सरकारले पदयात्रा (ट्रेकिङ) व्यवस्थित बनाउन विदेशी पर्यटकलाई गाइड अनिवार्य लैजानुपर्ने व्यवस्था गरेको छ। पर्यटन बोर्डले आगामी चैत १७ देखि यो नियम लागू गर्दैछ।
यससँगै अब पर्यटन क्षेत्रमा ५० हजारभन्दा बढीले रोजगारी पाउने ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ।
कोभिडमा रोजगारी गुमाएका पर्यटन क्षेत्रका मजदुरका लागि यो व्यवस्थाले थप राहत ल्याएको व्यवसायीहरू बताउँछन्। विदेशी पर्यटकको साथमा गाइड अनिवार्य जानुपर्ने व्यवस्थाले सहयोगी पोर्टर (भारी बोक्ने) ले पनि काम पाउने टानको भनाइ छ।
टानका अनुसार कोभिडअघि समग्र पर्यटन उद्योगमा करिब १५ लाखले रोजगारी पाएका थिए। जसमा साढे तीन लाखभन्दा बढी ट्रेकिङ गाइड र सहयोगी थिए।
'यो व्यवस्था लागू भएपछि थप ५० हजारले रोजगारी पाउनेछन्,' टानका अध्यक्ष निलहरि बास्तोलाले भने।
हाल पर्यटकहरू दुई तरिकाले ट्रेकिङमा जान्छन्।
पहिलो, एक्लै। पर्यटक आफूले चाहेको गन्तव्यमा 'फ्रि इन्डिपेन्डेन्ट ट्राभल्स (एफआइटी)' का लागि जारी हुने बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सहयोगीबिनै पदयात्रामा जान पाउँछन्।
दोस्रो, समूहमा। ग्रुप इन्क्लुसिभ ट्राभल्स (जिआइटी) लागि जारी हुने कार्ड लिएर समूहमा जान सक्छन्।
अब एफआइटीका लागि जारी हुने टिम्स कार्ड बन्द भएको छ। त्यसैले एक्लै जान पाउँदैनन्। जिआइटी मार्फत नै प्रक्रिया पुर्याएर जानुपर्ने छ।
टानका अध्यक्ष बास्तोला एफआइटी कार्ड बन्द गरेसँगै ट्रेकिङ सुरक्षित र व्यवस्थित हुने बताउँछन्।
'विगतदेखिको घटना हेर्ने हो भने कम्पनीमार्फत गएका पर्यटक हराएका छैनन्। हराउनेमा एक्लै एफआइटी कार्ड लिएर जानेहरू नै छन्,' बास्तोलाले भने, 'यसरी पर्यटक हराउँदा विश्वमा नेपाल सुरक्षित छैन भन्ने सन्देश गइरहेको छ। त्यसकारण अब यो व्यवस्थाले ट्रेकिङलाई थप व्यवस्थित बनाउनेछ।'
पर्यटनका लागि अंग्रेजी महिनाअनुसार वर्षमा दुइटा सिजन हुन्छन्।
पहिलो मार्च, अप्रिल र मे।
दोस्रो सेप्टेम्बर, अक्टोबर नोभेम्बर र डिसेम्बर।
यी दुवै सिजनमा नेपाल आउने पर्यटक विशेष पदयात्रा र पवर्तारोहणमा रूचाउने टानका प्रथम उपाध्यक्ष प्रदिप पण्डित बताउँछन्।
यसमा सबभन्दा बढी रूचाइएका गन्तव्य सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ लगायत हुन्।
'विदेशी पर्यटकले हिमालय शृंखला हेर्न मन पराउँछन्। त्यसकारण पनि उही गन्तव्यमा हरेक वर्ष पदयात्रा र पवर्तारोहणमा जानेहरू थपिन्छन्,' उनले भने।
२०७२ को भुइँचालोपछि लाङटाङ रूटमा भने पर्यटक बढ्न नसकेको उनले बताए।
नेपाल घुम्न आउनेमध्ये २० प्रतिशत पर्यटक ट्रेकिङ जान्छन्। कोभिडअघि ट्रेकिङ जाने पर्यटक संख्या निकै राम्रो थियो। टानको तथ्यांक अनुसार सन् २०१८ मा करिब एक लाख ७९ हजार र २०१९ मा एक लाख ७२ हजार पर्यटकले पदयात्रा तथा पवर्तारोहण गरेका थिए।
कोभिडका कारण सन् २०२० यो संख्या घटेर ३५ हजार ८ सयमा झर्यो। त्यस्तै सन् २०२१ मा १५ हजार पाँच सय पर्यटक पदयात्रामा गएको प्रथम उपाध्यक्ष पण्डितले जानकारी दिए।
हाल पर्यटन क्षेत्र पूर्ण रूपले चलायमान हुन सकेको छैन। यद्यपि अघिल्ला दुई वर्षको तुलनामा पर्यटक आगमन केही उत्साहजनक छ। यसले आगामी दिनमा ट्रेकिङ जाने पर्यटक वृद्धि हुने पण्डित बताउँछन्।
'सिजन सुरू हुँदै गर्दा हाल पर्यटक आगमन राम्रै देखिएको छ। यो हिसाबले पनि आगामी महिनामा अझ धेरै पर्यटक भित्रिने र पुरानै लयमा फर्कने संकेत छ,' उनले सेतोपाटीसँग भने।
त्यस्तै लामो समयदेखि व्यवसायीहरूले उठाउँदै आएको विषय एफआइटी बन्द गर्ने सरकारको निर्णयले समग्र पर्यटन क्षेत्रलाई राहत पुग्ने उनको भनाइ छ।
