संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयको जिम्मेवारी सम्हालेको डेढ महिना भयो। पर्यटन क्षेत्रमा गर्नुपर्ने उल्लेख्य काम थाती छन्।
सन् २०१३ देखि नेपाललाई युरोपियन युनियन (इयू) ले उडानमा प्रतिबन्ध लगाइरहेको छ। अर्कोतर्फ हालै सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोचेअनुरूप उडान हुन सकेको छैन। वार्षिक दस लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनामा यी समस्या पनि बाधक बनिरहेका छन्।
यिनै सन्दर्भमा समग्र पर्यटन क्षेत्रमा देखिएका समस्या र समाधानबारे सेतोपाटी संवाददाता सविना कार्कीले पर्यटनमन्त्री किरातीलाई सोधेका १० प्रश्नको जवाफको सम्पादित अंश यहाँ प्रस्तुत छ-
१. पर्यटन क्षेत्र कसरी माथि उठाउने सोच्नुभएको छ?
कोभिडले वास्तवमै पर्यटन क्षेत्र धराशायी बनायो। अहिले केही सुधारोन्मुख छ। तर जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन। यसका लागि पर्यटनसँग सम्बन्धित सबै निकायसँग छलफल गरेर सुधारका लागि सल्लाह लिइरहेको छु। मुलुकको पर्यटन प्रवर्द्धन गर्न विश्वव्यापी रूपमा प्रचारप्रचारका लागि पर्यटन बोर्डलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिइसकेको छु।
हाम्रो नीति आर्थिक विकासका लागि पर्यटक भित्र्याउनुपर्छ भन्ने नै हो। पर्यटक आगमन पुरानो अवस्थामा पुर्याउन पहल गर्नुपर्नेछ। यसमा बोर्डको ठूलो भूमिका रहन्छ। हामी हातोमालो गर्दै अघि बढ्ने छौं।
२. पर्यटकीय गन्तव्यहरूको निर्माण र त्यसको अन्तर्राष्ट्रिय ब्रान्डिङबारे कुनै योजना बनाउनुभएको छ?
अहिले मुलुकभरका पर्यटकीय गन्तव्यहरूको पुनर्समीक्षा गरिरहेका छौं। आगामी दिनमा नयाँ कार्यक्रमहरू घोषणा हुनेछ। विगतमा बिनातयारी नयाँ गन्तव्य घोषणा गरिन्थ्यो। पूर्वाधार विकास गर्नै समय लाग्थ्यो। अब तयारी पूरा गरेर मात्र गन्तव्यहरू घोषणा हुनेछन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रा प्रमुख पर्यटकीय गन्तव्यहरू; पोखरा, लुम्बिनी, पशुपतिनाथ लगायत ब्रान्डिङ भइसकेका छन्। अब हामीले नयाँ गन्तव्यलाई ब्रान्डिङ गर्न जरूरी छ। धेरै ठाउँहरू अझै प्रवर्द्धन गर्न बाँकी छ। यसका लागि अब व्यक्तिगत प्रचारप्रसार होइन, प्रविधिमार्फत जानुपर्छ।
अहिले सम्बन्धित निकायहरूसँग मोबाइल एप बनाउने कुराकानी भइरहेको छ। एप सञ्चालनमा ल्याइयो भने मोबाइलबाटै गन्तव्यबारे जानकारी लिन सकिन्छ। काठमाडौं आएपछि कुन कुन गन्तव्य घुम्ने र त्यसका विशेषता के हुन्, नेपालभरका गन्तव्य क्षेत्र कहाँ कहाँ छन् भनेर एपबाटै हेर्न मिल्छ। यसरी सहज तरिकाले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्ने छ।
पर्यटकको सुरक्षाका लागि अनलाइन ट्र्याकिङ सिस्टम सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं। हामी कहाँ 'फेक रेस्क्यु' को ठूलो समस्या छ। आरोहणमा लैजाने र जबरजस्ती बिरामी बनाउने र उद्धारका नाममा लाखौं रकम खाइरहेका घटना पनि सुनिरहेको छु। यसको निरूत्साहनका लागि जिपिएस ट्र्याकिङ सिस्टम सञ्चालन गर्नुपर्छ। यसले पर्यटकको आरोहण यात्रा सहज बनाउँछ भन्ने विश्वास छ।
नेपालको पर्यटन क्षेत्र विकास गर्न यहाँको पर्यटनको सिद्धान्तमै नेपालीपन हुनुपर्छ। विदेशको नक्कल गरेर पर्यटन क्षेत्र विकास हुँदैन। प्रकृति र मानव सम्पदाबीच समायोजन हुनुपर्छ। हाम्रा संस्कृतिलाई प्रकृतिमा मिसाउनुपर्छ। यसका लागि पहिले सरकारले आन्तरिक गृहकार्य गर्नेछ। नीति निर्माणका कुरामा मन्त्रालयले भूमिका निर्वाह गर्नेछ। त्यसको ब्रान्डिङ र प्रवर्द्धनका कुरामा बोर्ड, विभाग लाग्नुपर्छ। यसका साथै सम्बन्धित निकायले आआफ्नो ठाउँमा भूमिका खेल्ने छन्।
'नेपाल घुम्न जाऔं' भन्ने नारा लिएर अघि बढ्नुपर्छ। यो यात्रामा सबैले जोखिम मोल्नुपर्छ र सँगै हिँड्नुपर्छ। कुनै ककपिटमा बसेर एक जना पाइलटले जहाज उडाएजस्तो होइन।
३. हाम्रो प्राथमिकता धेरै पर्यटक भित्र्याउने कि गुणस्तरीय (धेरै खर्च गर्ने) पर्यटक खोज्ने? बसाइ अवधि कसरी लम्ब्याउन सकिन्छ?
हालको अवस्था हेर्दा हाम्रो प्राथमिकता पर्यटक बढी भित्र्याउनेतिर हो। कोरोनापछि नेपाल घुम्न आउने विदेशी पर्यटक कम छन्। त्यस कारण विश्वमा प्रचारप्रसार पहिलो प्राथमिकता हो। त्यसपछि बिस्तारै गुणस्तरीय पर्यटक (धेरै खर्च गर्ने) तिर ध्यान दिनुपर्छ।
नेपाल घुम्न आएका पर्यटकलाई कति दिनसम्म राख्न सकिन्छ भन्नेबारे 'सर्किट' बनाउनुपर्छ। गन्तव्य क्षेत्रहरू पनि सर्किटका रूपमा तय गर्नुपर्छ। पर्यटकीय गन्तव्यमा थप पूर्वाधार विकास गर्यौं भने स्वत: बसाइ अवधि लम्बिन्छ। अहिले पर्यटक नेपाल आउने, हिमाल चढ्ने र फर्किने मात्र भइरहेको छ। पर्यटकलाई आनन्द महशुस गराएर अलमलाउने ठाउँ हुनुपर्छ। यस्ता संरचना निर्माण गर्नुपर्छ।
४. पर्यटनको प्राथमिकता प्राप्त बजारहरूको खोजी (युरोप, अमेरिका, चीन, भारत) र त्यहाँ प्रचारप्रसार कसरी गर्ने?
यी मुलुकहरूबाट पर्यटक बढाउन बोर्डलाई कार्यक्रम बनाउन निर्देशन दिएको छु। प्रचारप्रसारको काम भनेको बोर्डले नै गर्ने हो। हामीसँग पर्याप्त कर्मचारी छन्। बजेट छ, प्रविधि छ। अनि काम नगरेर हुन्छ?
तत्कालका लागि केही गन्तव्यको टिकटक प्रतिस्पर्धा गर्न सकिन्छ। टिकटक अहिले कुनै पनि कुराले चर्चा पाउने र धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जाल हो। त्यसमा भिडिओहरू राखे ती ठाउँ विश्वले हेर्छन्। त्यसैले अब नयाँ आइडियाले हाम्रा गन्तव्य प्रवर्द्धन गर्नुपर्छ जसले संसारभरका मानिसलाई एकपटक यो ठाउँ पुगौं भन्ने होस्। यसैका लागि मैले बोर्डका सिइओसँग भेटेर कुरा राखेको छु।
हामीले पर्यटकलाई आकर्षक हस्पिटालिटी पनि दिन सकेका छैनौं। आकर्षक गन्तव्य क्षेत्र हो भन्ने विश्वास दिलाउन सकेका छैनौं। यसका लागि सरकार र निजी क्षेत्र दुवैले हातोमालो गर्दै अघि बढ्ने हो। सबै क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्ने हो भने पर्यटक भित्र्याउन अप्ठ्यारो छैन।
५. सहज, सुलभ र सुरक्षित हवाई यात्राको सुनिश्चितता कसरी गर्ने? हवाई दुर्घटनाहरूले पर्यटन क्षेत्रमा प्रभाव पारेको छ नि?
