म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माणका लागि एक व्यवसायीले ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
काठमाडौँको होटल र्याडिसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्वारा स्थापित गोविन्द सरस्वती फाउण्डेशनको ५० लाख रुपैयाँ सहयोगमा गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माण हुन लागेको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषले निर्माण गर्न लागेको दुईतले, छकोठे र १ सय जना क्षमताको भवनको मंगलबार श्रेष्ठ र उनकी श्रीमती सरस्वती लगायत परिवारका सदस्यहरुले संयुक्त रुपमा शिलन्यास गरे।
जनताबाट कमाएको पैसा जनताकै सेवामा लगाउन तीर्थयात्री निवास भवन निर्माणका लागि सहयोग गरेको बताउँदै श्रेष्ठले अरू व्यवसायीलाई पनि आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगाउन आग्रह गरे।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा तीर्थयात्री र भक्तजनको चाप बढेकाले धर्मशाला निर्माण गर्न लागिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए। उनका अनुसार नयाँ धर्मशाला बनेपछि गलेश्वरमा दैनिक पाँचसयजना तीर्थयात्री बास बस्न सक्नेछन्।
हाल चारसय जना बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ। गलेश्वरमा पूर्वाधार विकासमा श्रेष्ठले व्यक्तिगत रुपमा हालसम्मकै बढी सहयोग गर्नुभएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताए।
कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको ढुंगामाथि अवस्थित गलेश्वरमा भक्तजनले चढाउने भेटी, दाता र सरकारी निकायको नौ करोड रुपैयाँको लगानीमा सत्संग भवन, ज्येष्ठ नागरिक आश्रम, पुजारी निवास, सामुदायिक स्वास्थ्य इकाई, पदमार्ग, शिवलिंग, क्याम्पिङ साइट, बालउद्यान, तीर्थयात्री निवास, मन्दिर निर्माण तथा मूर्ति स्थापना गरिएको छ।
कालीगण्डकीको पानी लिफ्ट गरेर गलेश्वर परिसरमा १०८ धारा र गलेश्वरदेखि राममन्दिर जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माणको तयारी पनि भएको छ। रासस