तनहुँको बन्दिपुर घुमघाम अब थप रमाइलो र साहसिक हुने भएको छ।
बन्दिपुर स्काइ-वाक एन्ड बन्जी जम्प कम्पनीले बन्दिपुर यात्रा थप रोचक बनाउन बरालथोकमा बन्जी जम्प र स्काइ-वाक (हिँड्न मिल्ने सिसाको पुल) निर्माण गर्ने भएको हो।
यो बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सहायक कम्पनी हो। लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माका अनुसार दुई सय ६८ मिटर उचाइमा हुने यो बन्जी जम्प नेपालकै सबभन्दा अग्लो हुनेछ। त्यस्तै यहाँको स्काइ-वाकको संरचना पनि अरू ठाउँको भन्दा अलग छ।
यो स्काइ-वाक अंग्रेजी वर्णमाला 'ए' आकारमा तयार हुँदैछ। दुईतिरबाट हिँडेर गोलो भागमा पुगेर त्यहाँबाट दृश्य अवलोकन गर्न सकिनेछ।
स्काइ-वाक र बन्जी जम्प आगामी नयाँ वर्षबाट निर्माण सुरू हुने शर्माले बताए।
'अहिले दुवै आयोजनाको डिपिआरको काम भइरहेको छ,' अध्यक्ष शर्माले भने, 'आगामी नयाँ वर्षबाट निर्माण सुरू गर्ने तयारी छ।'
दुवै आयोजनाका लागि एक अर्ब रूपैयाँभन्दा बढी लागत अनुमान छ। सिसाको पुल बनाउन अहिले चिनियाँ कम्पनीले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम गरिरहेको छ। डिपिआर तयारपछि निर्माणको काम सुरू हुनेछ। एक वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याउने कम्पनीको योजना छ।
बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले यहाँ केबलकार पनि बनाउँदैछ। केबलकारभन्दा माथिल्लो भागमा पाँचतारे होटल बन्दैछ। पाँचतारे होटलको सभाहल पछाडिको भिरमा स्काइ-वाक र बन्जी जम्प हुने अध्यक्ष शर्माले बताए।
उनका अनुसार यो सिसाको पुल दैनिक पाँच हजार जनाभन्दा धेरै हिँड्न सक्ने क्षमताको हुनेछ। यहाँ हिँड्न एकदेखि दुई हजार रूपैयाँसम्म शुल्क लिने योजना छ। यो शुल्कमा ६२ मिटर लामो स्काइ-वाकमा आधा घन्टा हिँड्न पाइनेछ।
जंगल र भिरको बाटोमा बन्ने सिसाको पुलमा हिँड्दा आकाशमै हिँडेजस्तो महशुस हुने उनी बताउँछन्।
'चारैतिर जंगल र भिरको बीचमा हुन्छ सिसाको पुल। यसमा हिँड्दा छुट्टै किसिमको आनन्द आउनेछ,' उनले भने, 'सिसाको पुलबाट आकाश नजिकै भएको महशुस गर्न सकिन्छ।'
स्काइ-वाक पुलमा बसेर विभिन्न हिमशृंखला सँगै घना जंगल पनि अवलोकन गर्न सकिनेछ। यस्तो सिसाको पुल उत्तरी छिमेकी चीन र रूसमा मात्र भएको शर्माको दाबी छ।
'ए' आकारमा हुने स्काइ-वाकको सबभन्दा माथि (टुप्पा) बाट बन्जी जम्प गर्न पाइनेछ। बन्जीको अलग्गै शुल्क लाग्नेछ। आधा मिनेटको यो बन्जी जम्प नेपालका लागि उदाहरणीय बन्ने शर्माको भनाइ छ। यो सिसाको पुलको तीन सय मिटर तल जंगल हुनेछ।
'सामान्यतया बन्जी जम्प कुनै नदी वा खोंचमाथि हुन्छन्। तर बन्दिपुरमा जंगलकै माथि खेल्न पाइनेछ,' उनले भने।
स्काइ-वाकको मजासँगै बन्जी जम्प गर्न मिल्ने सुविधा नेपालमै पहिलोपटक हुने उनले बताए। त्यस्तै यो बन्जी जम्प देशकै अग्लो उचाइमा हुनेछ।
'२६८ मिटर उचाइमा बन्ने बन्दिपुरको बन्जी जम्प विश्वको पनि दोस्रो अग्लो हुनेछ। अरू ठाउँको भन्दा फरक पनि हुनेछ,' उनले भने, 'यहाँ डाँडाबाट जंगलको माथि बन्जी हान्ने हो। सुरक्षाका मापदण्ड अपनाएर बन्जीकै प्रविधिअनुसार खेलाइनेछ।'
आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै बन्दिपुरमा साहसिक खेलहरू थपिरहेको शर्मा बताउँछन्।
यो कम्पनीले हाल बनाइरहेको केबलकार पनि अलग किसिमको छ। रेस्ट्रोकार नाम दिइएको यो केबलकारभित्रै बस्न, खाना र सुत्न मिल्छ। दिउँसो यात्रा गर्न मिल्ने र राती खान र सुत्न मिल्ने रेस्ट्रोकार आगामी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ।
'वैशाखबाट परीक्षणका लागि केबलकार सञ्चालनमा ल्याउँदैछौं,' उनले भने, 'जेठबाट व्यावसायिक रूपमा सञ्चालन हुनेछ।'
बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आइपिओ जारी गर्ने घोषणा पनि गरिसकेको छ। यसका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसक्यो।
पर्यटनमा नौलो स्वाद पस्किरहेको कम्पनीले केबलकार सञ्चालनपछि दोस्रो परियोजनाअन्तर्गत स्काइ-वाक र बन्जी जम्प थप्न लागेको हो। स्काइ-वाक र बन्जी जम्पमा बन्दिपुर केबलकारको ५१ प्रतिशत लगानी हुनेछ।
आठ हजारभन्दा बढी सेयर लगानीकर्ता रहेको कम्पनीले अनुसन्धान तथा विकास कमिटी पनि गठन गरेको छ। आगामी दिनमा बन्दिपुरमा थप नयाँ विशेषतासहितका साहसिक खेलहरू ल्याउने गरी अध्ययन भइरहेको अध्यक्ष शर्माले बताए।
'बन्दिपुरलाई एड्भेन्चर हबका रूपमा विकास गर्न लागि परेका छौं,' उनले भने, 'केबलकार लगभग सम्पन्न हुनै लागिसकेको छ। स्काइ-वाक र बन्जी जम्प निर्माण सुरू हुँदैछ। थप परियोजना पनि भित्र्याउने हाम्रो तयारी छ।'
केबलकारको माथिल्लो स्टेसनमा बन्ने पाँचतारे स्तरको होटल पनि विशेष छ। १७ तलाको यो होटललाई 'क्वीन टावर' नाम दिइएको छ। शर्माका अनुसार होटलको मुख्य विशेषता भनेको १७औं तलाबाट बन्दिपुर आसपास र काठमाडौं उपत्यका देखिनु हो। क्वीन टावरमा ८४ वटा कोठा हुनेछन्। केबलकार र होटलको लागत भने तीन अर्ब रूपैयाँ रहेको उनले बताए।
सबै तस्बिर सौजन्यः रामचन्द्र शर्मा