चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन उद्योगमा झन्डै १९ अर्ब रूपैयाँ लगानी थपिएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म होटल, क्यासिनो र केबलकारमा गरी १८ अर्ब ९० करोड ७७ लाख रूपैयाँ लगानी थपिएको हो।
पर्यटन उद्योगमा सुविधा सम्पन्न तारे होटल, बुटिक र रिसोर्टहरू थपिइरहेका छन्। त्यस्तै क्यासिनो र केबलकार पनि धमाधम खुलिरहेका छन्। कोरोना महामारीअघि सरकारले घोषणा गरेको भ्रमण वर्षलाई लक्षित गरेरै पनि थुप्रै व्यवसायीले पर्यटन उद्योगमा लगानी गरेका थिए। महामारीमा निर्माण थालिएका होटल तथा क्यासिनो अहिले सञ्चालनको तयारीमा छन्।
यो वर्षको ६ महिनामा विभागमा देशभरमा एक हजार १११ कोठासहित २४ वटा होटल तथा रेस्टुरेन्ट दर्ता भएका छन्। त्यस्तै ६ वटा क्यासिनो र एउटा केबलकार दर्ता भएको छ।
सबभन्दा धेरै, ११ वटा होटल काठमाडौंमा दर्ता भएका छन्। त्यस्तै कास्कीमा ६ वटा र झापामा ३ वटा दर्ता भएका छन्। ललितपुर, भक्तपुर, गोरखा, कपिलवस्तु, मोरङ, सुनसरी लगायत ठाउँमा एक/एक वटा होटल दर्ता भएका छन्।
यीमध्ये तीन वटा होटलको लगानी एक अर्ब रूपैयाँभन्दा धेरै छ।
झापाको आयुष्मान होटलको लगानी दुई अर्ब ५१ करोड रूपैयाँ छ। ९५ वटा कोठा रहेको यो होटल सञ्चालनपछि तीन सय जनाले रोजगारी पाउने बताएको छ।
त्यस्तै काठमाडौंको बुढानिलकण्ठ हेरिटेज होटलले दुई अर्ब ४० करोड रूपैयाँ लगानी गरेको छ। यहाँ एक सय दुई वटा कोठा छन्।
मार्स हस्पिटालिटी ग्रुपले रूपन्देहीमा खोलेको दुई सय कोठाको होटल एक अर्ब ३८ करोड लगानीको हो।
कास्कीमा सञ्चालनमा आउन लागेको सिक्लेश अन्नपूर्ण केबलकारको लगानी भने चार अर्ब ९२ करोड ५३ लाख रूपैयाँ छ। यसको वार्षिक १७ लाख ५२ हजार यात्रु आवतजावत क्षमता भएको कम्पनीले जनाएको छ।
काठमाडौंमा १५ करोड रूपैयाँ लगानीमा मारिया होटल, २० करोड रूपैयाँ युवान होटल, १५ करोड रूपैयाँमा हुवालिन होटल एन्ड रेस्टुरेन्ट र ५५ करोड रूपैयाँ लगानीमा जिन मेन होटल दर्ता भएका छन्।
त्यस्तै यी छ महिनामा मनोरञ्जनका लागि मुलुकभर ६ वटा क्यासिनो दर्ता भएका छन्। यीमध्ये चार वटा मिनी (साना) र दुई वटा क्यासिनो (मेसिन तथा उपकरणको माध्यमबाट मात्र खेलिने खेल) छन्।
ग्रिन ज्याकपटो इन्टरटेन्मेन्टले मिनी क्यासिनो सञ्चालनका लागि कपिलवस्तुमा २० करोड रूपैयाँ लगानी गरेको छ।
त्यस्तै भेन्टेन इन्टरटेन्मेन्टले पोखरामा मिनी क्यासिनोका लागि २० करोड रूपैयाँ नै लगानी गरेको छ।
प्लेजर नेपालले पनि होटल सरोवर कास्कीमा क्यासिनो सञ्चालनका लागि २० करोड रूपैयाँ लगानी गरेको छ।
केही समयअघि सञ्चालनमा आएको झापाको किङ्सवरी होटलमा पनि अब क्यासिनो सञ्चालनमा आउने भएको छ। होटलमा किङ्सवरी इन्टरटेन्मेन्टले उक्त होटलमा क्यासिनो सञ्चालनका लागि २५ करोड रूपैयाँ लगानी गरेको हो।
मोरङको रत्ना सर्भिसेजले पनि क्यासिनो सञ्चालनमा २० करोड लगानी गरेको छ।
गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्टले काठमाडौंको होटल एभरेस्टमा क्यासिनो सञ्चालनका लागि २५ करोड रूपैयाँ लगानी गरेको छ।
होटल एसोसिएसनका अनुसार हालसम्म होटल क्षेत्रमा मात्र १५ खर्ब रूपैयाँभन्दा धेरै लगानी पुगिसकेको छ। छोटो समयमै प्रतिफल दिने भएकाले होटलमा लगानी बढिरहेको होटल संघका उपाध्यक्ष विनायक शाह बताउँछन्।
उनका अनुसार मुलुक कोरोनाको चपेटामा गुज्रिरहेकै बेला पनि होटलमा भने लगानी बढिरहेको थियो। त्यही समयमा बन्न थालेका थुप्रै होटल अहिले सञ्चालनको अन्तिम तयारीमा छन्।
अहिले मुलुकभर आवश्यकताभन्दा बढी होटल पुगिसकेको उनको भनाइ छ। अहिलेको अवस्थामा होटल उद्योगले ३० लाख पर्यटकलाई सेवा दिन सक्छ। तर पर्यटक संख्या बढ्न नसक्दा व्यवसायीहरू चिन्तित छन्। अब सरकार र निजी क्षेत्र हातेमालो गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउन लागि पर्नुपर्ने शाहले बताए।
'हामी भारत र चीनको बीचमा छौं। वर्षमा झन्डै २० करोड चिनियाँ र १० करोड भारतीय नागरिक बाहिर निस्किन्छन्। यसको एक प्रतिशत मात्र ल्याउन पाए पनि चहलपहल बढिहाल्छ,' उनले भने, 'विगतमा पनि सबैभन्दा बढी भारतीय र चिनियाँ पर्यटक नै भित्रिएको देखिन्छ।'
पर्यटकलाई स्तरीय सेवा दिन होटलहरु प्रशस्त भए पनि पर्यटन क्षेत्रमा अन्य पूर्वाधारको भने समस्या रहेको उपाध्यक्ष शाह बताउँछन्। पर्यटक आवागमनमा पहिलो भूमिका खेल्ने अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन राम्रो नहुँदा पनि होटल व्यवसायमा असर पुगेको उनको भनाइ छ।
'काठमाडौं विमानस्थलमा चाप छ। भैरहवा विमानस्थल अलपत्रै भइसक्यो। वरपर निर्माण भएका होटल पनि अहिले अलपत्र छन्। पोखरामा पनि पर्यटकको संख्य धेरै छैन,' उनले भने, 'हामीले सरकारलाई पनि भनिरहेका छौं। भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आयो भने सिधा उडानमार्फत पर्यटकको चहलपहल बढ्नेछ।'