यस वर्षको बसन्त ऋतुमा हिमाल आरोहणका लागि ७ सय भन्दा बढीले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार सन् २०२३ को अप्रिल १६ तारिखसम्म २३ वटा हिमाल आरोहणका लागि सात सय ४३ जनाले अनुमति लिएका छन्। अनुमति लिएकाहरूमा ८५ वटा टिममार्फत पाँच सय ८४ जना पुरुष र एक सय ५९ जना महिला रहेका छन्।
यो सिजनका लागि ७५ देशका पर्यटकहरूले हिमाल आरोहणको अनुमति लिएको विभागले जनाएको छ। हालसम्म सबैभन्दा धेरै सगरमाथा हिमाल आरोहणका लागि ५६ देशका तीन सय १९ जना पर्यटकले अनुमति लिएका छन्। जसमा ५४ महिला र दुई सय ६५ पुरुष छन्।
ल्होत्से आरोहणका लागि ६१ जना र अन्नपूर्णका लागि ५४ जनाले अनुमति लिएका छन्। त्यस्तै अमाडब्लमका लागि ४९ जना, मकालुका लागि ४२ जना, कञ्चनजंघका लागि ४२ जना र धवलगिरीका लागि ३० जनाले अनुमति लिएका छन्। यी लगायत विभिन्न हिमाल चढ्नका लागि अनुमति लिइरहेका छन्।
हिमाल आरोहणको अनुमति लिएकाहरूबाट ५२ करोड ४२ लाख २० हजार सात सय ७० रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ।