नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण मागेको छ।
विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ शुल्कको विषयमा निगमले मनपरी गरेको भन्दै के कारण नियमावलीअनुसार काम नभएको हो भन्दै स्पष्टीकरण मागेको हो।
प्राधिकरणले बुधबार निमगलाई 'नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगर्नुको कारण के हो?' भन्दै जवाफ मागेको छ।
प्राधिकरणले निगमका अध्यक्ष अधिकारीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, 'नेपालको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणको महानिर्देशकले भूमिस्थ सेवा प्रदायक निकायले अनिवार्य लागू गर्नुपर्ने गरी स्वीकृत गरेको प्राधिकरण ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क २०२२ बमोजिमको संशोधित ग्राउण्ड ह्याण्डलिङ शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ सञ्चालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न गरिएको प्रयासमा समयमै कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी तथा विमानस्थलहरूले व्यहोरेको क्षतिको जिम्मेवारी निगमले लिनुपर्ने वा नपर्ने के हो?'
त्यस्तै प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति युवराजलाई निगमको एकाउन्टेबल म्यानेजर पदबाट किन नहटाउने भनेर समेत जवाफ मागेको छ।