टानको तथ्यांक अनुसार हाल मुलुकभर तीन हजारभन्दा बढी ट्रेकिङ एजेन्सी छन्। २० हजार बढी ट्रेकिङ गाइड छन्। यीमध्ये केही वैदेशिक रोजगारीका लागि यो क्षेत्रबाट पलायन भइसकेका छन्।
'विशेषगरी कोभिडको समयमा रोजगारी गुमाएका ट्रेकिङ गाइडहरू विदेश पलायन भइरहेको अवस्था छ। नयाँ व्यवस्थाले विदेश पसेकाहरू पनि फर्किने माहोल सिर्जना हुने विश्वास छ,' उपाध्यक्ष पण्डितले भने।
ट्रेकिङ गाइड तयार पार्न सरकार र निजी क्षेत्र दुवैले तालिम दिन्छन्। नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान, टान र नाथमसँगको सहकार्यमा वार्षिक रूपमा तालिम हुन्छ। यसमा महिला र पुरूषका लागि छुट्टाछुट्टै तालिम हुन्छ। तालिममा सहभागि भएले एक महिनाको कोर्ष लिनुपर्छ। विभिन्न गन्तव्यमा ट्रेकिङमा जानेदेखि पर्यटकलाई कसरी गाइड गराउने भन्नेसम्म सिकाइने नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका महासचिव छिरिङ जेम्बु शेर्पा बताउँछन्।
कोर्स पूरा भएपछि परीक्षा हुन्छ। उत्तीर्ण भएसँगै गाइडको लाइन्सेन्स पाउँछन्। लाइन्सेन्स पाएपछि उनीहरूले पर्यटकलाई विभिन्न गन्तव्यमा लैजाने अनुमति हुन्छ। यसरी हरेक वर्ष एक हजार गाइड उत्पादन भइरहेका छन्।
सामान्यतया एक सिजनमा एउटा ट्रेकिङ कम्पनीबाट बढीमा १५ वटा समूहसम्म ट्रेकिङमा जान्छन्। यस्तो समूहमा एक जना गाइड र दुई जना पर्यटकका लागि एक जना पोर्टर (भरिया) हुन्छन्। एक पोर्टरले २० किलोसम्मको झोला बोक्ने नियम छ। आफैं क्याम्प गर्न जानेहरूले धेरै सामग्री बोक्ने हुँदा कहिलेकाहीँ एउटै पर्यटकसँग दुई जना पोर्टर जानुपर्ने अवस्था हुन्छ। यस्तो अवस्थामा अझ बढीले रोजगारी पाउँछन्।
गाइड समेत रहेका शेर्पाले पछिल्लो समय युवापुस्ताको रोजाइमा ट्रेकिङ गाइड पेसा परेको र उपयुक्त समयमा सरकारले एफआइटी बन्द गराउँदा यसले समग्र उद्योगलाई लाभ हुने बताए।
'युवाहरू घुम्न र एड्भेन्चरमा रमाउन थालेका छन्। ट्रेकिङमा घुम्न, घुमाउन र राम्रो आम्दानी गर्न सकिने हुँदा युवाको आकर्षण बढेको छ,' उनले भने, 'यसले एकातिर युवालाई रोजगारीमा समेट्छ। अर्कातिर समग्र पर्यटन उद्योगलाई टेवा मिल्छ।'
पर्यटकको सुरक्षा, खोज र उद्धारका लागि एफआइटी टिम्स बन्द गर्न लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए। बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीका अनुमति पाएका निकायबाट कार्ड लिएर एक्लै भ्रमणमा जाँदा विगतमा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको उनको भनाइ छ।
'सहयाेगि बिना एक्लै ट्रेकिङए जाँदा वार्षिक दुईदेखि तीन सय पर्यटक हराउँथे। यसले गर्दा नेपालमा घुम्न जाँदा हराइने रहेछ भन्ने सन्देश विश्वभर पुगिरहेको छ,' उनले भने, 'सुरक्षित यात्राका लागि पनि अब कुनै कम्पनीबाट लाइन्सेन्स प्राप्त गाइड लिएर जाने व्यवस्था गरिएको हो।'
बोर्डको तथ्यांकअनुसार नेपालमा ट्रेकिङ गर्न आउने पर्यटकमध्ये ३० प्रतिशत सहयोगी बिना नै जानेहरू छन्।
'एफआइटीमा धेरै समस्या भएकाले यसलाई बन्द गरिने भएको हो। अब समूहमै गए पनि, एक्लै गए पनि ट्रेकिङ कम्पनीमार्फत गाडइ लिएर जानुपर्छ,' निर्देशक लामिछानेले भने, 'यो व्यवस्थाले यात्रा सुरक्षित हुनुका साथै राजस्व पनि वृद्धि हुन्छ।'
बोर्डले एफआइटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गरिनेछ। यसअघि समूहमा जानेले प्रतिव्यक्ति एक हजार रूपैयाँ र एकल जानेले प्रतिव्यक्ति २ हजार रूपैयाँ तिरेर टिम्स कार्ड पाउँथे। अब सबैले टिम्स कार्डका लागि प्रतिव्यक्ति २ हजार रूपैयाँ तिर्नुपर्नेछ।