भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने यात्रुको संख्या बढ्न सकेको छैन। यात्रु संख्या नपुगेको भन्दै त्यहाँबाट उडान भरिरहेको एक मात्र वायु सेवा कम्पनी जजिरा एयरवेजले आफ्नो उडान तालिका घटाएको छ।
यो विमानस्थल विशेष गरी कामको सिलसिलामा मलेसिया तथा खाडी मुलुक आउजाउ गर्नेहरूलाई लक्षित गरी बनाइएको हो। लामो समयसम्म नयाँ तथा व्यक्तिगत श्रम स्वीकृति, अभिमुखीकरण तालिम प्रदायक संस्था, बीमा, स्वास्थ्य तथा म्यानपावर संस्थालगायत नहुँदा काठमाडौं नै धाउनुपर्ने बाध्यता छ। श्रम स्वीकृतिसँग जोडिएका सबै समस्या भैरहवाबाटै समाधान हुन नसके यो विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य मात्रामा बढ्ने छैन।
भैरहवा विमानस्थल सञ्चालनमा आएको आधा वर्ष हुन लाग्दासम्म यी सबै समस्या किन समाधान भएनन् भन्नेबारे हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग कुराकानी गरेका छौं।
पर्यटन मन्त्री श्रेष्ठले यसबारे विभिन्न निकायसँग छलफल गरिरहेको बताए। बुधबार पर्यटन मन्त्रालय र श्रम मन्त्रालयका सम्बन्धित व्यक्तिहरूबीच यही विषयमा छलफल भएको उनले जानकारी दिए।
'अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पाँच महिनासम्म श्रम कार्यालयले काम नगर्नु लज्जास्पद कुरा हो,' मन्त्री श्रेष्ठले भने, 'अब जतिसक्दो चाँडो भैरहवाबाटै श्रमिकका सबै काम हुने छन्।'
श्रमिकको समस्यालाई जतिसक्दो चाँडो समाधान गर्न श्रम मन्त्रालयसँग कुरा भइरहेको पनि उनले बताए।
'दुबै मन्त्रालयबीच समन्वय गरेर अब यो समस्याको समाधान हुनेछ। श्रम मन्त्रालयले आन्तरिक तयारीको काम गरिरहेको छ,' उनले भने, 'श्रम कार्यालय पर्यटन मन्त्रालय मातहतमा पर्दैन। यसका लागि पर्यटन मन्त्रालयले श्रम मन्त्रालयलाई निर्देशन दिने र समन्वय गर्ने मात्र हो।'
यो समस्या कहिलेसम्म समाधान हुन्छ भन्नेबारे निश्चित नरहेको मन्त्री श्रेष्ठ बताउँछन्।
अर्कातिर भैरहवामा शाखा खुलेको लामो समयसम्म पनि किन श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रक्रियाको व्यवस्था मिलाउन सकेन त?
श्रममन्त्री कुँवरले कर्मचारी तथा आवश्यक प्रविधि व्यवस्थापन गर्न नसक्दा पुनः श्रम स्वीकृतिको काम मात्रै भैरहवा शाखाबाट भइरहेको बताए।
'श्रम मन्त्रालय मातहतका विभाग तथा कार्यालयहरूको अवस्था ज्यादै नाजुक छ। कार्यालयको त्यो शाखा पनि निकै साँघुरो छ। पर्याप्त कर्मचारी छैनन्,' मन्त्री कुँवरले भने।
विभाग तथा कार्यालयहरूको अवस्था सुधार गर्न त नेतृत्वमा रहेका मन्त्रीले नै पहल गर्नुपर्ने होइन र? हाम्रो यो प्रश्नमा मन्त्री कुँवरले भने, 'कसरी व्यवस्थित गर्ने भनेर दौडिरहेको छु। तर अन्तर मन्त्रालयले सहयोग गर्दैनन्। तत्कालीन श्रम मन्त्रीज्यूले तुरून्तै सबै सेवा विस्तार गर्ने भन्नुभएको थियो। तर काम केही सुरू भएको थिएन।'
सम्बन्धित मन्त्रालयबीच समन्वय नहुँदा असहज भएको उनको भनाइ छ। एउटा मन्त्रालयले गरेका काम अर्को मन्त्रालयले रोकिदिने चलन भएको र कतार भिसा सेन्टर भैरहवामा स्थापना गर्ने कुरा पनि त्यही कारण अघि बढ्न नसकेको उनले बताए।
त्यस्तै आफूले शाखाको सेवा व्यवस्थित गर्दै भैरहवामा म्यानपावर कम्पनीका शाखा खोल्न अनुमति दिन निर्देशन जारी गरिसकेको उनले जानकारी दिए।
'हामीले कतार तथा युएई भिसा सेन्टरहरू उतै सञ्चालन गर्न सहजीकरण गर्ने अनि बायोमेट्रिकलाई त्यहाँ पनि विस्तार गर्ने योजना बनाएका छौं। भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालयले सहजीकरण गर्नुपर्छ,' उनले भने।
मन्त्री कुँवरका अनुसार भैरहवामा बायोमेडिकल सेन्टरहरू स्थापनाका लागि सम्बन्धित गन्तव्य मुलुक र व्यवसायीहरूसँग समन्वय गर्न भने बाँकी छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू विस्तार गर्न मलेसियासँग समन्वय गर्नुपर्ने हुन्छ। अन्य मुलुकहरूसँग पनि त्यस्तै प्रक्रिया हुन्छ।
