नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी-मैलुङ खण्डको राजमार्ग ९५ प्रतिशतको काम पूरा भएको छ।
नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब धुञ्चे पुछारको त्रिशूली दोभान आसपास क्षेत्रमा १०० मिटर मात्र डब्बल लेन गर्न बाँकी रहेको बताउँदै निर्माणमा कार्यरत प्राविधिक सेनानी सञ्जय केसीले चैत महिनाभरमा सम्पूर्ण कार्य पूरा हुने बताए।
विसं २०७२ साल वैशाख १ गतेबाट शुरु भएको स्याफ्रुबेँशी-मैलुङ सडक निर्माण कार्य भौगोलिक अवस्था अतिविकट स्थान भए पनि नेपाली सेनाले सरकारले तोकेको समयावधि भित्रै सडक निर्माण गरेको र नयाँ वर्ष २०७४ को बिहानीमै नयाँ सडकमा मोटर गुडाइ परीक्षण गर्ने बताइएको छ।
गल्छी-बेत्रावती-धुञ्चे-रसुवागढीको मार्गभन्दा अब चालू हुने गच्छी-बेत्रावती-मैलुङ-स्याफ्रु-रसुवागढी मार्गमा २५ किमी दूरी कमी हुने नेपाली सेना स्याफ्रुबेँशी-मैलुङ सडक निर्माण कार्यदलले जनाएको छ।
यस्तै, निर्माणाधीन उक्त सडकको मैलुङतर्फबाट हाकु क्षेत्रमा भूकम्प आवास निर्माणको सामान ढुवानी गर्न केन्द्रीय आदेशबमोजिम चार दिनका मालबाहक सवारीसाधन हाकुबेँशी झोलुंगेपुलसम्म छोडिएको नेपाली सेनाले जनाएको छ। रासस