नेपाल–भारत सीमा नाका रूपन्देहीको बेलहियामा पर्यटक लक्षित एकीकृत चेकजाँच बिन्दु स्थापना गरिएको छ।
भारतीय सीमा पारिबाट आउने पर्यटकलाई अनावश्यक रूपमा चेकजाँच गर्दा उनीहरूलाई सास्ती हुने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी राखेर एकै ठाउँमा सुरक्षा र अन्य सबै किसिमका जाँच गर्ने गरी एकीकृत सेवा सुरू गरिएको हो।
एकीकृत चेकजाँच सेवाले सुरक्षाको नाममा पर्यटकहरूलाई ठाउँ/ठाउँमा हुने चेकजाँचको समस्या हट्ने छ।
यस्तै, जिल्ला प्रशासन कार्यालयको पहलमा सुनौलीबाट नेपाल प्रवेश गर्दा चेकजाँचको लागि वाकथ्रु मेसिन राखिएको छ। एकीकृत चेकजाँच बिन्दु र वाक थ्रु मेसिनको बुधबार गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले शुभारम्भ गरेका हुन्।
चेकजाँच बिन्दु र वाकथ्रु मेसिनको शुभारम्भ गर्दै गृह सचिव अर्यालले प्रशासनको पहलमा मुलुकमै पहिलोपटक सीमानाका बेलहियाबाट वाकथ्रु मेसिनको सुरूआत भएको बताए।
उनले राष्ट्र सेवक कर्मचारी, स्थानीय सरकार र निजी क्षेत्रले मिलेर काम गर्यो भने उत्कृष्ट काम गर्न सकिन्छ भन्ने उदाहरणले रूपन्देहीले गरेको भन्दै यसको सिको अन्य क्षेत्रमा पनि गरिनुपर्ने बताए।
सचिव अर्यालले कतिपय कानुनी अप्ठ्यारोको कारण निजी क्षेत्र फस्टाउन नसकेको उल्लेख गर्दै त्यस्ता कानुनहरूलाई संशोधन गरेर भए पनि सहज बनाइनुपर्ने बताए।
उनले भारतीय पर्यटकहरूलाई निश्चित रकमभन्दा बढी लिएर नेपाल आउन रोक लगाउन नहुने भन्दै देशमा रकम आउने विषयमा धेरै अप्ठ्यारो बनाउन नहुने बताए।
‘पर्यटकलाई तैंले यति रकमभन्दा बढी लिएर आउन पाउँदैनस् भनेर नेपालमा नआइजा भन्न खोजिएको हो, कतिपय कुराहरू सिधै भन्नु नै पर्दैन। पैसा ल्याउन नपाएपछि पर्यटक नेपाल आएर के गर्छ, कति दिन बस्छ, त्यसैले कतिपय यस्ता कुरालाई सुधार गरेर जानुपर्छ,’ उनले भने।
उनले एकीकृत जाँच बिन्दुलाई मुलुकभरका सबै नाकामा लगाउन पहल गर्ने बताए।
प्रमुख जिल्ला अधिकारी अर्यालले बेलहिया नाका हुँदै नेपाल भित्रिने भारत तथा तेस्रो मुलुकका पर्यटकले चेकजाँचका नाममा दुःख पाउने गरेको गुनासो अब भने हट्ने बताए।
खासगरी सवारी साधन लिएर नेपाल आउने पर्यटकहरूलाई लक्षित गरी सेवा सुरू गरिएकोले एकीकृत बिन्दुमा सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरण सहितको पहेंलो कार्ड चालकलाई दिएपछि रूपन्देही जिल्लाभरी त्यही पहेँलो कार्ड देखाएपछि चेकजाँच नहुने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
‘बेलहियाबाट बुटवल पुग्दासम्म भारतीय पर्यटकहरूको गाडी सात आठ ठाउँ चेकजाँच हुन्थ्यो अब जे जे चेकजाँच गर्नुपर्ने हो भन्सार कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी ट्राफिक प्रहरी सबैले चेकजाँच बिन्दुमै चेकजाँच गर्छन्। त्यसपछि रूपन्देही जिल्लाभरी कहीँ पनि चेकजाँच हुँदैन,’ उनले भने।
