अग्लो उचाइमा बनेको सिसाको टावरमा मानिसहरू हिँड्दै वरिपरिको दृश्य अवलोकन गरेको देख्नुभएको छ?
आजकाल सामाजिक सञ्चालमा विशेषगरी चीन, थाइल्यान्ड, क्यानडा लगायत देशमा यस्ता 'स्काइ-वक टावर' मा हिँडेका भिडिओ खुबै देखिन्छ।
यो साहसिक अनुभव लिने रहर धेरैलाई होला। अब यसका लागि विदेश पनि जान पर्दैन। आगामी नयाँ वर्षदेखि नेपालमै यसको मजा लिन सकिने छ।
'वन्डर्स नेपाल' कम्पनीले काठमाडौंको कमलादीमा बनाइरहेको छ स्काइ वक टावर। २०८० सालबाट सुरू गर्ने तयारी छ। पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले यो टावर बनाइएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए।
'काठमाडौंको उचाइमा उभिएर मानिसहरूलाई आकाशमा हिँडे जस्तो अनुभूति गराउन स्काइ वक टावर सञ्चालनमा ल्याउने भएका हौं,' पोखरेलले भने, 'सिसामा उभिँदा आकाशमै उभिए जस्तो महसुस हुन्छ। यो एकदमै रोमाञ्चक एड्भेन्चर हुने छ।'
उनका अनुसार यो टावर दुई अर्ब रूपैयाँ लगानीमा बन्दै छ। कुल १३ रोपनीमा फैलिएको छ जहाँ टावरबाहेक वरपर पार्किङ, बगैंचा र सटरहरू पनि हुने छन्। टावरको उचाइ ७८ मिटर अग्लो छ जसमा २५ तला छन्। २२ तलासम्म जान लिफ्टको व्यवस्था छ। एउटा लिफ्टमा २४ जना अटाउँछन्। दुइटा भएकाले एकपटकमा ४८ जना लिफ्टमा चढेर तलमाथि गर्न सक्छन्।
टावरको २३ औं र २४ औं तलामा रेस्टुरेन्ट हुने छ। यसमा एकैपटक तीन सयभन्दा बढी मानिसहरू बस्न मिल्छ। यो रेस्टुरेन्ट कसले चलाउने भन्नेबारे चाहिँ हालसम्म निश्चित नभएको उनी बताउँछन्।
स्काइ वक भने टावरको २५ औं तलामा हुन्छ। यहाँ सिसामा टेकेर हिँड्न पाइन्छ। वरपरको दृश्य नियाल्न सकिन्छ।
'टावरको विशेषता नै स्काइ वक हो,' पोखरेलले भने, 'एक रोपनी फराकिलो क्षेत्रमा टावर फैलिएकाले एक पटकमा पाँच सयभन्दा बढी मानिसहरू अटाउँछन्। त्यहाँ बिहे, वार्षिकोत्सव, जन्मदिनका भोज वा अरू कार्यक्रम गर्न मिल्ने व्यवस्था पनि हुनेछ।'
उनका अनुसार यहाँ हिँड्न कम्पनीले विशेष प्रकारको जुत्ता दिन्छ। टावर चढ्नुअघि सुरक्षा जाँच पनि हुन्छ। स्काइ वक गर्न एक हजार रूपैयाँको टिकट लिनुपर्छ। यो पैसामा आधा घन्टा सिसाको टावरमा बसेर मजा लिन सकिन्छ।
यहाँको पार्किङमा दुई सयभन्दा बढी चारपांग्रे र पाँच सयभन्दा धेरै दुईपांग्रे सवारी अट्छन्। ३६ वटा सटर बन्दै छन्। यी सटर व्यापारिक प्रयोजनका लागि दिने वा कम्पनीले नै चलाउने भन्नेबारे पनि निश्चित भइसकेको छैन।
स्काइ वक टावर आन्तरिकसँगै बाह्य पर्यटकका लागि पनि आकर्षण बन्ने पोखरेलको विश्वास छ।
'काठमाडौं जस्तो व्यस्त सहरमा ७८ मिटर उचाइमा बसेर खुला आकाशमा हिँडेको अनुभूति गराउने मुख्य आकर्षणको केन्द्र बन्नेछ,' उनले भने।
कमलादीको स्काइ वक टावरलाई 'एड्भेन्चर हब' का रूपमा विकास गर्ने उनको योजना छ। कम्पनीले यसअघि इलामको कन्याममा स्काइ वक टावर सञ्चालनमा ल्याइसकेको छ। धनकुटाको भेडेटारमा पनि बन्दै छ। तिनको उचाइ भने यहाँको जति छैन।
साहसिक पर्यटनका लागि नयाँ गन्तव्यहरू बनाउन कस्सिएका पोखरेललाई स्काइ वक टावर नेपाल भित्र्याउने सोच क्यानडा हुँदा आएको थियो। उनी अध्ययन र कामको सिलसिलामा विभिन्न देश पुगे। उनलाई साहसिक खेल खुब मन पर्छ। त्यसैले ती देशमा भएका साहसिक र रोमाञ्चक गतिविधिमा रमाए।
यही क्रममा क्यानडामा उनले स्काइ वक गरे। उनी यति रमाए, त्यति बेलै नेपालमा पनि यसलाई भित्र्याउँछु भन्ने भयो।
'हामी अहिलेसम्म विदेशका स्काइ वक हेरेर मजा लिइरहेका छौं, अब नेपालमै सुरू गर्नुपर्छ भन्ने सोच त्यही बेला आएको थियो,' पोखरेलले भने।
यसपछि स्काइ वकबारे बुझ्न उनी अरू देश पुगे, जानकारी लिए। अमेरिका बसाइ क्रममा केही नेपाली साथीसँग भेट भयो। स्वदेश फर्किएर नयाँ काम गर्ने सल्लाह गरे। पोखरेलसहित लोकनाथ अधिकारी, विष्णु कार्की, तेजबहादुर सिंह र खेमराज न्यौपानेको टोली बन्यो।
यसपछि पनि पोखरेलले करिब दुई वर्ष अमेरिकाका स्काइ वक हुने ठाउँहरू अवलोकन गरे।
'डिजाइनरसँग भेटेर छलफल गर्यौं। सबै बुझेपछि केही नयाँ काम गर्ने जोशजाँगर बोकेर हाम्रो टिम नेपाल फर्कियो,' उनले भने।
२०७४ सालमा उनीहरूले वन्डर्स नेपाल कम्पनी दर्ता गराए। विभिन्न ठाउँमा स्काइ वकको सम्भाव्यता अध्ययन गरे, उपयुक्त कमलादी ठहरियो। २०७६ सालदेखि निर्माण पनि थालियो। सुरूमा दुई वर्षमा काम सक्ने भनिएको थियो। कोरोना फैलिएपछि ढिलो भयो।
पछिल्लो समय नयाँ र साहसिक पर्यटकीय गन्तव्यहरू निर्माण र सिर्जना हुने क्रम तीव्र छ। काठमाडौंवासी वा घुम्न काठमाडौं आउनेका लागि स्काइ वक नयाँ गन्तव्य बनेको पोखरेलको भनाइ छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी