डेढ महिनाभित्र बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ।
केबलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरूवात भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ।
गत वैशाख २ गतेदेखि जडित सामग्रीहरूको कार्यको नियमित परीक्षण गरिरहेको कम्पनीले बताएको छ। हाल रोपको लोड परीक्षण भइरहेको छ।
यही जेष्ठ २५ गतेसम्म मेटरियल गोंडोलामार्फत सामान बोकेर दोस्रो चरणको लोड परीक्षण गर्ने कम्पनीले बताएको छ।
असार १५ गतेसम्म सीमित मानिसहरू बोकेर केवलकार परीक्षण हुनेछ।
यी तीन चरणको काम सम्पन्न भएसँगै केवलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र र अन्य सबै खालका सुरक्षा एवम् सम्पन्न सम्बन्धी प्रमाण पत्र प्राप्त गर्नेछ।
त्यसपछि औपचारिक रूपमा केवलकार व्यावसायिक सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका गुणस्तर एवम् प्रविधि इन्सपेक्सन डिरेक्टर सुप्रियो मण्डलले बताए।
प्रति घण्टा पाँच सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक ६ बजेदेखि राति ११ बजेसम्म चल्ने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।
केवलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवम् आराम कक्ष समेत सञ्चालन गर्नेछ।
साढे ३ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन पाँचतारे होटल भने आगामी दशैंभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
२०७५ साल साउनदेखि केवलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो। ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआई बैंक र सह वित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको छ।
पृथ्वी राजमार्गको केवलकार चोकदेखि बन्दीपुरसम्म एक हजार सात सय मिटर लामो केवलकारको तल्लो स्टेसनमा आकर्षक बगैँचा र पर्यटक कोर्ट असार १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।