गुल्मीको दरमखोला लघुजलविद्युत परियोजनाको नहर मर्मत सम्भारपछि विद्युत सेवा सञ्चालन भएको छ।
मुसिकोट नगरपालिकामा रहेको दरमखोला जलविद्युत परियोजनाद्वारा सञ्चालित जलविद्युत परियोजनाको विभिन्न स्थानमा दुई हप्तापछि नहर मर्मतसम्भार गरेपछि जलविद्युत सेवा सञ्चालनमा ल्याइएको विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए।
गत फागुन ८ गते बुधबारदेखि अवरुद्ध रहेको विद्युत सेवा मंगलबारदेखि पुनः सञ्चालन गरिएको हो।
पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजनाको विद्युत सेवा सञ्चालन भएसँगै नगरपालिकाका २, ४, ७ र ८ गरि चारवटा वडाका झण्डै ९०० घरधुरीमा बिजुली बत्ती बलेको छ। विद्युत सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, सञ्चारमाध्यम, कुटानी–पिसानी लगायत विद्युतीय यन्त्रसमेत सञ्चालनमा आएका छन्।
दुई हप्तादेखि अन्धकारमा बसेका स्थानीय बासिन्दा र विद्यार्थी विद्युत् सेवा सञ्चालन भएपछि विद्युतमार्फत आफ्ना दैनिकीमा सहज हुने हुँदा निकै हर्षित भएका छन्। रासस