पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
उनी शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्। योसँगै बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी) घुँडा माथि दुबै अंगबिच्छेद भएका व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्।
कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झन्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।
रोल्पाको थवाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए।
बुढामगरले गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए। बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने हरिको सपना थियो। सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं।’
हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा छन्। थापाले ब्रिटिसको स्पेशल एअर सर्भिसको माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए।
सफल आरोहणपछि स्याटलाइट फोन मार्फत हरिले भने, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नै पर्ने थियो। त्यसैले हामीलाई केही फरक परेन। जतिसुकै दुःख भएपनि, गाह्रो भएपनि हामीलाई केही फरक परेन र अन्तत: हामी सफल भयौं।’
बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कमजोर हुँदैनन् भन्ने आत्मविश्वास दिलाउन पनि यो आरोहण महत्वपूर्ण रहेको उनी बताउँछन्। उनले खुशी हुँदै थप भने, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपांगता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ।’
सगरमाथाको सफल आरोहण गर्नुपूर्व उनले मोन्ट ब्लाङ्क ४,८१० मिटर, चुलु सुदूरपूर्व ६,०५९ मिटर, किलिमन्जारो ५,८९५ मिटर, र मेरा पिक ६,४७६ मिटर लगायतका आरोहण गरिसकेका थिए। सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब नी’ को रेकर्डलगायत रेकर्ड बुढामगरको नाममा छ।