बुटवलदेखि पाल्पाको बसन्तपुर जोड्ने गरी निर्माण भइरहेको लुम्बिनी केबुलकार सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।
बुटवल उपमहानगरपालिका वडा नं. ३ बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुरमा रहेको छ।
व्यावसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण भइरहेको केबुलकार यही जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदैछ।
तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेसन, टावर, टप बटम स्टेसनलगायत सबै निर्माणका कामहरू पूरा भई अहिले प्राविधिक परीक्षण सुरू गरिएको छ।
टप स्टेसन बसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले लुम्बिनी केबुलकार प्रालिले यो परियोजनामा ५ अर्ब रुपैयाँ लगानी गरिरहेको छ।
पहिलो चरणमा निर्माण भइरहेको केबुलकारमा डेढ अर्ब लगानी भएको प्रालिले जनाएको छ।
केबुलकार प्रालिका व्यवस्थापक गोकुल साउदले यही जेठ १५ गतेदेखि नियमित सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिए।
साउदका अनुसार २५ वटा गोण्डुला रहने केबुलकारमा एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम ६ सय यात्रु आवतजावत गर्न सक्नेछन्।
केबुलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रुले आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ।
एकवर्षभित्रै सञ्चालनमा ल्याउने घोषणासहित २०७७ साल फागुन १ गते शिलान्यास गरिएको केबुलकार कोरोना महामारीको असरलगायत कारणले एक वर्षपछि मात्रै सञ्चालनमा आउन लागेको हो।
केबुलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
यसैबीच केबुलकारको टप स्टेसन बसन्तपुर डाँडामा निर्माण गरिएको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरू भएको छ।
केबुलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरू भएको हो।
भारतको गुहावटीमा रहको कामाख्या मन्दिरकै शैली र कलामा बसन्तपुरमा पनि कामाख्या मन्दिर निर्माण गरिएको छ।
मन्दिरमा सुरू भएको एकहप्ते पूजामा गुहावटीबाट आएका र नेपालका समेत ११ जना धार्मिक पण्डितहरूले पूजा सुरू गरेको प्रालिले जनाएको छ।
मन्दिरमा जेठ १२ गतेदेखि सुरू भएको पूजा आराधना १८ गतेसम्म चल्ने छ।
कामाख्या मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको पूजामा सहभागी धर्मगुरू किशोर गौतमले बताए।
सप्ताहव्यापी पूजाआराधनामा बुटवलसहित रूपन्देही, पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरू आउने गरेको गौतमले बताए।
बसन्तपुरमा कामाख्यादेवीको मन्दिरसहित भगवती र गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरू निर्माण भइरहेका छन्।
त्यस्तै, क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट निर्माणको काम पनि भइरहेको कम्पनीले जनाएको छ।
नेपालका मात्र नभई बुटवलदेखि नजिकै रहेको भारतको गोरखपुर, लखनउ लगायतका सहरबाट समेत भारतीय पर्यटकहरूलाई आकर्षित गर्न सकिने भन्दै केबुलकारमा लगानी गरिएको प्रालिले जनाएको छ।
केबुलकार संचालनको अन्तिम तयारीमा रहेको प्रालिले बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गरी टिकटको शुल्क निर्धारणका लागि छलफल गरिरहेको जनाएको छ।
प्रालिले केबुलकारको प्रति टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्क वापत छुट्टाउने छ भने दुइटा पालिकाले उक्त रकमको ५०/५० प्रतिशत पाउने छन्।
केबुलकार प्रालिले तीन किलोमिटर क्षेत्रमा बुटवल ३ को चुरे सामुदायिक वन समेतको ३ दशमलव १६ हेक्टर र पाल्पाको तिनाउ ३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३ दशमलव ११ हेक्टर गरी ६ दशमलव २७ हेक्टर वन क्षेत्र उपयोग गरेको छ।
सरकारले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र उपयोग गर्न पाउने गरी केबुलकार प्रालिलाई स्वीकृति दिएको छ।
प्रालिले सरकारी स्वीकृति भने केबुलकार निर्माणको कार्ययोजना थालेको १४ वर्षपछि मात्रै पाएको थियो।
बेस स्टेसन बमघाटदेखि १० मिनेटको यात्रामै पुग्न सकिने बसन्तपुर बुटवलको उखरमाउलो गर्मी छल्ने उपयुक्त विकल्प बन्न सक्ने छ।
समुद्री सतहबाट नौ सय ४० मिटरको उचाइमा रहेको बसन्तपुरको तापक्रम बुटवलको भन्दा चार पाँच डिग्रीसम्म कम हुने भएकोले गर्मी मौसममा शितलताका लागि र जाडो मौसममा न्यानोका लागि पर्यटक लैजान सकिने प्रालिले जनाएको छ।