बुटवलमा अव्यवस्थित सञ्चालनमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउने गरी ढुवानीग्राम निर्माणको काम भइरहेको छ।
बुटवल उपमहानगरपालिकाले बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको ढुवानीग्राममा व्यवसायीहरूको समेत साझेदारी छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई व्यवस्थित सहरको रूपमा स्थापित गर्दै बुटवल १२ ढवाहस्थित भैरहवा टोलमा ढुवानीग्राम निर्माणको काम भइरहेको जानकारी दिए।
सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजना अनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारिएको सुवेदीले बताए।
कोरोना पछिको लकडाउनको बीचमा समेत सञ्चालनमा रहेको ढुवानीग्राम निर्माणको काम अहिले ५० प्रतिशत पूरा भएको छ।
ठूला र भारवाहन ढुवानीका साधनहरूको आवतजावतले बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा बजारदेखि टाढा रहेको क्षेत्रमा व्यवस्थित ढुवानीग्राम निर्माण सुरू गरिएको हो।
सुवेदीले ढुवानीग्राम निर्माणपछि बुटवलको अव्यवस्थित ढुवानी व्यवसाय व्यवस्थित हुने बताए।
सार्वजनिक निजी साझेदारी मोडलमा लुम्बिनी प्रदेशकै पहिलो नमूनाको रूपमा रहेको ढुवानीग्राम बुटवलको गौरवको योजना हो।
रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले यो योजनामा ढुवानी व्यवसायीको साढे १२ करोड लगानी रहेको बताए।
कुल ३० करोड लागत अनुमान गरिएको यो योजनामा बाँकी रकम बुटवल उपमहानगरपालिकाले लगानी गर्नेछ।
ढुवानी व्यवसायी समितिका पूर्वअध्यक्ष माधव नेपालले कोभिडको असरले केही महिना निर्माणमा ढिलाइ भएता पनि अहिले ५० प्रतिशत काम सम्पन्न भएको बताए।
ढुवानीग्राम निर्माण सम्पन्न भएपछि बुटवलका चोक तथा गल्लीहरूमा सञ्चालित ढुवानी व्यवसायी स्थानान्तरण हुनेछन्। जसले विभिन्न क्षेत्रको लागि सामान ढुवानी गर्ने व्यवसायीहरूलाई ढुवानीका सामान खोज्न सहज हुनेछ।
बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल) मा निर्माण हुनेगरी गत वर्ष पुस ७ गते निर्माणको लागि ठेक्का सम्झौता गरिएको थियो। जसमध्ये ४९ वटा सेड निर्माणको लागि रुपन्देही परिवहन प्रालिले एमबी कन्ट्रक्सनलाई करिब १३ करोडमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ।
प्रति सेड २६ लाख ३२ हजार ३ सय २० का दरले ४९ सेडको मात्रै १२ करोड ८९ लाख ८३ हजार ६ सय ८० रुपैयाँ लागत पर्नेछ।
त्यस्तै, गुरुयोजना अनुसारका बाँकी कामहरूको निर्माणको काम पनि भइरहेका छन्।
ढुवानीग्राममा पहुँचमार्ग, ढल तथा नाली, बिजुली र खानेपानी, शौचालय, तारबार लगायतका संरचनाहरू भने उपमहानगरपालिकाले निर्माण गर्नेछ।
त्यस्तै, पार्किङ स्थल, व्यवसायिक भवन सहितको २ वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत सम्भार पसल, प्रतिक्षालय, बाथरुम सहितका शौचालय, अफिस, प्रहरी चौकी समेत रहने छन्।
सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण भइरहेको ढुवानीग्राम रुपन्देही परिवहन प्रालिले १५ वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने बताइएको छ।
निर्माण सम्पन्नपछि ढुवानीग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले एक हजार ५ सय ५० वर्ग फुट क्षेत्रफलमा निर्माण हुने प्रति सेडको मासिक ३ हजार १ सय रुपैयाँ बहाल रकम बुझाउने छन्।
बहाल रकम प्रत्येक २ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख छ।