मन्त्रालयको कुर्सीमा बसेको पहिलो दिनदेखि नै कडा निर्देशन दिइरहेको छु। हवाई क्षेत्रमा देखिएको असुरक्षित यात्रा मसँगै यो देश र जनतालाई सह्य हुने छैन। त्यसैले सुरक्षामा कुनै सम्झौता गरिएको छैन। थुप्रै कुराहरू बोलिसकेको पनि छु।
जहाज उडाइसकेपछि निश्चित समयमा फेर्नुपर्ने पार्टपुर्जाहरू फेरिनुपर्छ। फेर्नुपर्ने समयमा नफेर्ने र अर्को दुई/तीन उडान गरेर फेरौंला भन्ने खालका फितला कुरा पनि हुन्छन् रे भन्ने मैले यदाकदा सुनिरहेको छु। खबरदार, यस्तो सुन्नु नपरोस् भनेर मैले बारम्बार भन्दै आइरहेको छु। जनताको जीवन र देशको इज्जतमाथि कसैले खेलवाड गर्न पाउँदैन। हवाई सुरक्षा कडाइका साथ हुनुपर्छ। हवाई सुरक्षालाई ध्यान दिँदै अन्य सरोकारवाला पक्षका कुराहरू सुनिरहेका छौं। यसका लागि नेपाल हवाई सेवा प्राधिकरण विधेयक संशोधन मस्यौदा तयार भइसकेको छ।
६. इयूको कालोसूचीबाट कसरी हट्छ नेपाल?
सबभन्दा पहिले हामीले हवाई सुरक्षामा सम्पूर्ण रूपले ध्यान दिनुपर्छ। अन्य मुलुकमा सेवा प्रदायक र सुरक्षा निकाय छुट्टाछुट्टै हुन्छन्। युरोपेली युनियनले पनि नेपाललाई सेवा प्रदायक र नियामक निकाय छुट्टै बनाउन पहिलेदेखि नै प्रस्ताव गरिरहेको छ। यसलाई छुट्याउँदा सुरक्षामा बढी ध्यान पुग्छ भने किन नगर्ने त?
देश र राष्ट्रको हित र हवाई सुरक्षाका लागि अब प्राधिकरण टुक्रिन्छ। यसमा प्रधानमन्त्रीले पनि ध्यान दिनुभएको छ। प्राधिकरण टुक्राएपछि हाम्रो आकास राम्रो र सफा हुन्छ। युरोपेली मुलुकमा सिधा उडान हुन्छ भने हामीले चाहिँ हलो अड्काएर गोरू कुटिरहनुपर्छ र? पर्दैन।
७. राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुधारका योजना के छन्?
वायुसेवा निगमको सुधारका लागि धेरै कुरा भनिसकेको छु। केही आंशिक सुधार देखिएका छन्। सामान्य सुधार भए पनि निगमभित्र थुप्रै बेथिति छन्। त्यसलाई मिल्काउन हर प्रयास गर्नेछु। वर्षौंदेखि सडेगलेको चिज मिलाउन समय पक्कै लाग्छ। छिट्टोभन्दा छिट्टो निगमको सुधार देखिनुपर्छ। सम्पूर्ण विकल्पका लागि म खुला छु।
तर त्यो आम जनताको हितमा हुनुपर्छ। कर्मचारी सारेर बहादुरी प्रदर्शनी गर्नु छैन। पुराना परम्परालाई निरन्तरता दिन चाहन्नँ। मन्त्री आउनसाथ करोडौं पैसा बुझाउनुपर्छ भन्ने धेरैतिर सुन्दै आएको छु। मलाई पैसाले जन्माएको होइन। आमाले जन्माउनुभएको हो, देशले जन्माएको हो। देशप्रति बफादार हुन्छु। कुनै तनाव नलिई काम गर्न सबैले अनुरोध गर्छु। मलाई पैसा होइन परिणाम चाहिन्छ।
तर अहिले परिणाम खोजिहाल्ने समय भएको छैन। पर्यटनमन्त्री भएर पदभार ग्रहण गरेको डेढ महिना भयो। निगमलाई पटकपटक भनिसकेको छु, सय दिनपछि मलाई सह्य हुँदैन। सय दिनमा केही पनि परिणाम आएन भने गियर थप्छु।
८. निगमको सम्पत्ति र दायित्व (ऋण) बराबर हुने अवस्था आइसक्यो। केही वर्षपछि लिलाम गर्नुपर्ने हुन सक्छ भन्छन्। कम्पनी मोडलमा लगेर आइपिओ निकाल्ने, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको ऋणमध्ये केहीलाई लगानीमा रूपान्तरण गर्ने र निगमलाई नयाँ ढंगले चलाउने विकल्पबारे पनि बहस भइरहेका छन्। तपाईं के सोचिरहनुभएको छ?
