नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा गरेको परीक्षण उडान सफल भएको छ।
शुक्रबार बिहान निगमको नाइन एन एबिटी जहाजमार्फत रेसुङ्गा विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको हो।
क्याप्टेन मनेश विष्ट नेतृत्वको टोलीले जहाज उडाएको थियो। काठमाडौंबाट करिब ५० मिनेटको उडानपछि रेसुङ्गा विमानस्थलमा अवतरण गरिएको क्याप्टेन विष्टले जानकारी दिए।
यसअघि ०७५ र गत पुस २४ गते तारा एयरलाइसन्सले सफल परीक्षण उडान गरेको थियो।
परीक्षण उडान सफल भएसँगै निगमले अब रेसुङ्गा विमानस्थलमा नियमित उडान भर्नेछ। सातामा एउटा उडान भर्नेगरी निगमले सम्झौता गरेअनुसार अब प्रत्येक शुक्रबार निगमको जहाजले रेसुङ्गा विमानस्थलमा उडान भर्नेछ।
रेसुङ्गमा नियमित उडान हुने भएपछि जिल्ला र आसपासका जिल्लावासीको पाँच दशकको सपना पूरा भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।
रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची (धुले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो। विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।
एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।