पर्यटकीय सिजन सुरू भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि विभिन्न वायुसेवा कम्पनीहरूले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म दैनिक चार दर्जनभन्दा बढीसम्म उडान गर्दै आएका छन्।
यो सिजनमा तारा एयरको ट्वीनअटर विमानले मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक १० देखि १५ उडान गरिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन्। यो विमानस्थलबाट तारा एयर लगायत समिट र सिताले पनि उडान गरिरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि एउटा विमानले दैनिक दुईदेखि तीनवटा मात्र उडान भर्न सक्ने अवस्था भएपछि मन्थलीबाट लुक्ला उडाउन सुरू गरिएको हो। हाल यो गन्तव्यमा एउटै विमानले दैनिक आठदेखि दश वटासम्म उडान गर्न थालेको छ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अुनसार पछिल्लो समय ताराको एउटै विमानले मन्थलीबाट लुक्लासम्म दैनिक पाँचदेखि आठवटा उडान गरिरहेको छ। यो रूटका लागि अहिले ताराका दुईवटा विमान छन्।
बिहानै काठमाडौंबाट गाडीमा मन्थलीसम्म पुगेर मन्थलीबाट विमान चढेर एकैदिन लुक्ला पुगिने भएपछि विदेशी पर्यटकलाई सजिलो भएको उनको भनाइ छ।
तारा एयरले मन्थलीदेखि लुक्लामात्र नभएर पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान गर्दै आएको छ।