चीन सरकारले आफ्ना नागरिक (चिनियाँ पर्यटक) घुम्न जाने देशहरूको सूचीमा नेपाललाई राखेको छ।
चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले गत शुक्रबार आफ्ना नागरिकहरू घुम्न जाने देशहरूको सूचीमा नेपाललाई समावेश गरेको हो।
यससँगै आगामी बधुबार (मार्च १५ तारिख) बाट चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्न सक्ने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले सूचनामार्फत बताएको छ।
सूचनाअनुसार कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित अब पर्यटन एजेन्सीहरूले होटल, हवाइ टिकट लगायत व्यवस्थापन गर्न सक्ने छन्।
यो सँगै अब नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने पर्यटन बोर्डले जनाएको छ। पर्यटकीय सिजन सुरू हुँदै गर्दा चीनले दिएको सकारात्मक सन्देशले नेपालमा पर्यटक बढाउन सघाउ पुग्ने बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्।
'कोरोनाका कारण बन्द रहेको चीनले आफ्ना नागरिकलाई बाहिरी मुलुक घुम्न जान खुला गरिसकेको छ,' उनले भने, 'अब नेपालमा चिनियाँ पर्यटक आगमन बढ्छ।'
निर्देशक लामिछानेका अनुसार यसअघि चीनले भ्रमण गर्नुपर्ने बीस देशको सूचीमा नेपाललाई राखेको थिएन। बोर्ड र मन्त्रालय समेतको सहकार्यमा सरकारी तहबाटै चीनसँग अनुरोध गरेपछि यसपालि राखेको हो।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरै भारत र चीनकै हुन्। कोरोनाअघि चीनबाट हरेक वर्ष एक लाख हाराहारी पर्यटक नेपाल आउँथे। सन् २०१९ मा मात्र एक लाख ६९ हजार चिनियाँ पर्यटक आएका थिए।
कोभिडका बेला चीनले गरेको कडाइ लामो समयसम्म रहेपछि नेपाल आउने चिनियाँ पर्यटक एकदमै कम थिए। हाल चीनबाट मासिक दुईदेखि तीन हजार जना पर्यटक मात्र नेपाल घुम्न आइरहेका छन्।
'यो दुई/तीन हजार भनेको चीन सरकारले खुला नगर्दा पनि व्यक्तिगत रूपमा पर्यटक हुन्,' निर्देशक लामिछानेले भने, 'अब सरकारले नै नेपाल खुला छ भनेर गन्तव्यमा थपिसकेपछि उनीहरू समूह नै बनाएर घुम्न आउने छन्। यसले हामीलाई सहज बनाउँछ।'
चीनको यो निर्णयले पर्यटन व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ।
कोभिडपछि भारत र बंगलादेशबाट पर्यटक आगमन बढ्दै गएको थियो। अब चीनले पनि खुलाएपछि तीन वर्षदेखि घुम्न नपाएका त्यहाँका नागरिक बाहिर निस्कने र नेपाल उत्तम गन्तव्य हुने नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा) का अध्यक्ष रमेश थापा बताउँछन्।
पर्यटक प्रवर्द्धन र वृद्धिका लागि सबभन्दा ठूलो भूमिका यातायात सुविधा हो। अहिले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको भाडा दर उच्च छ। कोरोनाकै कारण धेरै एयरलाइन्स अझै उडानमा आएका छैनन्। अब भने चीनले पनि कोरोनाले रोकिएका सबै उडान पुन: सञ्चलानमा ल्याउँदैछ। चिनियाँ एयरलाइन्सको उडान नियमित भएसँगै भाडा कम हुने उनले बताए।
'अहिले उडानमा माग धेरै र आपूर्ति कम छ। उडान संख्याले माग धानेपछि भाडा घट्छ। यात्रुले सस्तोमा यात्रा गर्न पाएपछि चीनसँगै यी मुलुक हुँदै आउने पर्यटक बढ्नेछन्,' थापाले भने, 'पर्यटन उद्योग विस्तारै पुरानै लयमा फर्किँदैछ। यो हामी सबैका लागि खुसीको कुरा हो।'
कोरोनाले रोकिएको चीन-नेपाल पर्यटक यात्रा खुल्दा ट्रेकिङ व्यवसाय पनि बढ्ने ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ।
आगामी पर्यटकीय सिजनमा चिनियाँ पर्यटक आउन थाल्ने र यसले समग्र पर्यटनमा सकारात्मक प्रभाव पर्ने टानका प्रथम उपाध्यक्ष प्रदिप पण्डितले बताए।
अल्पाइन कैलाश ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका पण्डितका अनुसार छिट्टै नेपालबाट रसुवागढीको केरुङ नाका र हुम्लाको हिल्सा नाका हुँदै कैलाश मानसरोवर यात्रा खुल्ने छ। यसले पनि पर्यटन व्यवसायीहरूमा उत्साह छाएको उनले बताए।
'तीन वर्षदेखि बन्द कैलाश मानसरोवर यात्रा फेरि खुल्ने अन्तिम तयारी भएको छ,' पण्डितले भने, 'यसले पनि आगामी दिनमा पर्यटक बढाउने छ।'
कैलाश मानसरोवर यात्रा हरेक वर्ष मेदेखि सेप्टेम्बरसम्म चल्छ। यो भनेको समग्र पर्यटनको अफ-सिजन हो। यही बेला भारतीय तथा तेस्रो मुलुकका पर्यटक नेपालको बाटो हुँदै मानसरोवर जाने हुँदा पर्यटन व्यवसायमा आश्रितहरूले ठूलो राहत महसुस गर्ने गरेका छन्। टानको तथ्यांक अनुसार हरेक वर्ष ३० हजारभन्दा धेरै पर्यटकले मानसरोवर यात्रा गर्छन्।
चिनियाँ पर्यटक आकर्षित गर्न र उनीहरूका लागि यहाँ सहज वातावरण बनाउन पनि पहल भइरहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।
उनका अनुसार अहिले दुईदेखि तीन हजार जनासम्म गाइडहरूलाई चिनियाँ पर्यटक लक्षित गरेर तयार गरिएको छ। चिनियाँ भाषा र जीवन शैलीबारे गाइडहरूलाई राम्ररी जानकारी दिइएको छ। त्यस्तै दुई-तीन सय वटा होटलहरू चिनियाँकै लागि लक्षित गरिएको छ। यसले गर्दा चिनियाँ पर्यटकहरूलाई नेपाल घुम्न सहज बनाउने र आकर्षण बढाउने बोर्डको विश्वास छ।
चीनमा नेपालबारे बुझाउन ट्राभल मार्ट (घुम्ती पसल) सञ्चालन गर्ने पनि योजना छ। यस्ता पसलमा नेपाली वस्तु तथा सामग्रीहरू राखिनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चीनका विभिन्न सहरबाट नेपाललाई सिधा हवाईमार्फत जोड्न पनि पहल भइरहेको छ। मन्त्री सुदन किरातीले गत शुक्रबार नेपालका लागि चीनका राजदूतसँग भेट गरेका थिए। चीनका विभिन्न सहरबाट सिधा हवाइ उडान खोल्ने र चीनले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा राखेको विषयमा छलफल भएको मन्त्री किरातीले बताए।
कोरोनापछि चिनियाँ वायुसेवा एयर चाइना, क्याथे प्यासिफिक, चाइना इस्टर्न, चाइना साउदर्नले नेपालमा नियमित उडान थालिसकेका छन्। त्यस्तै सिचुवान एयरलाइन्सले पनि आगामी चैत ६ गतेबाट सातामा चार उडान गर्दैछ।