मौसम खराबीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। उडान प्रभावित हुँदा पोखरा आउने र पोखराबाट अन्य गन्तव्यमा जाने यात्रु मर्कामा परेका छन्।
विमानस्थलका अनुसार गत शुक्रबारदेखि दुइटा उडान मात्र भएको थियो। शनिबार दिनभर एउटा पनि उडान हुन नसकेको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए।
आइतबार दिउँसोदेखि भने मौसममा केही सुधार आएको छ। आइतबार केही जहाजले काठमाडौं–पोखरा उडान भरेका छन्।
नयाँ विमानस्थल सञ्चालनमा आए पनि भिजिबिलिटी अभाव भएकाले उडान प्रभावित भएको गौतमले बताए।
उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रूल्सअनुसार सञ्चालन गर्दा पनि ३७ सय मिटर भिजिबिलिटी हुनुपर्छ। रातीको उडान भर्दा पनि त्यति नै भिजिबिलिटी पुग्नुपर्ने उनले बताए।
'इन्स्ट्रुमेन्ट फ्लाइट रूल्समा पनि भिजिबिलिटी चाहिन्छ। धेरैलाई थाहा नहोला, रातिमा पनि बत्ती त देख्नुपर्यो नि,' उनले भने, 'भिजुअल फ्लाइट रूल्समा ५ हजार मिटर परसम्म देखिनुपर्छ। इन्स्ट्रुमेन्ट फ्लाइट रूल्समा ३७ सय मिटरसम्म देख्नुपर्छ।'
मौसम खराब भएकाले पर्यटकीय सिजनमा हवाई मार्गबाट पोखरा आउने पर्यटकलाई पनि मर्का परेको छ।
हवाई यात्राबाट सबभन्दा धेरै यात्रु आउने सिजन यति बेला नै भएको विमानस्थलका अधिकृत देवराज सुवेदीले बताए।
उनका अनुसार यति बेला दैनिक तीन हजार पाँच सयदेखि चार हजार यात्रु पोखराबाट अन्य गन्तव्यमा आउजाउ गर्छन्। मौसम खराब हुँदा यत्तिका यात्रु पोखरा आउने र पोखराबाट अन्यत्र जान पाएका छैनन्।
यस्तै, मौसम खराबीकै कारण पोखराबाट जोमसोम उड्ने जहाज पनि ठप्प छ। मुक्तिनाथ जाने पर्यटकको संख्या धेरै भए पनि उडान हुन नसकेको सुवेदीले बताए। पोखराबाट जोमसोम जाने जहाज पुरानै विमानस्थलबाट सञ्चालित छ। पुरानो विमानस्थलबाट इन्स्ट्रुमेन्ट फ्लाइट रूल्सका आधारमा मात्र जहाजले उडान तथा अवतरण गर्छ।
आइतबार दिउँसोदेखि मौसममा केही सुधार आएकाले सोमबारदेखि नियमित उडान हुन सक्नेमा विमानस्थलका अधिकारीहरू आशावादी छन्।
'आज मौसम अलिकति खुलेको छ, भोलि नियमित उडान हुन सक्छ कि,' सुवेदीले भने।