नयाँ हवाइ प्रवेश बिन्दु दिनेमा भारत सकारात्मक देखिएको छ।
नयाँ हवाइ प्रवेश बिन्दु र क्रस बोर्डर उडानमा देखिएको समस्या समाधान खोज्दै छलफलका लागि भारत पुगेका प्राविधिक टोलीले यस्तो प्रतिक्रिया दिएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाइ उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेको नेतृत्वमा प्राविधिक टोली गत बिहीबार भारतीय नागरिक उड्डयन प्राधिकरण पुगेको थियो।
सहसचिव लामिछानेकाअनुसार भारतीय नियामक निकायसँग लामो छलफल भए पनि निष्कर्ष भने हुन सकेन।
छलफलमा भारतले आफ्ना चासोहरू व्यक्त गरेपनि कुनै औपचारिक समझदारी नगरेको उनले बताए। यद्यपी छलफलका विषयमा आशावादी रहेको उनको भनाइ छ।
'विषयवस्तुमा छलफल भएपनि निष्कर्षमा पुग्न सकिएन', उनले भने, 'अब प्रधानमन्त्रीको छलफलपछि थप निर्णय हुनेछ।'
जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण तालिका रहेको छ।
उक्त भ्रमणमा यसबारे पनि छलफल हुने लामिछानेले बताए। प्रधानमन्त्रीको भ्रमण अघि भारत पुगेर सहमति गर्दै नयाँ हवाइ बिन्दुलाई प्रधानमन्त्री भ्रमणको एजेन्डा बनाउन उक्त टोली भारत पुगेको थियो।
टोलीमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पनि थिए।
उनकाअनुसार नयाँ हवाइ प्रवेश बिन्दु र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आएलएस उडान तथा अवतरण कार्यविधिमा भारतीय पक्षको स्वीकृतिका लागि प्रमुख प्राथमिकतामा राखेर छलफल भएको थियो।
'कुन कुन विषयमा सहमति गर्ने भन्नेबारे प्रधानमन्त्रीको भ्रमणपछि नै थाहा हुनेछ', उनले सेतोपाटीसँग भने।
नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश बिन्दुसहित हवाइ रूट माग गर्दै आएको छ।
भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ।
ती बिन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौदेखि आनाकानी गरिरहेको छ।
नेपालले लामो सयमदेखि पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुट दिन भारतलाई आग्रह गर्दै आएको छ।