गुण एयरलाइन्सले तत्काल आफ्ना जहाज बेच्न नपाउने भएको छ। वित्तीय अडिट कमजोर देखिएपछि नागरिक उड्डयन प्राधिकरणले गुणलाई जहाज बेच्न रोक लगाएको हो।
गुणका जेट-स्ट्रिम जहाजहरू एक महिनादेखि थन्किएका (ग्राउन्डेड) छन्। पहिले उडान गरिरहेका यी जहाज बेचेरै कारोबार सल्टाउने योजना एयरलाइन्सले बनाएको थियो। तर अब वित्तीय समस्या सुधार नगरेसम्म गुणले जहाज बेच्न नपाउने भएको हो।
प्राधिकरणले गरेको अडिटमा एयरलाइन्सले पाइलट, इञ्जिनियर सहितका कर्मचारीलाई तलब दिन, बोर्डिङ पास छपाइको भुक्तानी बाँकी रहेको लगायत उल्लेख छ।
'गुणको वित्तीय दायित्व धेरै बाँकी छ,' प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, 'सबै रकम चुक्ता भएपछि मात्र जेट-स्ट्रिम जहाज बेच्न र बिचक्राफ्ट सञ्चालन गर्न अनुमति दिइनेछ।'
आन्तरिकतर्फ विभिन्न गन्तव्यमा उडान गर्ने गुणका जहाज गत फागुन १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका छन्। गुणले पाइलट तथा अन्य कर्मचारीलाई नियमित तलब उपलब्ध नगराएको भन्दै प्राधिकरणले गुणका सबै उडान रोक्न निर्देशन दिएको थियो।
गुणले प्राधिकरणलाई नै चार करोड रूपैयाँ तिर्न बाँकी छ।
एयरलाइन्सले भने प्राधिकरणले थन्क्याउन भनेका आफ्ना दुइटा बिचक्राफ्ट खुला गरिदिए मात्र पनि भुक्तानी सहज हुने बताउँदै आएको छ।
प्राधिकरणबाट अडिट भएको कुरा भने एयरलाइन्सले अस्वीकार गरिरहेको छ। एयरलाइन्सले जहाज बेच्नुअघि बाँकी रहेको सबै भुक्तानी तिर्ने गुणका प्रवक्ता प्रज्वल थापाले बताए।
पछिल्ला केही महिनादेखि गुणले पाँच वटै जहाज बिक्रीका लागि प्रकिया अगाडि बढाएको थियो। यी जहाज किन्न विदेशी प्रतिनिधिहरू आइसकेको पनि प्रवक्ता थापा बताउँछन्।
'जहाज बेच्न हामीले विभिन्न चरणको छलफल गरिरहेका छौं,' उनले सेतोपाटीसँग भने, 'जहाज बिक्री हुनुअघि एयरलाइन्सले तिर्नुपर्ने रकम पनि चुक्ता गर्नेछ।'
गुणले बेच्न खोजेका यी पाँच वटा जेट-स्ट्रिम जहाज २०७८ सालमा यती एयरलाइन्ससँग किनेको हो।
सोही वर्ष असोजबाट पाँचवटै जहाजमार्फत गुणले विभिन्न गन्तव्यमा उडान सुरू गरेको हो। केही समय उडाएपछि यी जहाज बिक्री गर्ने र ठूला जहाज भित्र्याउने योजना कम्पनीले बनाएको थियो। सोही योजनाअनुसार पाँच महिनादेखि जहाज बिक्रीको तयारी गरिरहेको छ।
यी जहाज गुणले करिब डेढ वर्ष उडायो। एयरलाइन्सका प्रवक्ता थापा अब अझ बढी सिट भएका जहाज ल्याएर थप गुणस्तरीय सेवा दिने उद्देश्यले जेट-स्ट्रिम बिक्री गर्न लागेको बताउँछन्।
पहिलो चरणमा सन् २०२३ भित्रै दुई वटा नयाँ जहाज ल्याउने कम्पनीको योजना छ। त्यसको केही समयमा अर्को थप्ने प्रवक्ता थापा बताउँछन्। गुणले हाल कुन जहाज किन्ने भन्ने निश्चित गरेको छैन। एटिआर, बम्बार्डियर वा एम्ब्रेअर वा अन्य जहाज निर्माता कम्पनीका मध्यम आकारका, ५० देखि ७० सिट क्षमताका जहाज किन्ने योजना रहेको प्रवक्ता थापाले बताए।
जेट-स्ट्रिमका पाँच जहाजले यसअघि दैनिक २२ वटा उडान गर्थे। पोखरा, भरतपुर, नेपालगन्ज, भैरहवा, जनकपुर, सिमरा, विराटनगर, तुम्लिङटार र म्याउन्टेन फ्लाइट हुन्थ्यो। यसमा पनि सबभन्दा बढी उडान काठमाडौं-पोखरामा हुने गरेको थियो।
यी गन्तव्यमा गुणका जेट-स्ट्रिमसँगै बिचक्राफ्टले पनि नियमित उडान गर्थे। हाल गुणसँग १८ सिट क्षमताका दुइटा बिचक्राफ्ट छन्। २०६५ सालबाट कम्पनीले यी दुई जहाजमार्फत उडान सुरू गरेको थियो। यी बिचक्राफ्ट गुणले बुद्ध एयरसँग किनेको हो।