बागमती बगरमा बनाइएको 'बागमती फिसरी पन्ड' (भरत ताल) मा पर्यटकहरूको चहलपहल बाक्लिन थालेको छ। सर्लाही जिल्लाको बागमती नगरपालिकामा पर्ने ताल कृत्रिम हो।
मेयर भरत थापाका अनुसार एक वर्षमा आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक ताल अवलोकनका लागि पुग्न थालेका छन्।
'पानी जम्नेबित्तिकै दैनिक पाँच सय आउने अनुमान गरिएको थियो। तर निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो। सोचेभन्दा धेरै पर्यटकहरू आउन थाल्नुभएको छ,' मेयर थापाले सेतोपाटीसँग भने।
सुरूमा नगरपालिकाले सर्लाही र रौतहटको मात्रै जनसंख्या सोचेर वार्षिक १६ लाख पर्यटक लक्षित गरेको थियो। त्यति मात्र आउँदा पनि यो आयोजना सफल हुन्छ भन्ने विश्वास थियो। भारतको बिहार क्षेत्रबाट पनि सोचेभन्दा ठूलो संख्यामा पर्यटक आउन थालेको थापाको भनाइ छ।
अहिले यो ताल निर्माणाधीन अवस्थामै छ। १४०० मिटर लम्बाइको यो तालको हालसम्म ७०० मिटरमा पानी जम्मा भएको छ। बाँकी ७०० मिटरमा पनि पानी जमाउने योजना छ। थापाका अनुसार तालमा अहिले करिब १८ लाख घनमिटर पानी जम्मा भएको छ।
सोली आकारमा बनाइएको तालको बीच भागमा ७० फिट गहिरो छ। वरपर बाटोसहित एक सय एक विघा जग्गामा ताल हुनेछ।
'यहाँ मिनी क्यासिनो सहितको सुविधा सम्पन्न होटल बनाउन थालिएको छ। होटल बनिसकेपछि बाँकी जमिनमा पानी भरिन्छ,' थापाले भने।
ताल र वरपर गरी भने लगभग अढाई सय बिघा जग्गा छ। वरपरको जग्गालाई पनि सौन्दर्यीकरण गरेर धार्मिक तथा पर्यटकीय स्थल विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ। अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई सही ढंगले व्यवस्थापन गर्न नसकिरहेको थापा बताउँछन्।
'उहाँहरूले खल्तीमा ल्याएको पैसाको १० प्रतिशत पनि खाली गर्न सकेका छैनौं,' उनले भने।
आन्तरिक तथा बाह्य पर्यटकलाई कम्तीमा दुई दिन अड्याउने गरी ताल वरपर सौन्दर्यीकरण गरिने उनको भनाइ छ।
ताल नजिकै जंगल सफारी सहितको चिडियाखानाको डिपिआर बन्दैछ। तालको बीचमा मिनी क्यासिनो सहितको आधुनिक होटल बन्दैछ। उत्तरतर्फ सुमेरू पर्वतको आकृति बनाउने तयारी छ।
'नेपालमा प्राकृतिक सुमेरू पर्वत छ। त्यस्तै कृत्रिम सुमेरू पर्वत बनाउने हाम्रो योजना हो,' थापाले भने।
त्यस्तै महादेव र पार्वतीको मूर्तिसहित छुट्टै धाम निर्माण गर्ने पनि तयारी छ। त्यहाँ पुग्ने धेरैजसो पर्यटक हिन्दु धर्मावलम्बी भएका कारण पनि आकर्षण बढ्ने विश्वास नगरपालिकाले राखेको छ।
'पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई पनि उत्तिकै महत्वका रूपमा हिन्दुहरूले लिने गरेका छन्। पशुपति पुग्न नसक्नेहरू यहीँ आउँदा पशुपति पुगेको महशुस हुने गरी हामी सम्पदा विकास गर्दैछौं,' उनले भने।
थापाका अनुसार तालका देखिनेभन्दा नदेखिने फाइदा धेरै हुनेछन्। यसले संस्कृति जगेर्ना हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ। तालको पानीले सिँचाइमा पनि सघाउ पुग्नेछ। तालबाट जमिन रिचार्ज भएर माटो उर्बर बनाउँछ। वातावरणलाई पनि सन्तुलनमा ल्याउँछ।
तालमा माछा पाल्ने पनि योजना छ।
'हामी त पानीमा हुने सबै जीव यहाँ राख्ने सोचमा छौं। डल्फिन पनि राख्ने हाम्रो योजना छ,' थापाले सुनाए।
पार्किङदेखि नयाँ ढंगको पिकनिक स्पट पनि रहन्छ। तर पिकनिक जाँदा भाँडाकुँडा र त्रिपाल बोकेर जानु पर्दैन। यहाँ टेबल र कुर्सी हुनेछन्। भान्सा र पसल हुनेछ। डिजेसहित संगीतको पनि व्यवस्था गरिनेछ। आफैं सामान ल्याउँछु भन्नेले ल्याउन पाउनेछन्।
ताल छिमेकी मुलुक भारतबाट नजिकै भएकाले त्यहाँबाट ठूलो संख्यामा पर्यटक भित्र्याएर आम्दानी गर्न सकिने मेयर थापाको तर्क छ। यो तालबाट ४२ किलोमिटर पर पर्छ भारत।
'यहाँ मान्छेलाई अब एक दिन घुम्छु भन्दा नजिकै जाने ठाउँ थिएन। अब यहीँ भुलाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो,' उनले भने।
