भियतनामको राजधानी हनोईमा अन्तर्राष्ट्रिय ट्रावल मार्ट (भिआइटीएम २०२३) सम्पन्न भएको छ।
सन् २०२३ को अप्रिल १३ देखि १६ तारिखसम्म आयोजना गरिएको मार्टमा नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायीहरूको सहभागिता थियो।
चार दिने कार्यक्रम भियतनाम सोसाइटी अफ ट्राभल एजेन्ट्स (भिटा), राष्ट्रिय स्तरको पर्यटन संगठनले आयोजना गरेको हो। नेपाल स्टलमा आएका ट्रेड प्लस सार्वजनिक खरिदकर्ताहरूले नेपालको विभिन्न पर्यटकीय गन्तव्य, अध्यागमन नीति र एयरलाइन कनेक्टिभिटीका बारेमा जिज्ञाशा राखेका थिए।
धेरैजसो भियतनामीका लागि नेपाल नयाँ गन्तव्य भएकाले यस मेलामा नेपालको उपस्थितिले नेपालका पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी प्रवाह गरी नेपाललाई अझ प्रवर्द्धन गर्न मद्दत पुगेको मेलामा सहभागी नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणी खनालले जानकारी दिइन्।
भियतनामी युवाहरू नेपाललाई विशेष गरी पदयात्राका लागि साहसिक गन्तव्यको रूपमा जान्न उत्साहित रहको उनले बताए।
भियतनाममा आयोजना भएको यो मेलाबाट भविष्यमा भियतनामबाट आउने पर्यटक संख्या बढ्ने अपेक्षा गरिएको छ। मेलामा सहभागी सरोकोरवालाहरूले नेपाल र भियतनामबीचको हवाई सम्पर्कमा सुधार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्षले भियतनामी जनताबाट नेपालको बारेमा ठूलो मात्रामा सोधपुछ भएकोले नेपालमा थप पर्यटक पठाउन आग्रह गर्नु गरे।
साथै उनले नेपालको टुर प्याकेज बेच्ने भियतनामका ट्राभल एजेन्सीहरूसँग सम्भावित फ्याम ट्रिपका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी नेपालको उत्पादन र सुविधाहरूको बारेमा जान्न ट्रेड सेलर वा ट्राभल एजेन्सीले नेपाल भ्रमण गर्नुपर्ने बताए।
नेपाल स्टलमा आएका विभिन्न मिडिया हाउसहरू भियतनाममा प्रवर्द्धन गर्ने एनटिबीको आकांक्षा देखेर उत्साहित रहेको मिडिया हाउसले भियतनामको छापा, टिभी र सामाजिक सञ्जालमा पनि नेपालको प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न आग्रह गरे।