यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण सुरू भएको छ।
शनिबारबाट सगरमाथा आरोहण सुरू भएको पर्यटन बोर्डले बताएको छ।
आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले शनिबार दिउँसो सगरमाथाको चुचुरोसम्म 'रोप फिक्सिङ' (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो।
सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका हुन्।
विभागकाअनुसार दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत छन्। रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र संखुवासभाका दीपेन गुरुङ रहेका छन्।
यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौँ संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन्। उनीहरू मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन्।
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न हालसमम्मकै धेरैले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन्। जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन्। सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो।
आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ।