सोलुखुम्बुकी सीता राई ट्रेकिङमा खुबै रूचि राख्छिन्। फुर्सदमा नजिकका गन्तव्यहरूमा हाइकिङ पनि जान्छिन्। काठमाडौंमा उनको दाइको ट्रेकिङ कम्पनी छ। तीन वर्षदेखि उनी सोही कम्पनीमार्फत् पोर्टर बनेर विभिन्न पर्यटकीय गन्तव्यमा पुगिरहेकी छिन्।
पर्यटकहरू जहाँ पुग्छन्, सीता उनीहरूका भारी बोकेर त्यहीँ पुग्छिन्।
'पोर्टर भनेको पर्यटकहरूको भारी बोकेर हिँड्ने काम हो। तीन वर्षदेखि यही काम गरिरहेकी छु,' उनले भनिन्, 'सगरमाथा बेस क्याम्पसम्म भारी बोकेर पाँच पटक पुगिसकेँ।'
यसरी हिँड्दा आम्दानी पनि चित्त बुझ्दो छ। तर पोर्टर हुँदा आफूसँगै हिँड्ने र अरू पुरूष गाइडहरूले हेपेको महसुस गर्छिन् उनी।
'यात्राका क्रममा कतिपयले छोरीमान्छे भएर टुरिस्टको भारी बोकेर हिँड्छे पनि भन्थे,' उनले सुनाइन्, 'तर मलाई अनुभव लिनु थियो। यही क्षेत्रमा जम्नु छ भन्ने लाग्थ्यो।'
२३ वर्षीया सीताको लक्ष्य ट्रेकिङ गाइड बन्नु हो।
गाइड बनेर, पर्यटकहरूलाई घुमाउँदै, देशभरका पर्यटकीय गन्तव्य पुग्ने मन छ। उनलाई साहसिक गतिविधिमा रूचि छ। पेसासँगै आफ्नो रहर पनि पूरा गर्न चाहन्छिन्।
'ट्रेकिङ पनि एड्भेन्चर हो,' सीता भन्छिन, 'आफूसँगै अरूलाई घुमाउन मन पर्छ। नेपालका हिमाल, डाँडापाँखाहरूबारे पर्यटकहरूलाई जानकारी दिँदै घुमाउने मेरो लक्ष्य हो।'
तीन वर्ष पोर्टर काम गरेकी सीता यसपाली ट्रेकिङ गाइडको तालिम लिदैँ छिन्। तालिम सकिएपछि गाइडको लाइसेन्स लिने प्रक्रिया सुरू गर्न पाइन्छ। उनी यो सबै योजना बुनेर बसेकी छन्। लाइसेन्स पाएपछि विभिन्न समूहलाई लिएर उनीहरूले चाहेको गन्तव्यसम्म पुर्याउने उनको सपना हो।
'एक महिना भयो तालिम लिएको। अब केही दिनमै लाइसेन्सको परीक्षा हुन्छ,' उनले भनिन्, 'लाइसेन्स पाएपछि जुनसुकै ठाउँमा पर्यटक लैजान अनुमति पाउँछु।'
सीताकै जस्तो लक्ष्य राखेकी छन् कास्कीकी सुजाता परियारले पनि। सीतासँगै भेटिएकी उनी जोश, जाँगर र सिक्ने हुटहुटी बोकेर ट्रेकिङ गाइड बन्न तालिम लिँदै छिन्।
२५ वर्षीया सुजाता सन् २०१८ देखि एक कम्पनीमार्फत सहायक गाइडका रूपमा काम गर्दै हिँडेकी हुन्। अन्नपूर्ण ट्रेकिङमा धेरै पटक पुगिसकिन्।
'क्याम्पस पढ्दा साथीले ट्रेकिङ गाइडको काम गर्ने रहेछ। साथीबाटै प्रेरित भएर म त्यो कम्पनीमा गएकी थिएँ,' उनले भनिन्, 'यो काममा आनन्द लाग्छ। पाँच वर्षभन्दा धेरै भयो, यही क्षेत्रमा रमाएकी छु।'
यसअघि कम्पनीमार्फत केही ठाउँमा पुगे पनि अब उनको रूचि देशभरकै गन्तव्यमा पुग्ने हो। उनी व्यवस्थापन विषय लिएर स्नातक पनि पढ्दै छिन्। र टुरिजममा रूची रहेको बताउँछिन्। स्लो ट्राभल गर्न रूचाउने सुजाता ट्रेकिङ गाइडको लाइसेन्स लिन यति बेला तालिम लिइरहेकी छिन्।
पोखराबाट विभिन्न गन्तव्यमा पुग्ने ट्रेकिङ रूटबारे उनी जानकार छिन्। विशेषगरी हिमशृंखलामा रमाउने सुजातालाई आरोहणमा जाने पर्यटक लिएर ट्रेकिङ जान मन पर्छ। यसका साथै लाइसेन्स पाउनासाथ पोखराबाट नजिकका दूरीमा रहेका विभिन्न गन्तव्यमा उनी आन्तरिक पर्यटकलाई पनि ट्रेकिङ लैजाने सोचमा छिन्।
'हिमाल आरोहणका लागि जाने विदेशी पर्यटकलाई लिएर हिँड्न मन छ,' उनी भन्छिन्, 'ट्रेकिङ जाँदै गर्दा वनजंगल, नदीनाला, कला-संस्कृतिबारे बताउन मन छ, त्यसका लागि पहिले कुन गन्तव्य जाने हो, त्यो रूटको रहनसहन बुझ्नुपर्छ।'
गाइड बन्न यति बुझेर मात्र हुँदैन। महिलाहरूलाई जे काम गर्दा पनि आत्मविश्वास चाहिने उनी बताउँछिन्। पर्यटन क्षेत्रमा सक्रिय बनेर ट्रेकिङ गाइड बन्न उनलाई परिवारको साथ र सहयोग छ। त्यसकारण पनि उनी भविष्यमा राम्रो र गाइडका रूपमा चिनिन लागि परेकी छन्।
'जुनसुकै काम गर्दा आत्मविश्वास र हौसला चाहिन्छ,' उनले भनिन्, 'यसका साथै ठाउँ र परिवेशअनुसार शारीरिक र मानसिक रूपमा पनि बलियो हुनुपर्छ भन्ने लाग्छ।'
उनले अगाडि थपिन्, 'यो यात्राका लागि म योग्य हुँदै छु।'
यही यात्रामा जोडिँदै छिन्, सोलुखुम्बुकी चाँदनी लामा।
बाल्यकालदेखि घुम्न रमाउने चाँदनी लामो समयदेखि सोलो-ट्राभल (एक्लो यात्रा) गरिरहेकी छिन्। सोलुखुम्बुमा पर्यटकीय गतविधि नजिकबाट नियालेकी चाँदनीको यहीकारण पनि ट्राभल र ट्रेकिङमा रूचि बढेको छ। एक्लै र साथीहरूसँग घुमफिरमा रमाइरहेकी चाँदनी अब भने व्यावसायिक रूपमा ट्रेकिङ गाइड बन्ने योजनामा छिन्।
त्यसैले उनी पनि गाइड लाइसेन्स लिएर पर्यटकलाई ट्रेकिङमा लैजान तयार हुँदै छिन्।
'यहाँका प्रकृतिसँग रमाउन धेरै ठाउँहरूमा एक्लै ट्रेकिङ गएकी छु,' उनले भनिन्, 'अब भने गाइड बनेर समूहमा जाने मन छ। आफूले देखेका बाटोहरू अरूलाई देखाउँदै र बुझेका कुराहरू बुझाउँदै यात्रा गर्न मन छ।'
चादनी आउँदो फेब्रुअरीमा एक जना पर्यटकलाई लिएर ट्रेकिङ जाँदै छिन्। यसका लागि पनि उनलाई गाइडको लाइसेन्स चाहिएको छ।
ट्रेकिङ सुन्दा जति रमाइलो लाग्छ, यात्राका क्रममा उत्तिकै जटिलता आउन सक्छ। गन्तव्य, मौसम र रूटअनुसार सबै कुरामा ध्यान दिनुपर्ने हुँदा यो पेसा चुनौतीपूर्ण पनि छ। सीता, सुजाता र चाँदनी यही चुनौतीलाई नजिकबाट सामना गर्न अघि बढिरहेका हुन्।
उनीहरू मात्र होइन, ट्रेकिङ गाइड बनेर पर्यटकलाई घुमाउने सपना बोकेका उनीहरूजस्तै १२० जना युवतीहरू अहिले नुवाकोटको ककनीमा तालिम लिइरहेका छन्। ३५ दिने तालिममा उनीहरूले सैद्धान्तिक र व्यावहारिक दुवै तरिकाले काम सिकिरहेका छन्। अबको केही दिनमै लिखित परीक्षा हुनेछ। परीक्षा पास भएसँगै उनीहरूले गाइडका लागि अनुमति पत्र (लाइसेन्स) पाउने छन्।
जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) र नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानले उनीहरूलाई तालिम दिएको हो। यो परियोजना नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रम हो।
