बुटवलको तिनाउ पुल तर्नेबित्तिकै पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फ एक सय मिटरमा छ ‘मणिमुकुन्द सेन उद्यान’। यो उद्यान यस क्षेत्रका पार्कमध्ये सबैभन्दा धेरै पर्यटकको रोजाइमा पर्दै आएको छ।
गत आर्थिक वर्ष आन्तरिक र बाह्य गरी कम्तीमा पाँच लाख पर्यटक यहाँ आएका थिए। पहाडको काखमा हरियाली जंगलको बीचमा रहेकोले यहाँ बुटवल बजारको तुलनामा दुई डिग्री सेल्सियससम्म कम तापक्रम हुन्छ। बोटबिरूवाको हरियाली र रंगीचंगी फूलका बाटिकाहरूले त्यहाँ पुग्ने सबैलाई आकर्षित गर्छन्।
सेन वंशीय पाल्पाली राजा मणिमुकुन्द सेनको नाममा रहेको यो उद्यान पिकनिक, विवाह, भेटघाट, सामाजिक संघसंंस्थाका विभिन्न कार्यक्रमको थलो बन्दै गएको छ।
उद्यान संरक्षण समितिका अध्यक्ष खेलप्रसाद लुइँटेलका अनुसार ‘फूलबारी’ नाम राखेर २०३६ सालमा स्थापित यो पार्कलाई २०५४ सालमा ‘मणिमुकुन्द सेन उद्यान’ नाम दिएर सञ्चालन र व्यवस्थापन गरिएको छ।
अहिले पनि ‘फूलबारी’ नाम नै प्रख्यात छ।
सुरूमा १५ बिघा क्षेत्रफलमा स्थापित पार्क अहिले २५ बिघामा फैलिएको छ। पार्कभित्र विभिन्न वाटिका, चिडियाखाना र बाल उद्यान छन्।
उद्यानमा मानवपुर्खा मानिने रामापिथेकसको अर्धकदको शालिक छ। सन् १९८० डिसेम्बरमा बुटवलनजिकै तिनाउ किनारको पहरामा रामापिथेकसको माथिल्लो बंगारा भेटिएको थियो। यो बंगारा एक करोड १० लाख वर्ष पुरानो मानिएको छ। यो बंगारा काठमाडौंको प्राकृतिक संग्रहालयमा राखिएको छ।
यसैगरी मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, उजिरसिंह थापा, यादवनाथ आलोक, लखन थापा, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरूङ लगायतका अर्धकदका शालिक राखेर ‘बुटवल स्मारक’ निर्माण गरिएको छ।
हरेक उमेर समूहका मानिसहरूलाई उत्तिकै आकर्षित गर्ने यो पार्कमा नवविवाहित जोडी र प्रेमीप्रेमिकाहरू पनि घुमफिरका लागि जान्छन्।
चलचित्र र गीतको भिडिओ छायांकनका लागि पनि मणिमुकुन्द उद्यान आकर्षक स्थल बनेको छ।
यहाँको चिडियाखानामा चितुवा, भालु, बाँदर, स्याल, वनबिरालो, सेतो मुसा, हरिण, नीलगाई, जरायो, मृग, अजिंगर, खरायो, सेतो बाँदर, कछुवालगायत जनावर छन्।
मयुर, सुगा, ढुकुरलगायत चराचुरूंगी पनि छन्।
बुटवल उपमहानगरपालिका-२, पुरानो बटौली क्षेत्रमा पर्ने मणिमुकुन्द सेन उद्यान पर्यटकीय स्थलमात्र नभई ऐतिहासिक र पुरातात्विक स्थलका रूपमा समेत परिचित छ।
उद्यानभित्र पन्ध्रौ| शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको शीतकालीन दरबारको भग्नावशेष पनि छ। यसै आधारमा उद्यानको नाम मणिमुकुन्द सेन राखिएको हो।
