अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच भएका नेपाली विद्यार्थीका लागि आगामी शुक्रबार काठमाडौंमा अष्ट्रेलियन एजुकेसन फेयर २०२५ आयोजना हुने भएको छ।
ग्लोबल एजुकेसन सर्भिसेज प्रा. लि. (ग्लोबल रिच)को आयोजना तथा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागितामा हुने यो मेला होटल याक एण्ड यतीमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले अष्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो गन्तव्य बन्दै गएको परिप्रेक्ष्यमा एजुकेसन फेयर अभिभावक र विद्यार्थी दुबैलाई फलदायी हुने दाबी गर्यो।
आयोजक ग्लोबल रिचका हेड अफ अपरेसन्सु नारायण बजाजका अनुसार विद्यार्थीहरूले मेलामा ३ हजारभन्दा बढी शैक्षिक कार्यक्रमबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
मेलामा सय प्रतिशतसम्मका छात्रवृत्ति अवसरबारे मार्गदर्शन, व्यक्तिगत करियर तथा शैक्षिक परामर्श सेवाको सुविधा पनि विद्यार्थीले पाउने उनले बताए।
मेला निःशुल्क रहनेछ भने दर्ता गर्ने विद्यार्थीलाई आइएलटिएस शुल्कमा ५० प्रतिशत छुट र विभिन्न उपहारको व्यवस्था गरिएको छ।
ग्लोबल रिचका नेपाल अपरेसन को–अर्डिनेटर रितु बजाज गोयन्काले संस्थाले विश्वका ५ भन्दा बढी विश्वविद्यालयको प्रतिनिधित्व गर्दै आएकाले पनि एजुकेसन फेयर अन्य शैक्षिक परामर्शदाताहरूले गर्ने शैक्षिक मेलाभन्दा फरक हुने बताइन्।
ग्लोबल रिच हाल अष्ट्रेलिया, भारत, श्रीलंका, नेपाल, भुटान र बंगलादेशमा ४६ कार्यालयमार्फत सेवा दिइरहेको पनि उनले जनाइन्।
आगामी शुक्रबार काठमाडौंमा फेयर गर्न लागेको ग्लोबल रिचले भदौ १ मा पोखरा, २ मा चितवन र ३ गते बुटवलमा पनि यस्तै प्रकारको शैक्षिक मेला आयोजना गर्ने सिनियर जोनल म्यानेजर प्रिया देवानले जानकारी दिइन्।
विभिन्न जिल्लामा रहेका विद्यार्थीहरू माझ सेवा प्रदान गर्ने उद्देश्यसहित भदौ ५ मा बिर्तामोड र ६ गते ललितपुरको कुमारीपाटमा पनि फेयर सञ्चालन हुनेछ।
ग्लोबल एजुकेसन सर्भिसेस्ले विगत १७ वर्षदेखि शैक्षिक परामर्श सेवाका साथै करिअर परामर्श सेवा पनि प्रदान गर्दै आएको छ।