गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबार नेपाल एयरलाइन्सको परीक्षण उडान सम्पन्न भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन-एबिटी जहाज बिहान ७ बजेर ३९ मिनेटमा रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा अवतरण भएको हो।
परीक्षण उडानमा निगम र नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोली सहभागी थिए।
प्राविधिक टोलीसहितको सफल उडानपछि नेपाल एयरलाइन्सले अब नागरिक उड्डयन प्राधिकरणसँग नियमित उडानका लागि सेड्युल माग्नेछ। त्यसका साथै व्यावसायिक उडान सुरू हुने निगमले बताएको छ।
रेसुङ्गा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची (धुले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो।
विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।
एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्नसक्छ।