नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
उनीहरूले सम्पदाको संरक्षण र पुनर्निर्माणलाई अन्य क्षेत्रको विकास र संरक्षणभन्दा फरक ढंगले हेर्नु पर्ने बताएका छन्।
नेपाल सम्पदा संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले नेपाल सम्पदाहरूको देश र काठमाडौं उपत्यका सम्पदा नै सम्पदाले भरिएको स्थान भएकोले यसको पहिचान जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उपत्यकामा रहेका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाहरूको संरक्षण आवश्यक रहेको बताए।
उनकाअनुसार पछिल्लो समय सम्पदाहरू बिग्रदै गएको छ। देशको पहिचान र समृद्धिका लागि सम्पदा संरक्षणमा सबै लाग्नु पर्ने उनको भनाइ छ।
'सम्पदाको विषय अन्य विकासको अवधारणाभन्दा फरक विषय हो। यसको लागि तीनै तहको सरकारले सोही अनुरूप सोच्न आवश्यक छ। यदी त्यसो गरिएन भने सम्पदा नाश हुने सम्भावना रहन्छ' मेयर महर्जनले भने।
यस्तै, नेपाल सम्पदा संघका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले सम्पदा संरक्षणको लागि सबैको सामूहिक पहल र प्रतिवद्धता आवश्यक रहेको बताइन्।
सम्पदाहरू मावन समाजको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले पुर्खाले छोडेर गएका सम्पदारूपी नासोलाई संरक्षण गरी भावी सन्ततीलाई हस्तान्तरण गर्नुपर्ने बताइन्।
'नेपालको आर्थिक विकासको लागि पर्यटनको विकास आवश्यक छ। पर्यटनको विकासको लागि सम्पदा संरक्षणको झन् ठूलो महत्व छ। त्यसैले नेपालको पर्यटनको लागि सबैले मिलेर नेपालका सम्पदाको संरक्षणमा लाग्न जरुरी छ' उनले भनिन्।
यस्तै नेपाल सम्पदा संघका उपाध्यक्ष धर्मराज शाक्यले सम्पदा संघले विश्व सम्पदा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै सम्पदा संरक्षणको लागि जनचेतना आवश्यक भएको बताए।
संघले विश्व सम्पदा दिवस २०२३ का अवसरमा २०२३ को अप्रिल १८ तारिखमा विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा काठमाडौंमा विविध कार्यक्रम आयोजना गरेको संघका सदस्य विजय प्रधानले जानकारी दिए।