एकीकृत चेकजाँच बिन्दुले सुरक्षा निकायको अनावश्यक समय र जनशक्ति परिचालनको झण्झट हट्ने र पर्यटकहरूलाई पनि ठाउँ/ठाउँमा कागजपत्र देखाउँदै हिँड्नुपर्ने झण्झट हट्ने बताए।
यस्तै, वाकथ्रु मेसिनको प्रयोगले सुरक्षामा सघाउ पुर्याउने अर्यालले बताए।
‘सीमापारि भारततर्फ मेसिनबाट चेकजाँच गरेर निस्किएको व्यक्ति नेपाल प्रवेश गर्दा गोजीमा हात हालेर ठाँटले आउँदा हामीलाई सधैं हीनताबोध हुने गथ्र्यो, अब भने पारी जस्तै नेपाल प्रवेश गर्दा पनि मेसिनमा स्क्यान गरेर मात्र आउनुपर्ने छ भने सुरक्षाको हिसाबले पनि धेरै सहज हुने छ,’ अर्यालले भने।
सिद्धार्थनगर नगरपालिकाको साढे ५ लाख लगानीमा प्रशासनले वाकथ्रु मेसिन खरिद गरेको हो।
चीनमा बनेको यो मेसिनले दैनिक प्रयोगका वस्तुलाई डिटेक्ट गर्दैन तर, लागूऔषध, विष्फोटक पदार्थ, सुनचाँदी लगायतलाई भने डिटेक्ट गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
बेलहिया नाकामा एकीकृत चेकजाँच बिन्दु र वाकथ्रु मेसिन सञ्चालनपछि जनप्रतिनिधि र निजी क्षेत्रबाट यसको स्वागत भएको छ।
नाकामा वाकथ्रु मेसिन सञ्चालन हुँदा सुरक्षामा सहयोग पुग्ने र पर्यटक लक्षित एकीकृत जाँचले पर्यटकले भोग्दै आएको समस्या हट्ने निजी क्षेत्रको अपेक्षा छ। यसलाई दीर्घकालीन बनाउनुपर्नेमा उनीहरूको जोड छ।
यस्तै, मेरो सवारी, मेरो लेन सात दिने ट्राफिक सचेतनामूलक अभियान र समुदाय प्रहरी साझेदारी अभियानको पनि बुधवारदेखि नै शुभारम्भ गरिएको छ। यी अभियानले पनि स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई लेन अनुशासान सिकाइ दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एक ठाउँमा चेकजाँच भयो, अब हुँदैन भनेर सवारी कुदाउने र दुर्घटना हुने प्रवृत्ति बढ्न सक्ने भन्दै एकैपटक एकीकृत जाँच र ट्राफिक सचेतनाका अभियान सुरू गरिएको हो।
वाकथ्रु, एकीकृत सेवा र ट्राफिक सचेतना एकअर्काका परिपूरक भएकाले एकैपटक शुभारम्भ गरिएको प्रशासनले जनाएको छ।
बुधबारदेखि नै जिल्ला प्रशासन कार्यालयले अडिओ नागरिक वडापत्रको सुरूआत गरिएको छ।
कार्यालयमा राखिएको नागरिक वडापत्रमा अक्षरहरू साना हुने र सेवाग्राहीले राम्रोसँग पढ्न नसक्दा प्रभावकारी हुन नसकेको भन्दै कार्यालय अवधिभर परिसरमा बज्ने गरी अडिओ नागरिक वडापत्रको सुरूआत गरिएको हो।
पहिलो चरणमा बुधबारदेखि जिल्ला प्रशासन कार्यालयबाट सुरूआत गरिएको अडिओ नागरिकपत्र साउन १ गतेदेखि सेवाग्राहीको धेरै भिड हुने जिल्लाका ३५ बढी कार्यालयमा सुरू गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए।