गत हप्ता रुपन्देहीका माछापालक किसानहरूको एउटा टोली मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रमा डेलिगेसनमा गयो। स्रोत केन्द्रका प्रमुख महेश चन्द गुप्ता कार्यकक्षमै थिए।
उक्त टोलीको आग्रह थियो-भारतबाट ल्याइएका बासी माछाका कारण नेपाली किसानहरूले उत्पादन गरेका ताजा माछाको बजार साँघुरियो, त्यसैले भारतबाट ल्याइने बासी माछाको आयातलाई रोक्नुपर्यो।
स्रोत केन्द्रका प्रमुख गुप्ताले दिएको जवाफपछि उनको कार्यकक्षमा उपस्थित सबै जनाको हाँसोको फोहोरा छुट्यो। किसानहरूको आग्रहपछि गुप्ताको जवाफ थियो - यस विषयमा दाइले के भन्नुभएको छ।
गुप्ताले किसानहरूसँग भनेको ‘दाइ’ अरू कोही नभएर कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल थिए। गुप्ताको कार्यकक्षमा पुगेको माछा पालक किसानहरूको टोलीको नेतृत्व मन्त्री भुसालकै कान्छा भाइ दिवाकर भुसालले गरेका थिए। भुसाल जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समेत हुन्।
उक्त टोलीले भनेजस्तै नेपाल भारतको खुला सीमाको फाइदा उठाउँदै भारतीय बजारबाट ल्याइएका बासी माछाले अहिले बजार ओगटेका छन्।
भारतबाट भित्राइने माछाहरू नेपाली जिउँदो माछाको तुलनामा कम मूल्यमा पाइने भएपछि होटल तथा रेष्टुरेण्टमा भारतीय माछा नै पुग्ने गर्छन्।
मत्स्य व्यवसायी संघका अध्यक्ष भुसाल १०/१२ दिन लगाएर गाडीमा लोड गरी ल्याइएका माछा अस्वस्थकर हुने भए पनि होटल व्यवसायी तथा उपभोक्ता समेत सस्तोकै पछि लाग्ने गरेको बताउँछन्।
भारतबाट ल्याइएका माछाहरू कलकत्ताको क्वारेन्टिनमा परीक्षण गरेपछि त्यही कागजातको आधारमा बेलहियामा सामान्य चेक गरी ल्याउने गरिएको छ।
भुसालले भने १०/१२ दिन पहिले कलकत्तामा गरिएको परीक्षणको आधारमा बेलहियाबाट अनुमति दिइनु उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भएको बताउँछन्।
क्वारेन्टिन कार्यालयमा पनि उपयुक्त प्रविधि सहितको ल्याब छैन। सामान्य चेककै आधारमा माछा सहजै नेपाल भित्र्याउन दिइन्छ। त्यसको अलावा लुकीछिपी भित्र्याइने माछा त कुनै पनि क्वारेन्टिनमा जाँच नै हुँदैनन्।
भारतीय माछा नेपाली माछाभन्दा किलोमै एक सय रुपैयाँभन्दा बढी सस्तो पर्छ।
भारतीय माछा प्रतिकिलो १८० देखि २२० रुपैयाँसम्ममा पाइदा नेपाली जिउँदो माछा प्रतिकिलो २५० देखि ४५० सम्म पर्ने गर्छ। सस्तो पाइने भएपछि उपभोक्ताले गुणस्तर नहेरी सस्तो माछा खरिद गर्छन्।
कृषि विज्ञका अनुसार धेरै दिनसम्म बरफ र फर्मालिनमा राखिएका माछा स्वास्थ्यको लागि लाभदायक मानिँदैन। कत्ला ननिस्किएको, आँखा मिलेको र गिल्स रातो छ भने मात्रै माछा खानको लागि उपयुक्त हुन्छ। तर डेढ दुई हप्ता पहिले मारेर बरफ र फर्मालिन प्रयोग गरी भारतबाट ल्याइएका माछामा भने कत्ला निस्किएको र आँखा गडेका हुन्छन्।
माछा सुपरजोनका कृषि अधिकृत विष्णु खनाल बजारमा माछा खरिद गर्दा उपभोक्ता जबसम्म सचेत हुँदैनन्, तबसम्म भारतीय माछा विक्रीलाई नियन्त्रण गर्न कठिन हुने बताउँछन्।
माछापालनमा देशमै अग्रस्थानमा रहेको रुपन्देहीमा १ हजार ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा ५ हजार हाराहारी पोखरीमा माछापालन हुँदै आएको छ।
जिल्लाको सियारी, शुद्धोधन, गैंडहवा लगायतका पालिकाहरू ‘फिसभिलेज’ को रूपमा चर्चित छन्।
त्यस्तै, जिल्लाका अरू स्थानीय तहमा पनि माछापालन हुँदै आएको छ।
यहाँका मत्स्य पालक किसानहरूकै अगुवाइमा जिल्लाका विभिन्न ठाउँमा जिउँदो माछा पसलहरू सञ्चालन भएका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत यहाँ माछा सुपरजोन लागू छ। यसले माछापालनक कृषकहरूलाई प्रोत्साहन गरिरहेको छ।
सुपरजोन क्षेत्रमा मात्रै १ हजार ६ हेक्टर क्षेत्रफलमा खनिएका ३ हजार ३ सय बढी पोखरीमा माछापालन गरिएको छ। १० वर्षे यो परियोजनाले रुपन्देहीलाई ‘मत्स्य हब’ नै बनाएको छ।
परियोजनाले अहिलेसम्म १३ करोड बढी खर्च गरेको छ।
गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य सुपर जोनबाट ४ वटा गाउँपालिकामा विभिन्न शीर्षकमा कुल ९ करोड २७ लाख रुपैयाँ लगानी भएको छ। किसानले योभन्दा ठूलो लगानी गरेका छन्।
जिल्लामा ५ वटा मत्स्य ह्याचरी र १३ वटा नर्सरी छन्। किसानहरू अन्य परम्परागत खेतीपातीलाई छाडेर माछा पालनमा लागेका छन्।
संघका अध्यक्ष भुसालका अनुसार सुपर जोन क्षेत्रमा वार्षिक ४ हजार ५ सय ६० मेट्रिकटन माछा उत्पादन हुन्छ भने जिल्लाभर वार्षिक एक अर्व भन्दा बढीको करिब ६ हजार मेट्रिक टन माछा उत्पादन हुने तथ्यांक छ।
तर भारतीय खुला सीमानाको फाइदा उठाउँदै व्यापारीहरूले भने भारतबाट बासी माछा नेपाल भित्र्याइ भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना लगायतका बजार र हाटमा विक्री गर्दै आइरहेका छन्।
भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार यो नाका हुँदै दैनिक ४० क्विन्टल बढी भारतीय माछा नेपाल भित्रिन्छन्। चोरी बाटो हुँदै त्यत्तिकै परिमाणमा व्यापारीहरूले भारतीय माछा नेपाल भित्र्याउँछन्।
पशु क्वारेन्टाइन चेक पोस्टका प्राविधिकले पनि हेरेरमात्रै भारतबाट आयतित माछा छाडिदिँदा विषादी भएको माछासमेत सहजै नेपाली बजारमा आइपुग्ने गरेको छ।