नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिमा देशबन्धु बस्नेत (अजित) चयन भएका छन्।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन्।
नेपालको पर्यटन क्षेत्रमा १ दशकदेखि सक्रिय बस्नेत महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन्।
यसअघि महासंघको एनआरएन तथा द्विराष्ट्रिय फोरमका सभापति हुँदा विभिन्न देशका द्विराष्ट्रिय संघ र गैर आवासीय नेपाली संघसंस्थालाई चलायमान बनाएर नेपालमा विदेशी लगानी भित्र्याउन अहम भूमिका निर्वाह गरेका बस्नेतको नियुक्तीसँगै पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने विश्वास लिइएको छ।
साथै, उनको कार्यकालमा आगामी दिनमा थप अन्य मुलुकसँग सिधा हवाई उडान गरी विदेशी पर्यटक भित्र्याउनका समेत सहयोग पुग्ने सरोकारवालाहरू बताउँछन्।
प्रमाणपत्र वितरण कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा पर्यटन समितिको सभापतिमा बस्नेतको चयनसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी विदेशी पर्यटक भित्र्याएर डलर आर्जन गर्न थप सहयोग पुग्ने बताए।
साथै, महासंघको छवी र प्रतिष्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने समेत ढकालको विश्वास छ।
नेपालमा स्टार स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउन लागेका बस्नेतले पर्यटन प्रवर्द्धनका लागि होटलका विभिन्नि विश्व प्रसिद्ध ब्राण्ड भित्र्याएका छन्।
बस्नेतले काठमाडौं र इटहरीमा एकै पटक सञ्चालनमा ल्याउने गरी २ ओटा पाँच तारे होटलको निर्माण कार्य अन्तिम चरणमा पुर्याएका छन्।
यस्तै, उनले पर्यटकीय एवम् धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोबर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन्।
पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत हुन्। साथै उनी सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन्।
एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल, पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तर्गत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन्।