आरकेडी होल्डिङ्स लिमिटेडले छैठौ साधारण सभामार्फत देशकै 'गेम चेन्जर' परियोजनाका थप दुई ठूला उद्योग खोल्ने प्रस्ताव पास गरेको छ।
परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्ने र रियल स्टेट व्यापार गर्ने उद्देश्यले युवा व्यवसायीले स्थापना गरेको उक्त कम्पनीले हाल रियल स्टेट, पूर्वाधार, पर्यटन, होटल, साहसिक पर्यटन क्षेत्र र मुख्य गरी रोप–वे केवलकार उद्योगहरू निर्माणको काम गरिरहेको छ।
कम्पनी देशका सातै प्रदेशमा केवलकार सहितको तारे होटलहरू निर्माण गर्ने नीति लिएर काम गरिरहेको छ।
यससँगै अब मुलुकलाई निर्यातमुखी र उत्पादनमुखी उद्योग अझ बढी खाँचो भएकोले सोही क्षेत्रमा काम गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले आगामी ४ वर्षभित्र नै सञ्चालनमा आउने गरी ३ अर्ब ५० करोड रूपैयाँसम्म लागतको पूर्ण स्वचालित स्टिल उद्योग स्थापना गर्ने बताएको छ।
त्यस्तै, कृषि क्षेत्रमा देखिएको रासायनिक मलखादको माग सम्बोधन गर्ने कम्पनीले जनाएको छ।
प्रस्तावअनुसार ७५ अर्ब लागतमा आगामी १० वर्षभित्र सम्पन्न हुने गरी इलेक्ट्रिक सिस्टममा आधारित स्वचालित वार्षिक ४ लाख मेट्रिक टन बढी युरिया मल उत्पादन क्षमताको उद्योग स्थापना गर्नेछ।
उद्योगमा कम्पनी समूहको नियन्त्रणमा ५१ प्रतिशत सेयर रहनेछ भने बाँकी सेयर इच्छुक अन्य पक्षहरूलाई दिने कम्पनीले बताएको छ।
यी दुई उद्योगको स्थापना र सञ्चालनबाट मुलुकमा ठूलो आर्थिक परिवर्तन, निर्यातमुखी र उत्पादनमुखी अर्थ व्यवस्थाको बाटो खोल्न सक्ने कम्पनीको दाबी छ।
अब मुलुकमा आम मानिसहरूको तहबाट नै मिलेर केहि गर्नुपर्छ भन्ने सोचले ठूला आकारको लागानीको लागि अगाडि बढ्न लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।
उनका अनुसार नेपालमा वार्षिक ८ लाख मेट्रिक टन बढी युरिया मलको माग रहेकाले यस्तो उद्योग खोल्न राज्यले अधिकतम सहजीकरण गर्नु पर्नेछ।
समूहले बन्दीपुरमा ५ तारे होटल सहितको ४ अर्बको परियोजना सम्पन्न गर्ने तयारी गरेको छ।
रुपन्देहीको भैरहवामा 'लर्ड बुद्ध अन्तर्राष्ट्रिय टुरिजम गार्डेन', तनहुँको आबुखैरेनिमा ५ अर्बको लागतमा पृथ्वी राजमार्ग खानीखोलादेखि छिम्के स्वरी मन्दिरसम्म ३६ मिटर लामो केवलकार सहितको अत्याधुनिक सांस्कृतिक थिम पार्कको काम अगाडी बढाएको छ।
यसैगरी पोखराको पञ्चासेमा ८ अर्ब लागत रहने गरी पर्यटन पूर्वाधारयुक्त केवलकार निर्माणको काम समेत अगाडी बढाएको बताएको छ।
कम्पनी समूहमा स्वदेश र प्रवासमा रहने ११ हजार बढी लगानीकर्ताहरू र २१ बढी कम्पनी रहेका छन्।
जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट आवश्यकता अनुरुप वृद्धि गरी आर्थिक स्वपुँजीको लागि अगाडि बढ्ने नीति रहेको कम्पनीका आर्थिक परामर्शदाता सिए दिपक गौतमले बताए।
अर्को वर्ष कम्पनीले जारी पुँजीको १२ प्रतिशत हुने गरी आइपिओ समेत निष्कासन गर्ने तयारी गरेको छ।