नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार बिहान भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगिएको श्री एयरलाइन्सको जहाज उडानमा रोक लगाएको छ।
प्राधिकरणले दर्ता नम्बर '९एन–एएनई' रहेको उक्त जहाजलाई उडानमा रोक लगाएको हो।
प्राधिकरणले सूचना जारी गर्दै श्रीको उक्त जहाज तत्कालका लागि सञ्चालनमा रोक लगाएको जनाएको छ।
जहाज सोमबार बिहान ९ बजेर ४० मा भैरहवा विमानस्थलबाट उडेको २० मिनेटमै अगाडिको पांग्रा (ल्यान्डिङ गियर) मा समस्या उत्पन्न भएपछि पुनः भैरहवा विमानस्थलमै आकस्मिक अवतरण गरिएको थियो।
जहाज, चालकदल र यात्रु सबै सुरक्षित थिए।
प्राधिकरणकाअनुसार श्रीको यही जहाजमा वैशाख २३ गते शनिबार पनि धनगढी विमानस्थलमा अगाडिको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो।
यो जहाज उडानमा संलग्न इन्जिनियरहरूलाई पनि अर्को सूचना नआउन्जेल निलम्बन गरिएको छ।