उद्यानको पश्चिमतर्फ कुनामा रहेको मणिमुकुन्द सेन दरबारको भग्नावशेष होचो पर्खालमाथि फलामको बार हालेर सुरक्षित राखिएको छ। सेन वंशका राजाहरूले रंगमहलका रूपमा प्रयोग गरेको यो दरबार इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजसँगको युद्धमा नेपाली सैनिकहरूले प्रयोग गरेको र त्यतिबेला नै भत्किएको भन्ने इतिहास छ।
दरबारको पूर्वतर्फको भित्ता अहिले पनि ठाडै छ।
भग्नावेशष संरक्षणको काम मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले गर्छ तर खुला आकाशमूनि चर्को घाम र वर्षाका कारण भित्ता भत्किने जोखिम छ।
समितिका अध्यक्ष लुइँटेलले भग्नावेशषको रेखदेख गरे पनि अन्य काम पुरातत्व विभागले गर्दै आएको बताए। गर्मी र वर्षाका कारण भित्ता भत्किन नदिन छानो लगाउन सकिने भए पनि पुरातत्व विभागको स्वीकृति आवश्यक पर्छ।
तत्कालीन पाल्पाली राजा रूद्र सेनका जेठा छोरा मुकुन्द सेनको जन्म विसं १५५३ सालमा भएको थियोे। उनी १५७५ सालमा पाल्पाका राजा भए।
पछि छोराहरूको सहयोगमा राज्यहरू एकीकरण गरे।
उनै मुकुन्द सेनले बुटवलमा शीतकालीन तथा पाल्पा र रूपन्देहीको सीमाक्षेत्र नुवाकोटमा गृष्मकालीन दरबार निर्माण गरी राज्य चलाएको भन्ने इतिहास छ। इतिहासअनुसार जाडो याममा बुटवल बस्ने मुकुन्द सेन गर्मी याममा नुवाकोट गढीमा बस्ने गर्थे। विसं १६१० मा देवघाटमा तपस्यामा लीन भई सिद्धि प्राप्ति गरेका मुकुन्द सेनलाई मानिसहरूले ‘मुनि मुकुन्द’ भन्न थाले।
इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार यिनै मुनि मुकुन्द कालान्तरमा मणिमुकुन्द सेन भए। पाल्पाली राज्य बलियो बनाएको श्रेय पाएका मणिमुकुन्दको निधन ६९ वर्षको उमेरमा १६२२ सालमा भयो।
तिनै मणिमुकुन्द सेनको दरबार रहेको क्षेत्रलाई उनकै नामबाट अहिले आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ।
व्यवस्थित रूपमा सञ्चालन भइरहेको आकर्षक यो उद्यान लुम्बिनी प्रदेशमा निकै महत्वपूर्ण मानिएको छ। मणिमुकुन्द सेनको इतिहास स्मरणीय राख्न उद्यानभित्र मणिमुकुन्दको पूर्ण कदको घोडसवार शालिक निर्माण गरिएको छ।
उद्यान संरक्षण समितिले चार लाख रुपैयाँ लागतमा केही वर्षअघि उक्त शालिक बनाएको हो। कलात्मक ढंगले निर्माण गरिएको शालिकले उद्यानको आकर्षण त बढाएकै छ, यहाँको ऐतिहासिक महत्व पनि उजागर गरेको छ।
उद्यान परिसरमा मणिमुकुन्द सेनकै पालामा निर्मित शिवमन्दिर रहेको छ। हाल उक्त मन्दिरको पुनर्निर्माण हुँदैछ। दरबारको भग्नावशेष नजिकै विष्णुपादुका रहेको छ।
विष्णुपादुका दर्शनका लागि प्रत्येक वर्ष वैशाख र जेठमा भारतको गुजरातबाट ठूलो संख्यामा तीर्थयात्रीहरू आउने गरेको समितिका अध्यक्ष लुइँटेलले बताए।
मणिमुकुन्द सेन उद्यानको लुकेको एउटा पक्ष पनि छ। त्यो हो यहाँको सुरूङमार्ग।