थापा मेयर हुँदा पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटर भित्र रहेको यो ठाउँ प्रयोगबिहीन थियो। उनी नगरप्रमुख भइसकेपछि बागमती नगरपालिकाभित्र वन क्षेत्र कति छ, खेतीयोग्य जमिन कति छ, नागरिक कति छन्, त्यसमा पनि सम्पन्न, विपन्न र सुकुम्बासीहरू कति छन् र बागमती नगरपालिकाभित्र प्रयोगबिहीन जमिन कहाँ छ भन्ने अध्ययन सुरू गरे।
'खेर गइरहेका जमिन प्रयोगमा ल्याएर कसरी नगरपालिका आत्मनिर्भर बन्न सक्छ भन्ने सोच आयो,' उनले भने, 'सधैं संघीय र प्रदेश सरकारको आश मात्रै गरेर बस्नु हुँदैन।'
सीमित स्रोतसाधनको असीमित प्रयोग गर्ने भन्ने सोचका साथ अघि बढेको उनले बताए।
नगरप्रमुख थापाका अनुसार यो ठाउँमा २०२८ सालमा बागमती बग्थ्यो। त्यसपछि त्यहाँ बगर बनेको थियो। दायाँबायाँको जग्गा २०६२/०६३ को जनआन्दोलन समयमै अतिक्रमण भयो। धेरै नागरिकले भोगचलन गरिरहेका थिए। उक्त क्षेत्रका वास्तविक सुकुम्बासी र भूमिहीनहरूको पहिचान गरेर ७३ सय घरधुरीलाई व्यवस्थापन गरियो। उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठा जग्गा वितरण गरिएको उनले बताए।
अर्को ठाउँमा जग्गा भएका नागरिकलाई नगरपालिकाले आफ्नै ठाउँमा फिर्ता पठाएर करिब अढाई सय बिघा नगरपालिकाको स्वामित्वमा राखेको थियो। त्यही जमिन कसरी सदुपयोग गर्ने भन्ने सोच्दासोच्दै तालको अवधारणा सुरू भएको थापा बताउँछन्। तालमा गएको वर्षादेखि पानी जम्न थालेको हो।
सुरूमा त्यहाँ ताल बन्छ भन्ने कुरामा कसैले विश्वास गरेका थिएनन्। विज्ञहरूलाई देखाउँदा पनि बगरमा ताल सम्भव नभएको प्रतिक्रिया पाएको थापा बताउँछन्। त्यसपछि नगरपालिकाले सम्भाव्यता अध्ययन गर्यो। ताल निर्माणका लागि बजेट भएन। सोच बनाएर टेन्डर आह्वान गर्दा पनि स्रोतको टुंगो थिएन।
'असल नियतले राम्रो काम गरिसकेपछि स्रोत जुट्ला नि भन्ने आश राख्यौं। नजुटे सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा बनाउनुपर्छ भन्ने सोचेर आयोजना सुरू गरेका थियौं,' थापाले सम्झिए।
त्यसपछि विशेष अनुदान योजना आयोगमा तथा प्रदेश सरकारबाट रकम ल्याएर नगरपालिकाले आयोजना अघि सारेको हो। नगरपालिकाले त्यहीँका नागरिकसँगको सहकार्यमा कम खर्चमा गुणस्तरीय ताल निर्माण गरेको दाबी थापाको छ।
'बालुवामा ताल कसरी सम्भव छ भनेर प्रश्न उठेको थियो। हामीले आँट गर्यौं। सफल पनि भयौं,' उनले सुनाए।
अब थप काम गर्नुपर्छ भन्ने ऊर्जा मिलेको थापा बताउँछन्।
नगरपालिकाले तालको नाम 'बागमती फिसरी पन्ड' राखेको छ। तर मेयर भरत थापाले बनाएका कारण त्यहाँ घुम्न पुग्नेहरूले भरत ताल भनेर नामकरण गरिदिएको उनी बताउँछन्।
'न्वारानमा पुरोहितले राखिदिने एउटा नाम अनि पछि बाबुआमाले राख्ने नाम अर्को हुन्छ नि,' उदाहरण दिँदै थापाले भने, 'यो तालको हकमा त्यस्तै भयो। सबैले भरत ताल भनेर नै चिन्नुहुन्छ।'
हाल यो आयोजनाको करिब १५ देखि २० प्रतिशत काम मात्रै सकिएको छ। यसमा ५८ करोड रूपैयाँ खर्च भइसकेको छ। अब थप एक अर्ब रूपैयाँ भयो भने सुमेरू पर्वतदेखि लिएर आयोजनाको सबै काम सकिने थापाले बताए।
तालमा करिब ३५ डुंगा छन्। वरपर १५ वटा पसल नगरपालिकाले भाडामा लगाएको छ। एउटा पसलको मासिक भाडा २० हजार रूपैयाँ तोकिएको छ। ताल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष पाँच सय जनाले रोजगारी पाएका उनको भनाइ छ।
डुंगा चढ्दा शुल्क प्रतिव्यक्ति तीन सय रूपैयाँ तोकिएको छ। यसको २० प्रतिशत नगरपालिकाले लिन्छ। ताल क्षेत्रबाट गएको महिनामा मात्रै १६ लाख रूपैयाँ राजश्व संकलन भएको नगरपालिकाले बताएको छ।
आयोजनाको सबै काम सकिएपछि पर्यटक अझ बढ्ने र राजश्व पनि धेरै संकलन हुने थापाको विश्वास छ। थापाले दोस्रो कार्यकालको पाँच वर्षभित्र सबै काम सक्ने लक्ष्य लिएका छन्।
'पहिलो कार्यकालमै यो सक्ने योजना थियो। विविध कारणले सकिएन। थालेको काम अधुरो नछाडौं भनेर दोस्रो कार्यकालमा पनि थालेको हुँ,' उनले भने।
भिडिओ:
सबै तस्बिरः रत्न श्रेष्ठ/रासस