनले भने, ‘मुख्य कुरा व्यवसाय हुनुपर्छ, विमानले आउजाउ गर्ने यात्रु पाउनुपर्छ।’
चीन सरकारको २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थल जनवरी १ देखि संचालनमा छ। पहिलो अन्तर्राष्ट्रिय उडान सुरूवात गरेको चिनियाँ हवाई कम्पनीले तत्काल नियमित उडान भर्ने देखिँदैन। किनकी, विश्वभरबाट पोखरा आउने पर्यटकको संख्या हेर्दा चिनियाँ आठौं नम्बरमा छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले राखेको तथ्यांक अनुसार जनवरीदेखि बुधबारसम्म चिनियाँ पर्यटक ५५१ जना मात्र आएका छन्। जुन चीन–पोखरा विमान संचालनका लागि अत्यन्त न्युन हो। बुधबार पोखरा आएको जहाजले मात्र १३० जना यात्रु ल्याएका थिए। पोखरा विमानस्थलमा न्यारोबडी विमानले उडान र अवतरण भर्न सक्छन्।
‘चिनियाँ पर्यटकको संख्या बढाउन नसकेसम्म चिनियाँ जहाज कम्पनी पोखरा आउँदैनन्,’ नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले भने, ‘चीनका पर्यटक सरकार निर्देशित हुने भएकाले नेपाल सरकारले कुटनीतिक पहलमार्फत पर्यटक र विमान दुबै ल्याउन सक्नुपर्छ, नत्र चिनियाँ विमान आउँदैनन्।’
पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सक्ने सबैभन्दा सम्भाव्य गन्तव्य भारतका विभिन्न शहरहरू भएको ती अधिकारी बताउँछन्। बुद्ध एयरले पोखराबाट भारतको बनारस र दिल्ली उडान गर्न चाहे पनि अहिलेसम्म भारत सरकारले अनुमति दिएको छैन।
जनवरी यता पोखरा आउने सबैभन्दा धेरै पर्यटक भारतीय छन्। भारतबाट मुक्तिनाथ तिर्थयात्रा जान आउने पर्यटक पदयात्रामा पनि देखिन थालेका छन्। कतिपय पर्यटक पोखरासम्म आएर केही भुलेर फर्किने गरेका छन्।
एक्यापले राखेको तथ्यांक अनुसार जनवरीदेखि बुधबारसम्म ५० हजार ६ सय ८४ जना भारतीय अन्नपूर्ण क्षेत्र घुम्न गएका छन्। जबकी, उक्त समयावधीमा जम्मा ६६ हजार ५ सय ६० जना विदेशी अन्नपूर्ण क्षेत्रमा प्रवेश अनुमति लिएका छन्। पोखरा आउने विदेशीमा दोस्रो स्थानमा बेलायती र तेस्रोमा अमेरिकी छन्।
भारतबाट उल्लेख्य पर्यटक आइरहेकाले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न पनि भारतमा सहज हुने व्यवसायीहरको भनाई छ। यत्तिका संख्यामा आउने भारतीयहरू आफै लामो यात्रा गाडी लिएर आउने गरेका छन्।
पोखरा आउने सडकहरू पृथ्वीराजमार्ग र सिद्धार्थ राजमार्ग दुबै बिग्रिएकाले हवाई यात्रा संचालनमा आए चल्न सक्ने प्राधिकरणका ती अधिकारीले बताए। सरकारले कूटनीतिक पहल नगर्दा पोखरा–भारत उडान सम्भव हुने अवस्था देखिँदा पनि चलाउन नसकिएको उनको निष्कर्ष छ।
पर्यटनमन्त्री सुदन किराती, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य लगायत नेपाली पक्षले चीनबाट नियमित पोखरा उडान भरिदिन आग्रह गरेका थिए।
नेपालका लागि चीनका राजदूत चेन सोङले नियमित उडानका विषयमा कुनै प्रतिक्रिया दिएनन्। उनले विमानस्थललाई चिनियाँ इञ्जिनियरिङ र नेपालको गौरव भएको बताउँदै आयोजना बिआरआई अन्तर्गत भएको बताए।
यसअघि विमानस्थल उद्घाटनमा पनि चिनियाँ पक्षले आयोजनालाई बिआरआई अन्तर्गतकै परियोजना भनेको थियो। जबकी, चीनको बिआरआई परियोजना सुरू हुनुअघि नै चीन सरकारसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौता भइसकेको थियो। नेपालले बिआरआईमा प्रस्ताव गरेको परियोजनाको सुचीमा यस आयोजना पर्दैन।
चीनले बिआरआई अन्तर्गतको परियोजना भनेर व्याख्या गरेकै कारण भारतले उडान अनुमति नदिएको कतिपय व्यवसायीको गुनासो छ। भारतका चासो बुझेर मनाउनुपर्ने जिम्मेवारी नेपाल सरकारको रहने वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणका क्रममा एयररूट र पोखरा विमानस्थलबाट उडेका जहाज भारतका विभिन्न एयरपोर्टमा ल्याण्ड गर्न दिने विषय उठान नै नगरेको भन्दै उनले असन्तुष्टि जनाए।
‘दुई देशका सरकारबीच वार्ता र सहमति गर्न सक्नुपर्छ, पोखरा विमानस्थल चलाउन सरकारले प्रस्तावसमेत गरेन,’ उनले भने, ‘तत्काल पोखरा–भारत उडान गर्न सक्ने अवस्था हुँदा हुँदै पनि सरकारले नै चाहेको देखिएन।’
विमानस्थल बनाउन थालेदेखि नै तयारी गरेको भए भारत, चीन लगायत एसियाली देशहरूमा पोखराबाट उडान भर्न सम्भव हुने उनको जिकिर छ।
सिचुवान एयरले पोखरामा बुधबार भरेको उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति विश्वास बढाएको वरिष्ठ पर्यटन व्यवसायी भट्टराईले बताए।
‘अब पोखरामा यस किसिमको जहाज आउन सक्छ भन्ने विश्वास बढेको छ, कसैले चार्टर उडान भर्न सक्छ,’ उनले भने, ‘नियमित उडानको वातावरण बन्यो भने पोखराको मात्र होइन, देशकै अर्थतन्त्रलाई फाइदा दिन्छ।’
अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थालेदेखि नै पोखरा र आसपासका पर्यटकीय पूर्वाधार निर्माण, व्यवसाय प्रवर्द्धन, लगायतका विषयमा सरकारले कुनै चासो नदिएको उनको निष्कर्ष छ।
‘पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न आसपासका जिल्लादेखि एयरपोर्टसम्मको बाटो राम्रो हुनुपर्छ, पर्यटक भुल्ने ठाउँमा न्युनतम सुविधा पुग्नुपर्छ,’ उनले भने, ‘सरकारले गर्नुपर्ने काम गर्नुपर्यो, व्यवसायीले पनि आफ्नो काम गर्नुपर्छ।’
सबै तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी