कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन्।
सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्य सहितको नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्य समितिमा क्रमशः उपाध्यक्षमा प्रेम बहादुर लामा, सचिवमा खडक रोकाया, सह–सचिवमा मनराज सिमखडा र कोषाध्यक्षमा च्याङजोर लामा रहेका छन्।
यस्तै, हरिकृष्ण रावल, छेतेन डोल्मा लामा र राकेश शाही सदस्य रहेका छन्। नयाँ कार्यमितिमा निवर्तमान अध्यक्ष जंगबहादुर बुढा पनि छन्।
कर्णालीको पर्यटनका सम्भावनाको पहिचान गरी पर्यटन विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ समाजको स्थापना भएको हो।
विगतका वर्षदेखि नै कर्णालीका पर्यटन उद्यमीहरूलाई एउटै साझा मञ्च उपलब्ध गराएकाले उद्यमीहरूलाई हौसला र पर्यटन उद्योगमा सहयोग पुग्ने निवर्तमान अध्यक्ष जग बहादुर बुढाले बताए।
यस्तै, जंग बहादुर लामा, प्रेम दोर्चे लामा र जितेन्द्र झांक्री सल्लाहकारका रूपमा छन्।
नवनिर्वाचित अध्यक्ष रोकायाले पर्यटन क्षेत्रको नीति निर्माणको तहमा कर्णालीको उपस्थितीलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
विशेषगरी तीनै तहको सरकार र नेपाल पर्यटन बोर्डसँग समन्वय गरी कर्णालीको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए। 'त्यसका लागि कर्णालीका पर्यटनसँग सम्बन्धित सबै निकाय एकै ठाउँमा उभिएर अघि बढ्न आवश्यक छ,' उनले भने।
यसवर्ष 'कर्णाली घुम्नुपर्छ' भन्ने नारालाई अघि सार्दै कर्णालीमा पर्यटक आकर्षित गर्न तर्फ लाग्नु पर्नेमा उनको जोड छ।
आगामी दिनमा कर्णालीमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने, हवाइ उडानका समस्या पहिचान गरी सरोकारवालासँग समाधानका लागि पहल गर्ने, पदमार्गहरूको पहिचान गरी व्यवस्थित गर्ने, दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय बजारमा कर्णालीलाई पुर्याउने उद्देश्य रहेको छ।
नवनिर्वाचित अध्यक्ष रोकाया विगत एक दशक यता कर्णालीको पर्यटन प्रवर्द्धनमा सक्रिय छन्। उनी युवा पर्यटन व्यवसायी पनि हुन्। रोकाया रारा इको रिर्सोट र रारा एड्भेन्चरका सञ्चालक पनि हुन्।