नेपालमा पहिलो पटक जेसिआई साउथ एसिया बिजनेस एण्ड इन्भेष्टमेन्ट मिट २०२५ आयोजना हुँदैछ।
जेसिआई नेपालले आज पत्रकार सम्मेलन गरी आगामी १८ गते यो कार्यक्रम आयोजना गरेको जानकारी दिएको हो।
जेसिआई नेपालकी राष्ट्रिय अध्यक्ष रजनी थापाले कार्यक्रमले नेपालको उद्यमशीलतालाई चिनाउने बताइन्।
उनले दक्षिण एसियाका उद्यमी, लगानीकर्ता र व्यावसायिक व्यक्तित्वहरूका लागि यो सम्मेलन गर्न लागिएको बताइन्। यसले नेपालका स्टार्टअपलाई पनि जोड्ने उनले बताइन्। यसको उद्देश्य सञ्जाल बढाउनु, लगानीका अवसर खोज्नु र सहकार्य गर्नु भएको उनले बताइन्।
कार्यक्रममा दक्षिण एसियाली व्यावसायिक नेताहरूबीच भेटघाट हुने, लगानीकर्ताहरूसँग प्रत्यक्ष कुराकानी गरिने, आफ्ना योजना प्रस्तुत गर्ने अवसर पाइने र नेपाली र दक्षिण एसियाली स्टार्टअपका नयाँ विचारहरूको प्रदर्शनी गरिने बताइएको छ।
त्यस्तै, जेसिआई नेपालले साउथ-एसियन एकेडेमी फर इन्टरनेसनल लिडरसिप (सेल नेपाल २०२५) पनि आयोजना गरेको छ।
यसको नारा 'ब्रिजिङ नेसन्स – बिल्डिङ लिडरसिप' राखिएको छ। यो कार्यक्रम जुलाई ३० देखि अगस्ट ३, २०२५ सम्म काठमाडौंको होटल एलोफ्ट, ठमेलमा हुने तयारीमा छ।
यो एकेडेमीले दक्षिण एसियाका युवा नेताहरूलाई एकै ठाउँमा ल्याउने उल्लेख छ। यसको मुख्य उद्देश्य नेतृत्व विकास, एकअर्काको संस्कृति बुझ्ने, क्षेत्रीय सहकार्य गर्ने र राम्रो भविष्य बनाउनु भएको बताइएको छ। यस एकेडेमीको नेतृत्व नेपाल जेसिजकी राष्ट्रिय अध्यक्ष रजनी थापाले गर्नेछिन्।