नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने म्याद पुनः तीन महिना थप गरिएको छ। विभिन्न समयमा काम गर्न नपाएको भन्दै ठेकेदार कम्पनीले मिति थप्न माग गर्दै आएका थिए। कम्पनीले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिएको छ।
सन २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो। त्यसलगत्तै भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्षा बढीमात्रामा झेल्न्परेको कारण मिति थप गरिँदै आएको थियो।
२०७४ साल शुरु भएयताको दुईपटकको निर्वाचनको समयमा काम गर्न नपाएको, बर्षात्, चाडपर्वको समय र थपिएको काम समेतलाई मिलाएर मिति थप गरिएको खनालले बताए।
यसअघि तेस्रो पटक थपिएको मिति गत फागुन दोस्रो साता सकिएको थियो। स्वीकृतिका लागि विभागमा पठाइएको भए पनि विभागले बुधबार मात्रै मिति थपको स्वीकृति प्रदान गरेको हो।
परामर्शदाता कम्पनीले गरेको सिफारिस अनुसार मिति थप भएको खनालले जानकारी दिए। हालसम्म उक्त आयोजनाका ८२ प्रतिशत काम भएको बताइएको छ।
आयोजनाका इन्जिनियर खनालका अनुसार हालसम्म ३३.२ किलोमिटरमध्ये २४.५ सडक कालोपत्र भएको छ।
राजधानी काठमाडौँ र पोखरा जस्ता ठूला शहरलाई तराईसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको उक्त खण्डको निर्माण ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ। रासस