कर्णाली पर्यटन उद्यमी समाजले पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि पर्यटनमन्त्री सुदन किरातीको ध्यानाकर्षण गराएको छ।
समाजका अध्यक्ष देविकृष्ण रोकायाको नेतृत्वमा कर्णालीमा हवाई समस्या समाधान, हिमाल आरोहणको प्रबन्ध मिलाउनुपर्ने लगायत माग राखी समाजले शुक्रबार मन्त्रीको ध्यानाकर्षण गराएको हो।
'कर्णाली क्षेत्रमा लामो समययता हवाई उडानमा समस्याबारे मन्त्रीलाई अवगत गराएका छौं,’ अध्यक्ष रोकायाले भने, ‘हवाई समस्या समाधानसहित कर्णालीको प्रवर्द्धन र आवश्यक कुरामा मन्त्रीज्यूको प्रतिबद्धता छ।’
समाजका पूर्वअध्यक्ष जगंबहादुर लामा सहितका पदाधिकारीहरूले कर्णाली क्षेत्रमा भएका हिमालमा सहज रूपमा आरोहणका लागि अनुमति दिनुपर्ने व्यवस्था गरिनुपर्ने माग राखेका छन्।
‘कर्णाली प्रदेशमा थुप्रै हिमाल भए पनि आरोहणका लागि सामूहिक रूपमा मात्र परमिट लिने व्यवस्था हाल कायम छ। सामूहिक रूपमा मात्र नभएर पर्यटक एक्लैले पनि परमिट लिन पाउने व्यवस्था आवश्यक छ,’ लामाले भने, ‘यो समस्या समाधान गर्न सकिएको खण्डमा कर्णालीका हिमालमा पनि मानिसहरूको आकर्षण हुनेछ।’
समाजले राखेका अन्य मागहरूः
कर्णाली प्रदेशको पर्यटन विकासको गुरूयोजना निर्माण गरी कार्यान्वयन गनुपर्ने।
पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकण गरिनुपर्ने।
पदमार्गको पहिचान तथा प्रर्वद्धन गर्नुपर्ने।
जलयात्रा लगायतका अन्य साहसिक पर्यटनका लागि सम्भावना अध्ययन गरिनुपर्ने।
विमानस्थलको स्तरोन्नति।
प्रदेश राजधानी सुर्खेतबाट अन्य जिल्लाहरूमा हवाई उडान गर्नुपर्ने।
वैज्ञानिक रूपमा भाडा समायोजन गरिनुपर्ने।