बुटवलबाट पश्चिमतर्फ आउँदै गर्दा तिनाउ पुल तर्ने सडकबाट दक्षिणतर्फ जितगढी किल्ला रहेको छ। यहाँबाट मणिमुकुन्द सेनको दरबारसम्म करिब ६ सय मिटर लामो सुरूङमार्ग छ भनिन्छ। जितगढीतर्फ सुरूङमार्गको प्रवेशद्वार उत्खनन् गरी अवलोकन गर्न मिल्ने बनाइएको भए पनि मणिमुकुन्द सेन उद्यानमा भने उत्खनन् गरिएको छैन।
उद्यानमा पार्क सम्मेलन हुँदै
पार्क तथा उद्यानहरूको व्यवस्थित र दिगो सञ्चालनका विषयमा मणिमुकुन्द सेन उद्यानमा पहिलो पटक ‘राष्ट्रिय पार्क सम्मेलन’ हुने भएको छ।
सम्मलेन आगामी जेठ ५ र ६ गते आयोजना गर्ने तयारी हुँदै छ। मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वनवाटिका मुख्य आयोजक छन्।
मणिमुकुन्द सेन उद्यानका अध्यक्ष लुइँटेलका अनुसार सम्मेलनमा देशभरबाट पार्क, उद्यान, फूलबारी, सिमसार, तालतलैया तथा वाटिकाहरूका व्यवस्थापन प्रतिनिधि सहभागी हुनेछन्।
सम्मेलनले आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य बनेका पार्क तथा उद्यानको विकास, प्रवर्द्धन र दीगो व्यवस्थापनका लागि ठोस योजना बनाउने छ।
‘नेपालमा अहिलेसम्म जति पनि पार्कहरू छन्, तिनीहरूको व्यवस्थित सञ्चालन तथा व्यवस्थापनको प्रक्रिया छैन,’ लुइँटेल भन्छन्,‘तालतलैया, सिमसार, कुवा, वाटिका, पार्क आदि व्यवस्थित सञ्चालन गर्न सके पर्यटकहरूको गन्तव्य बन्न सक्छन्।’
नेपालमा पार्कहरूको सञ्जाल नहुँदा पार्क र चिडियाखानासम्बन्धी कानूनसमेत बन्न नसकेको उनको भनाइ छ।
समुदाय, सामुदायिक संघसंस्था र स्थानीय तहहरूले आ-आफ्नै तरिकाले कतै दर्ता गरेर त कतै दर्ताबिनै पार्कहरू सञ्चालन गर्दै आएका छन्।
राष्ट्रियस्तरको सञ्जाल बनाउन सके पार्क तथा उद्यानहरूको प्रचारप्रसार गर्न, कानून बनाउन र सञ्चालन–व्यवस्थापनको अन्योल अन्त्य गर्न सकिने लुइँटेलको धारणा छ।
‘अहिलेसम्म सबैले आ-आफ्नै तरिकाले सञ्चालन गरिरहेका छौं। एकै प्रकारका पार्क, उद्यान, सिमसार र तालतलैयाको सञ्चालन एकै किसिमले हुनुपर्छ,’ उनी भन्छन्, ‘यसो भयो भने पर्यापर्यटन विकास गर्दै स्थानीय स्तरमा आयआर्जनको बलियो आधार बनाउन सकिन्छ।’
सम्मेलनमा पार्क तथा उद्यानहरूले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभाव, सञ्चालन चुनौती तथा अवसरहरूको विषयमा कार्यपत्रहरू प्रस्तुत हुने छन्।
सम्मेलनको खर्च स्थानीय तहहरू, प्रदेश र संघीय सरकारको सहयोगमा व्यवस्थापन गरिने लुइँटेलले बताए। खर्च करिब ३० लाख रुपैयाँ अनुमान छ।
उनका अनुसार सम्मलेनमा नेपालका सबैजसो पार्कका प्रतिनिधि आमन्त्रण गर्ने तयारी छ। नेपालमा अहिले कति पार्क छन् भन्ने प्रष्ट नभएकाले तथ्यांक संकलनको काम हुँदैछ।
सबै तस्बिरहरू : भगवती पाण्डे/सेतोपाटी