सन् २०२० को जनवरीबाटै अन्तर्राष्ट्रिय उडान गर्ने भन्दै तेस्रो पटक निर्माणको अवधि थप गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले बल्ल ९१ प्रतिशत पूरा भएको छ।
विमानस्थलको निर्माण कार्य सुरू भएपछि नै विभिन्न बाधा व्यवधान आउँदा ढिलाइ भएकोमा अहिले भने कोभिड–१९ को महामारीका कारण निर्माण कार्य पछाडि धकेलिएको हो।
निर्माणको सुरूआती चरणमा तीव्र रूपमा काम भए पनि बीचमा करिब एक वर्ष विभिन्न कारणले गति लिन नसकेको विमानस्थलको कामले केही गति लिइरहेको अवस्थामा फैलिएको कोरोना महामारीका कारण फेरि प्रभावित बनेको हो।
कोरोना महामारीका कारण देशभरका अरु निर्माण आयोजना जस्तै विमानस्थल पनि प्रभावित बनेको हो।
करिब चार महिनासम्म भएको लकडाउनको बीचमा पनि निर्माणको काम पूर्ण रूपमा बन्द नभए पनि थोरै मजदूरले मात्रै काम गर्दा चाहेजस्तो गति लिन नसकेको विमानस्थल निर्माण आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले बताए।
लकडाउनमा अवधिमा करिब ८० जना कामदारले काम गरिरहेकोमा लकडाउन खुकुलो भएपछि भने कामदार बढाएर करिब ३ सय पुर्याइएको छ।
नयाँ वर्ष सन् २०२० मनाउन चीन पुगेका कामदार कोरोनाका कारण काममा फर्कन सकेनन्। जसका कारण विमानस्थलमा केही उपकरण जडानको काम अगाडि बढ्न सकेन।
निर्माणको जिम्मा लिएको नर्थ वेस्ट सिभिल एभिएसन चिनियाँ कम्पनी भएकोले पनि दक्ष कामदार कम्पनीले चीनबाटै ल्याएको थियो।
एयर कन्डिसनसँग सम्बन्धित ८ बढी चिनियाँ कामदार कोरोना महामारीपछि चीनमै रोकिएका छन्। अहिले २९ जनाले मात्र यहाँ काम गरिरहेका छन्।
महत्वपूर्ण काम गर्ने जनशक्ति नहुँदा केही कठिनाइ भएको अधिकारीले बताए।
विमानस्थलमा अहिले टायल बिछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवनहरूको अन्तिम फिनिसिङको काम भइरहेको छ।
यस्तै, धावन मार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडान गर्ने काम भइरहेको छ।
फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिल तर्फको काम सकिएर विद्युतीकरणको काम सुरू भएको छ।
आयोजना प्रमुख अधिकारीका अनुसार धावन मार्गको वरिपरि पेरिमिटर सडक निर्माणको काम सुरू भइसकेको छ।
योसँगै विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरू तेस्रो मुलुकबाट आयात गर्नुपर्ने भएकाले उडान नहुँदा रोकिएको छ।
‘टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट, धावन मार्गका लागि आवश्यक लाइट लगायतका उपकरण चीनबाट ल्याउनु पर्ने हो, तर कोरोनाका कारण ल्याउन सकिएको छैन,’ अधिकारीले भने।
अन्तर्राष्ट्रिय उडान सुरू हुने बित्तिकै सबै उपकरण आएपछि बाँकी कामलाई तीव्रता दिइने उनले बताए।
सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड लागतमा निर्माण सम्पन्न गर्ने गरी यो आयोजना सुरू गरिएको थियो। तर निर्माण कम्पनीले धावनमार्गमा विद्युतीकरण तथा लाइट जडान र मार्किङका लागि ५६ करोड बढी बजेट भेरियसन पास गराई आयोजनाले उपलब्ध गराइसकेको छ।
यो रकमसँगै आयोजनाको लागत करिब ७ अर्ब पुगेको छ।
पहिलो चरणको काम अर्थात् आइसिबी १ मा एडिबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ। आइसिबी २ अन्तर्गत करिब ५० करोड बराबरको उपकरण जडान गरिने छ।
आइसिबी १ अन्तर्गत भौतिक संरचना निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले गरिरहेको छ भने आइसिबी २ अन्तर्गत मेसिनरी सामान जडानको काम एरो थाई कम्पनीले गर्ने छ।
विमानस्थल सञ्चालनका लागि मेसिनरी सामान जडान महत्वपूर्ण मानिन्छ।
आयोजनाका अनुसार कन्वेयर बेल्ट, लिफ्ट, युपियस, सिसी क्यामेरा, यात्रु जानकारी मेसिन, झोला जाँचकी मेसिन, हवाई उडान जानकारी दिने मेसिन, एक्सरे मेसिन लगायतका सामग्री खरिद प्रक्रियामै छन्।
सुरूआती चरणमा ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदार बीचको आपसी मतभेद, तराई-मधेश आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभाव जस्ता कारणले आयोजना निर्माणको समयावधि तीन पटकसम्म थप भएको छ।
कोरोना महामारीका कारण आयोजना निर्माणको काम कहिलेसम्म पूरा हुन्छ अझै पनि भन्न सक्ने अवस्था छैन।
विमानस्थल निर्माण सम्पन्न भएपछि वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाको लक्ष्य छ।