सोमबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाजमा देखिएको समस्या समाधान भएर अहिले गन्तव्यतर्फ गइरहेको छ।
फ्लाइट राडारका अनुसार राति पौने ११ बजे विमान भारतको नयाँदिल्लीको आकाशमा उडिरहेको छ।
राति दस बजेर ४५ मिनेट जाँदा जहाज नयाँदिल्लीको आकाशमा ३४ हजार फिट माथि उड्दै छ।
फ्लाई दुबईको एफजेड ५७६ नम्बरको जहाज ९ बजेर २० मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। उड्नेबित्तिकै जहाजमा आगोको ज्वाला देखिएर पड्केको आवाज आएको थियो। समस्या आएको थाहा भएपछि पाइलटले जहाज धार्केमा लगेर होल्ड गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पाइलटले धार्केको आकाशमा पुगेर जहाजको निरीक्षण गरेका थिए।
'धार्केको आकाशमा केहीबेर होल्ड गरेर* पाइलटले जहाजको निरीक्षण गरेका थिए। सबै नर्मल छ भनेपछि गन्तव्यतर्फ उडेको हो,' महानिर्देशक अधिकारीले सेतोपाटीलाई भने, 'पाइलटले आफ्नो जहाजको समस्या समाधान भएको र गन्तव्यमा जान लागेको जानकारी दिएर गएका हुन्।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका टावर हेर्ने अधिकारीहरूले पनि जहाजमा आगो देखिएको र पड्केको भए पनि इन्जिनमा समस्या नभएको बताएका छन्। जहाज अहिले सामान्य अवस्थामा भएकाले त्यसमा सवार यात्रुका परिवार र आफन्तजनलाई चिन्ता नलिन पनि उनीहरूले आग्रह गरेका छन्।
फ्लाई दुबईको जहाजका कारण नेपाली आकाशमा केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्।
एयर अरेबिया, मलेसियन एयर, सिंगापुर एयर र बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन्। अहिले यी सबै जहाज ल्यान्ड गर्ने क्रममा छन्।
*यसअघि अन्यथा परेकाले सच्याइएको।