गौतमबुद्धको जन्म स्थल लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरू भएको छ।
मार्टको उद्घाटन शत्रमा बोल्ने वक्ताहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने तथा ट्राभल कम्पनीहरूलाई लुम्बिनीलाई केन्द्रमा राखेर टुर प्याकेज निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) ले बिहीबार मार्ट उद्घाटन गरेका हुन्।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजनमा सुरू भएको मार्ट तीन दिनसम्म हुनेछ।
उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे।
उनले गौतम बुुद्धले महापरिनिर्वाण हुनु अघि जीवनमा एक पटक भएपनि बुुद्ध जन्मस्थल लुम्बिनी पुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्भरका बौद्धमार्गीहरूले लुम्बिनीबाटै यात्रा थालनी गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई बुद्ध जन्मस्थल लुम्बिनीबाट चलायमान बनाउनका लागि दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए।
उनले नेपालको लागि लुम्बिनी र बुद्ध विश्वमा परिचित स्थल भएकाले यसमार्फत विश्वभरका पर्यटकलाई निम्तो दिइएको जानकारी दिए।