साहसिक पर्यटनको लोकप्रिय गन्तव्य 'द क्लिफ'ले परी पिङ सञ्चालनमा ल्याएको छ। यो स्विङ एशिया तथा नेपालमा नै पहिलो पटक सुरू भएको क्लिफका सञ्चालक राजु कार्कीले बताए।
उनकाअनुसार जमिनको सतहबाट करिब २५० मिटर माथि भिरमा १० मिटरको डोरि झुन्ड्याएर स्विङ सञ्चालन गरिएको छ।
'क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले क्रेन स्विङ सञ्चालनमा ल्याएका हौं,' उनले भने।
परी पिङको मज्जा महिलाहरूले मात्र नभई सबैले लिन सकिने कार्की बताउँछन्। स्विङ खेल्नका लागि २५० रुपैयाँ शुल्क कायम गरिएको छ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन्।