'मलेसियाको टोली नेपाल आएर छलफल गर्ने भन्ने छ। तर आएको छैन,' मन्त्री कुँवरले भने।
भैरहवा विमानस्थलबाट पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जसरी नै सहज रूपमा श्रमिकहरू उड्न पाउने व्यवस्था गर्न आफूले पहल गर्ने दाबी उनले गरे। अब चुनावअघि यी सबै सेवा प्रवाह हुने व्यवस्था मिलाउन सम्भव नभएको उनले बताए।
'शाखाबाट सबै सेवा प्रवाहसँगै भिसा सेन्टर पनि खोल्ने कुरा भइरहेको छ। तर निर्वाचन आचारसंहिताले गर्दा यी कामहरू रोकिएका छन्। म पनि मैदानमा निस्किएको छु। अब चुनावअघि त खासै काम हुँदैन भन्दा पनि हुन्छ,' उनले भने।
आगामी मंसिर ४ गते हुने निर्वाचनपछि आवश्यक कामहरू तुरून्तै हुने पनि उनको दाबी छ। पश्चिमका सबै प्रदेशहरूबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गर्दै आफूले त्यहाँ सीप विकास केन्द्र सञ्चालनमा ल्याएको पनि उनले बताए।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास सरकारको छ। आगामी कात्तिक १३ गतेबाट हंगेरीको वीज एयरले पनि नेपालमै पहिलो पटक भैरहवा विमानस्थलबाट उडान गर्दैछ। आबुधावी-भैरहवा गन्तव्य बनाएर सातामा तीन उडान गर्ने तयारी वीजको छ। यस्तै उडानका लागि अरू वायुसेवा कम्पनीहरू पनि आउने तयारी गरिरहेका छन्।
तर अहिले एउटा कम्पनीले सेवा दिँदा त यात्रु नपाइरहेको अवस्थामा अन्य कम्पनीलाई कति प्रभाव पर्ला भन्ने प्रश्न खडा भएको छ।
यस विषयमा पर्यटन मन्त्री श्रेष्ठ भन्छन्, 'यो समस्या समाधान भएन भने साँच्चै यसको असर आगामी दिनमा आउने एयरलाइन्समा देखिन्छ। तर भैरहवा विमानस्थलको श्रम कार्यालयबाट सबै काम हुने भएपछि आगामी दिनमा अन्य वायुसेवा थपिनेछन्। सहज हुनेछ।'
श्रम कार्यालयले दिने सबै सेवा उपलब्ध नभएकै कारण अहिले एकपटक वैदेशिक रोजगारीमा पुगेर सोही कम्पनीका लागि पुनः श्रम स्वीकृति लिनेहरू र एकादुई अरू यात्रु मात्र यो विमानस्थलबाट उडिरहेका छन्। लक्षित यात्रुहरू काठमाडौं विमानस्थलबाटै बाहिरिन बाध्य छन्। सिधा उडानमा विदेशबाट यो विमानस्थल ओर्लिने यात्रुको संख्या पनि कम छ।
अपेक्षाअनुसार यात्रु संख्या बढाउने हो भने सरकार र सम्बन्धित निकायबीच विमानस्थलमा चाहिने सबै खाले सेवासुविधा व्यवस्था गर्नुपर्ने भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहाल बताउँछन्।
'त्यहाँको कार्यालयबाट काठमाडौंको ताहाचलस्थित वैदशिक रोजगार कार्यालयले दिने सबै सेवा प्रवाह हुने हो भने यात्रुको संख्या उल्लेख्य बढ्छ,' उनले भने।
उडान बढाउन र वायुसेवा थप्न विमानस्थलले मात्र पहल गरेर नहुने उनले बताए। सरकार र सम्बन्धित निकायले एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिने सबै खालका सेवा सुविधाको स्थापना र तिनलाई सञ्चालनमा ल्याउन समन्वय गर्नुपर्ने उनको भनाइ छ।
भैरहवा विमानस्थलमा यात्रु संख्या बढाउन वैदेशिक रोजगारीका लागि जानेहरूले श्रमसम्बन्धी सबै काम त्यहीँबाट हुनुपर्छ। यो समस्या समाधान नगर्ने हो भने यो विमानस्थल सफल हुन नसक्ने देखिएको छ।
सरकारले यति सरल कुरा नबुझ्दा वा त्यसको आवश्यक व्यवस्था गर्न नसक्दा भैरहवा विमानस्थलमा सेवा सुरू गरेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्नो सेवा घटाउने अवस्था आएको हो।
कुवेतको एयरलाइन्स जजिराले गत जेठ २ गतेबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको थियो। चार महिनासम्म सातामा तीन उडान गरेको यो एयरवेजले गत भदौ ३१ बाट दैनिक उडान थालेको थियो। तर दसैं सकिएलगत्तै सातामा तीन उडान मात्र भर्ने भएको छ।
सरकारले श्रम स्वीकृतिका सबै काम हुने गरी कार्यालय स्थापना नगरून्जेल भैरहवा विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुनेमा विश्वस्त हुने अवस्था छैन।