पर्यटकबाट हुने विदेशी मुद्राको आम्दानी १९० प्रतिशतले बढे पनि उनीहरूको बसाइ अवधि भने लम्ब्याउन सकिएको छैन।
आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणले पर्यटकबाट हुने विदेशी मुद्राको आम्दानी सन् २०२२ मा १९० प्रतिशतले बढेर ४६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
तर, पर्यटकको औसत बसाइमा भने कमी आएको छ।
यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन मात्र रहेको सर्वेक्षणले देखाएको छ। यसअघि सन् २०२० मा पर्यटकको बसाइ १५.१ र सन् २०२१ मा १५.५ दिन रहेको थियो।
साथै प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ।
सन् २०२२ मा नेपाल घुम्न आएका पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत बिदा, मनोरञ्जनक र यात्राका लागि भ्रमण गरेका थिए।
त्यस्तै १२.९ प्रतिशतले तीर्थयात्रा, १० प्रतिशतले पर्वातारोहण तथा साहसिक यात्रा र १२.४ प्रतिशतले अन्य उद्देश्यले भ्रमण गरेका थिए।
सन् २०२२ मा आएका पर्यटकमध्ये भारतबाट ३४.१, अमेरिकाबाट १२.५, बेलायतबाट ७.३, अष्ट्रेलियाबाट ४.४, बंगलादेशबाट ४.१ प्रतिशत र अन्य मुलुकबाट ३७.६ प्रतिशत रहेका छन्।
सन् २०२१ को तुलनामा अष्ट्रेलियाबाट नेपाल आउने पर्यटकको संख्या सन् २०२२ मा १० गुणाले वृद्धि भएको छ।
त्यस्तै, पर्वतारोहणबाट आउने रोयल्टीमा वृद्धि भएको छ।
सन् २०२१ मा ६३ करोड ५२ लाख ४९ हजार रुपैयाँ रोयल्टी संकलन भएकोमा सन् २०२२ मा ७० करोड ३४ लाख ३० हजार रुपैयाँ पुगेको छ।
यस अवधिमा ६ हजार ५०० मिटरभन्दा कम उचाइका हिमाल आरोहण गर्ने पर्वतारोहीको संख्या बढे पनि त्यसको अनुपातमा रोयल्टी संकलन भने कम रहेको छ।
पर्वतारोहण दलको संख्या सन् २०२२ को अन्त्यसम्म १ हजार ९५२ पुगेको छ।
हिमाल पर्वतारोहीको संख्या सन् २०२० मा ४४७ र सन् २०२१ मा ३ हजार ४४६ रहेकोमा सन् २०२२ मा ८ हजार ४६८ पुगेको छ।
कोभिडका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो।
सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको छ।