बहसहरू विभिन्न ढंगले हुँदै होलान्। भए पनि। म पनि त्यो बहसमा कहीँकतै समावेश थिएँ होला। तर अहिले यो विषयमा चुपचाप बस्छु र सय दिन कुर्छु। मैले अघि पनि भनिसकेँ, जनताले बुझ्ने तरिकाले त्यसको परिणाम आएन भने देश र जनताको हितका लागि गियर थप्छु। यो विषयमा एक्लै मनोमानी गर्दिनँ। देश र जनतालाई सोधेर के गर्नुपर्छ त्यही गर्छु।
कुनै समय निगमको कर्मचारी भन्नासाथ कति इज्जत हुन्थ्यो! निगमका जहाज आकासमा उड्दा मेरा बाले हातको घडी मिलाउँथे, त्यति समयमा थियो। त्यो बेला पनि निगम मान्छेले नै चलाएका थिए, अहिले पनि मान्छले नै चलाउँछन्। खराबी केमा भयो त? यसबारे बुझ्न म सय दिनसम्म कुर्छु। जिम्मेवार तहमा बस्नेहरू आधारभूत रूपमा इमानदार भयौं भने देश अघि बढ्ने रहेछ भन्ने आत्मविश्वास छ।
९. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको माग नधान्ने अवस्था छ। भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउँछन्? यसका लागि के छन् आगामी योजना?
आन्तरिक गृहकार्य गम्भीर रूपमा चलिरहेको छ। बाहिरी रूपमा पनि कूटनीतिक पहलहरू भइरहेका छन्। तत्काल अनुभूति गर्ने गरी प्रगति भएको छैन। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएको छ। यो दुःखको कुरा हो। म आउनुभन्दा अघि बनेको विमानस्थल हो। विमानस्थल बनाइसकेपछि चलाउनैपर्छ। राज्यको अर्बौं रूपैयाँ खर्च गरेर घाम तपाएर राखेर जनताको सम्पत्ति सुकाउन पाइँदैन।
पोखरा विमानस्थलको हकमा पनि तत्काल देखिने सुधार केही भएको छैन। यो सञ्चालनमा आएको पनि धेरै भएको छैन। यो विमानस्थलबाट पनि विभिन्न मुलुकमा सिधा उडानका लागि कूटनीतिक पहल भइरहेको छ। हामीले आन्तरिक गृहकार्य पनि गरिरहेकै छौं। यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि कोरिया, भियतनाम लगायत केही मुलुकसँग कुरा भइरहेको छ। पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्न सक्छ।
१०. निजगढ विमानस्थलबारे के भइरहेको छ?
यो निकै अघिदेखि चलेको कुरा हो। म आउनुभन्दा अघि नै दुई/चार पाइला हिँडिसकेको छ। अब पनि अघि बढ्छ। ठूला आयोजनाहरू देशका निम्ति आवश्यक छन्। यसले समाजको आर्थिक विकासमा एउटा ठूलो हलचल ल्याउँछ। यस्ता 'गेमचेन्जर' आयोजनाहरू हामीलाई चाहिन्छ। आजको दिनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कहिलेबाट कसरी र कुन मोडलमा हुन्छ भन्न सक्ने अवस्था छैन। तर राष्ट्रिय आवश्यकता, सरोकारवाला पक्षको भावना, जनता र देशको हितमा ठहरिन्छ भने आवश्यकताअनुसार अघि बढ्नेछ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी