ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पर्वतीय पर्यटनलाई थप प्रतिस्पर्धी, सुरक्षित र दिगो बनाउन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई अनुरोध गरेको छ।
टानले मंगलबार पर्वतीय पर्यटनमा देखिएका विभिन्न चुनौती तथा अवसरहरूका बीचबाट गुज्रिरहेको हालको परिस्थितिमा कोषद्वारा व्यवस्थापन गरिएका संरक्षित क्षेत्रहरूलाई व्यवस्थित बनाउन अनुरोध गरेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले बताए।
उनकाअनुसार पदयात्रा पर्यटनलाई थप सुरक्षित, प्रतिस्पर्धी र दिगो बनाउन कोषसँग समन्वय, साझेदारी र सहकार्य गरी काम गर्न चाहेकोले कोषको तर्फबाट आवश्यक, सहयोग, समन्वय र पहल गर्न अनुरोध गरिएको हो।
पर्यटकका लागि एफआइटी टिम्स बन्द भइसक्दा पनि कोषले एफआइटी पर्यटकलाई परमिट जारी गर्ने कार्य जारी राखेकोले समस्या उत्पन्न भइरहेकोले विभिन्न पदमार्ग विकासको विषयमा कोषको ध्यानाकर्षण गराएको उनले बताए।
टानले राउण्ड अन्नपूर्ण मार्गमा वैकल्पिक पदयात्रा मार्गहरूको विकास गर्न, वैकल्पिक मार्गको पहिचान गरी उपल्लो मुस्ताङ सर्किटको विकास गर्न, अन्नपूर्ण आधार शिविर पदमार्गको खासखास ठाउँमा टि हाउस लज तथा रेष्टुरेष्टको संख्या थप्न सहयोगको अनुरोध गरेको छ।
त्यस्तै, नयाँ मापदण्ड अनुसार मनास्लु, अन्नपूर्ण, गौरीशंकर संरक्षण क्षेत्र आयोजनाअन्तर्गत टिम्स चेक पोष्टहरूको स्थापनामा सहयोग गर्न र ती चेक पोष्टहरूमा पदयात्रीहरूको टिम्स अनुमति पत्र चेकजाँच गर्ने कार्यमा समन्वय गर्न समेत अनुरोध गरेको छ।
त्यस्तैगरी, मनास्लु–लार्के पास पदयात्रा सर्किटमा जाने पर्यटकहरूले भिमताब–धारापानी–जगत खण्डमा जाँदा मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना दुबैको प्रवेश शुल्क तिर्नु पर्छ।
यही नियमका कारण मनास्लु–लार्के पास गर्ने पर्यटकको संख्या अपेक्षाकृत रुपमा बढ्न नसकेकाले उक्त नियमलाई व्यवहारिक बनाई थप पर्यटकहरू आकर्षण गर्ने वातावरण बनाउन अनुरोध गरेको प्रथम उपाध्यक्ष पण्डितले बताए।