तालिममा विभिन्न २५ जिल्लाका महिलाहरू सहभागी छन्। उनीहरूमध्ये कोही हाल कुनै ट्रेकिङ कम्पनीमा आवद्ध छन् भने कोही नयाँ हुन्।
३५ दिने तालिममा सूचना लिने र दिने तरिका, बिफ्रिङ गर्ने तरिका, कुन मौसममा कुन गन्तव्यमा ट्रेकिङ लैजाने, झोला प्याक गर्ने, हिमाल आरोहण र त्यसको विवरण लगायत थुप्रै कुराहरू सिकाइएको प्रशिक्षक छिरिङ ज्याम्बु शेर्पाले बताए।
विशेषगरी पर्यटकसँग हिमाल जाँदा होस् वा पैदल यात्रा गर्दा वा उनीहरूलाई सहर घुमाउँदा, त्यस क्षेत्रको र त्यहाँको भाषासम्बन्धी ज्ञान चाहिने भएकाले शिक्षित व्यक्ति गाइडका लागि उपयुक्त हुने उनी बताउँछन्।
ट्रेकिङ तथा पर्वतारोहणका क्षेत्रमा महिला जनशक्ति उत्पादनका लागि यो तालिमले सघाउ पुर्याउने परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडी बताउँछन्।
'परियोजनाले महिलाकै लागि भनेर छुट्याएको कार्यक्रम हो यो,' उनले भने, 'यसअघि कर्णालीमा ट्रेकिङ तालिम गराएका थियौं। उहाँहरू अहिले गाइड बनेर फिल्डमै हुनुहुन्छ।'
परियोजनाले सुरूमा ५० जनालाई ट्रेकिङ गाइड तालिम दिने तयारी गरेको थियो। तर मुलुकभरबाट तीन सयभन्दा धेरै आवेदन आएपछि संख्या बढाएको उनले बताए।
'धेरै आवेदन आएपछि हामीले अन्तर्वार्ता लिएर साँच्चै गाइड बन्न रूचि भएकाहरूलाई प्राथमिकतामा राखेर तालिम दिएका हौं,' उनले सेतोपाटीसँग भने।
कोरोना महामारीपछि पर्यटन क्षेत्र उक्सिँदै गइरहेको र ट्रेकिङ गाइडको माग बढेकाले परियोजनाले महिला लक्षित तालिम दिइएको पर्यटन बोर्डका निर्देशक तथा परियोजना संयोजक मणिराज लामिछानेले बताए।
उनका अनुसार पछिल्लो समय 'टुरिजम एड्भेन्चर' मा महिलाहरूको आकर्षण बढेको छ। विशेषगरी पर्वतारोहण तथा पदयात्राका लागि महिलाहरूको रूचि बढेको र पर्यटकको माग पनि भएकाले यो तालिम प्रभावकारी बनेको उनको भनाइ छ।
'परियोजनाअन्तर्गत यसअघि पनि पदयात्रा र र्याफ्टिङका लागि हामीले निःशुल्क तालिम दिएका थियौं,' उनले भने, 'पर्यटन क्षेत्र उक्सिरहेको अवस्थामा अबको पर्यटन उद्योगका लागि दक्ष जनशक्ति चाहिएको छ। यसका लागि महिलाको सहभागिता पनि बढाएका हौं।'
पर्यटकलाई लिएर पदयात्रामा जान गाइड लाइसेन्स लिनुपर्छ। यस्तो लाइसेन्स संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) मार्फत लिनुपर्छ। यसका लागि तोकिएको शुल्क तिरेर तालिम लिनुपर्ने हुन्छ।
ट्रेकिङको सिजन मुख्यगरी वर्षमा दुई पटक हुन्छ। फेब्रुअरी, मार्च, अप्रिल; यी तीन महिना एक सिजन हो भने सेप्टेम्बर, अक्टोबर र नोभेम्बर अर्को सिजन। सिजनमा विदेशी र आन्तरिक पर्यटकलाई पर्वतारोहरण तथा पदयात्रामा लैजान गाइडहरूलाई भ्याइनभ्याइ हुन्छ। सरकारी तथ्यांकअनुसार हाल मुलुकभर २० हजारभन्दा धेरैले ट्रेकिङ गाइडको लाइसेन्स लिएका छन्।